एलएस क्यापिटलले ११ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । एलएस क्यापिटल लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँको करसहित ११ प्रतिशतका दरले ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो १६औँ वार्षिक साधारण सभा असोज २९ गते आयोजना गर्ने भएको छ । कम्पनीका अनुसार सभा बिहान ११ बजे लक्ष्मी सनराइज बैंक लिमिटेडको लक्ष्मी कम्प्लेक्स, हात्तिसार, काठमाडौंमा हुनेछ । सभामा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत साधारण सभामा पेस गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश भने वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

५ प्रतिशतभन्दा बढी सेयर बिक्रीअघि अग्रिम सूचना अनिवार्य गर्ने सेबोनको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि अग्रिम सूचना दिनुपर्ने व्यवस्थाबारे अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले असोज ७ मा सार्वजनिक गरेको अवधारणापत्रमा ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था स्पष्ट पारिएको छ । कम्पनीले त्यसपछि नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । सेबोनले यो व्यवस्था बजार निगरानी, लगानीकर्ता संरक्षण र व्यवस्थित कारोबारका लागि ल्याइएको जनाएको छ । यसले सबै लगानीकर्तालाई समान रूपमा सूचना उपलब्ध हुने र सूचित निर्णय लिन सहज हुने बोर्डको भनाइ छ । बोर्डका अनुसार अग्रिम सूचनाले बजारमा आउन सक्ने ठूलो बिक्रीको पूर्वानुमान गर्न, असामान्य मूल्य उतारचढाव पहिचान गर्न तथा बजार दुरुपयोग निगरानी गर्न पनि सहयोग पुग्नेछ । अवधारणापत्रमा अन्तर्राष्ट्रिय अभ्यास र प्रस्तावित नियामकीय ढाँचासमेत समेटिएको छ । यसबारे सरोकारवालाको बुझाइ स्पष्ट बनाउन अवधारणापत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ । सेबोनले यो व्यवस्था लागू हुँदा बजारमा पारदर्शिता बढ्ने, नियामकीय निगरानी प्रभावकारी हुने र साना लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

नेप्सेमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणालीबाट इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार लागू गर्ने तयारीस्वरूप अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालाबाट राय, सुझाव र सुधारका विषय संकलन गर्न सार्वजनिक परामर्श थालेको हो । बोर्डका अनुसार पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ र चालु आर्थिक वर्षको नीतिअनुसार मार्जिन ऋण तथा इन्ट्राडे कारोबार कार्यान्वयनको तयारी भइरहेको छ । अवधारणापत्रमा लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ । जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा अनुगमन, प्रविधिमैत्री प्रणाली र पारदर्शी बजार सञ्चालनमा जोड दिइएको बोर्डले जनाएको छ । प्रारम्भमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र जोखिम कम भएका सीमित धितोपत्रमा मात्रै इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ । परीक्षण चरणको अनुभवपछि यसको दायरा विस्तार गरिने उल्लेख छ । बोर्डले पहिलो चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ प्रणाली लागू गर्ने योजना छ । इन्ट्राडे कारोबार सुरु गर्नुअघि कानुनी व्यवस्था, ब्रोकर कार्यविधि, जोखिम व्यवस्थापन, निगरानी प्रणाली र प्रविधिगत पूर्वाधार तयार गरी परीक्षण र पाइलटमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गरिने बोर्डले जनाएको छ । अवधारणापत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो ।