४० अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.६१ अंकले घटेर २६१३ बिन्दुमा झरेको हो ।  नेप्सेका अनुसार १४ कम्पनीको सेयर मूल्य बढ्दा २६० कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३५२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको २० करोड, लक्ष्मी सनराइजको १८ करोड र घलेम्दी हाइड्रोको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटा उपसूचक राताम्य भएका छन् । सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा देखिएको छ । जीवन बीमा उपसूचक २.०४ प्रतिशतले घटेर ११,८००.७९ बिन्दुमा झरेको छ । जलविद्युत् उपसूचक १.६६ प्रतिशत, अन्य उपसूचक १.६५ प्रतिशत र लगानी उपसूचक १.४९ प्रतिशत ले घटेका छन् । त्यस्तै, विकास बैंक उपसूचक १.३६ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, व्यापार १.२६ प्रतिशत, बैंकिङ १.२२ प्रतिशत र वित्त समूह १.०९ प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन उपसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१५ प्रतिशत ले पनि गिरावट जनाएका छन् ।   

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो । नेप्सेका अनुसार ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ । बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ । सूचीकरणपछि आवश्यक रजिस्ट्रार तथा ट्रान्सफर सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरबाट उपलब्ध गराइने नेप्सेले जनाएको छ ।

२० प्रतिशत लाभांश वितरण गर्ने आरविवि मर्चेन्ट बैंकिङको घोषणा

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्गले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २९ गते अपरान्ह ४ बजे काठमाडौंको सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा ११औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, सभाले कम्पनीका सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।  आरविवि मर्चेन्ट बैंकिङ : १० वर्षमा ५४ करोडको सम्पत्ति, ७३ प्रतिशत लाभांश