काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्योङले शुक्रबार आफ्नो देशले हर्मुज जलडमरूमध्यमा सेना तैनाथ नगर्ने बताएका छन् ।
दक्षिण कोरियाले होर्मुज जलडमरूमध्यमा सैन्य बल तैनाथ गर्न सक्ने सम्भावनालाई लिएर पछिल्ला केही सातादेखि देशभर विरोध प्रदर्शन भइरहेका छन् ।
बीबीसीको फारसी सेवाका अनुसार राष्ट्रपति लीले भने, ‘म यो कुरा स्पष्ट पार्न चाहन्छु कि हामी कुनै पनि प्रकारको सैन्य तैनाथी गर्ने छैनौं । हामी कुनै पनि युद्धमा भाग लिने छैनौं र त्यसमा संलग्न पनि हुने छैनौं ।’
राष्ट्रपति लीले दक्षिण कोरियाले आफ्ना व्यावसायिक पानीजहाज र तेल ढुवानी मार्गको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताए ।
दुई साताअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दक्षिण कोरियालाई चेतावनी दिँदै भनेका थिए, ‘फारसको खाडी र होर्मुज जलडमरूमध्यमा अन्य पक्षको कुनै पनि परिचालन सहभागिता वा सैन्य उपस्थिति आक्रमणकारीलाई प्रत्यक्ष समर्थन गर्नुबराबर हुनेछ र त्यसको परिणाम भोग्नुपर्नेछ ।’