अनलाइन सेक्युरिटिजले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । अनलाइन सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४९)ले १२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिको सिफारिसअनुसार १२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १९औँ वार्षिक साधारण सभा काठमाडौंमा दिउँसो साढे ३ बजे बस्नेछ । आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव सभामा पेस हुनेछ । त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तथा आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभाले सञ्चालक समितिको पुनर्गठन तथा निर्वाचनसम्बन्धी प्रस्तावसमेत पारित गर्नेछ । त्यस्तै, रणनीतिक साझेदार खोज्ने तथा समान प्रकृतिका संस्थासँग गाभ्ने वा गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेस हुनेछ ।
निभिक्स फर्मास्यूटिकल्सले २० प्रतिशत आईपीओ बिक्री गर्ने, ४० प्रतिशत हकप्रद सेयर
काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव अघि बढाएको छ । कम्पनीले आगामी विशेष साधारण सभामार्फत आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्ने भएको हो । कम्पनीले असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा विशेष साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार विशेष साधारण सभा बोलाइएको हो । सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पेस हुनेछ । हाल ५५ करोड रुपैयाँ रहेको अधिकृत तथा जारी पुँजी बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पु¥याउने प्रस्ताव कम्पनीले अघि सारेको छ । त्यस्तै, कम्पनीले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ । हकप्रद सेयर निष्कासनसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ । कम्पनीको पुँजी संरचना परिवर्तन गरी संस्थापक सेयरधनीको स्वामित्व ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्ने प्रस्ताव छ । हाल सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत सेयरलाई संशोधन गरी परिवर्तित पुँजी संरचनाअनुसार कायम जारी पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गर्ने प्रस्ताव कम्पनीले अघि सारेको छ । आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि विशेष साधारण सभामा पेस हुनेछ । साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हकप्रद सेयर निष्कासनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा राखिएको छ ।
साताको सेयर बजार : नेप्से १७ अंकले घट्दा कारोबार रकममा भने वृद्धि
काठमाडौं । यस साता नेपाली सेयर बजारमा नेप्से परिसूचक घटेको छ । तीन दिन खुलेको बजारमा नेप्से परिसूचक १७.४१ अंक अर्थात् ०.६६ प्रतिशतले घटेर २ हजार ६२९.८१ विन्दुमा बन्द भएको छ । गत साता नेप्से २ हजार ६४७.२२ विन्दुमा बन्द भएको थियो । यस साता तीनमध्ये दुई कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यस साता फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका छन् । नेप्से परिसूचक घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसत ६ अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यस साता दैनिक औसत ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ । यो गत साताको तुलनामा २.६५ प्रतिशत बढी हो। त्यस्तै, यस साता दैनिक औसत कारोबार भएको सेयर संख्या २२.९८ प्रतिशतले बढेको छ । दैनिक औसत कारोबार संख्या भने ०.३४ प्रतिशतले बढेको छ । नेप्से परिसूचकसँगै यस साता कुल बजार पूँजीकरण पनि घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५३ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता २९ अर्ब रुपैयाँले घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । यो ०.६६ प्रतिशतको गिरावट हो । यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अधिकांश उपसमूहको परिसूचक घटेको छ । एक उपसमूहको परिसूचक स्थिर रहेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशतले बढेको छ । गत साता १० हजार ७१२.६६ विन्दुमा रहेको यो उपसमूहको परिसूचक यस साता १२०.७८ अंक बढेर १० हजार ८३३.४४ विन्दुमा पुगेको छ । यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले घटेको छ । गत साता ३ हजार ६६५.०८ विन्दुमा रहेको जलविद्युत उपसमूहको परिसूचक यस साता ६१.६७ अंक घटेर ३ हजार ६०३.४१ विन्दुमा झरेको छ । अंकका आधारमा भने निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १६४.३७ अंकले घटेको छ । यस साता कारोबारमा आएका कम्पनीमध्ये सीवाईसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको सेयरमूल्य ९.४० प्रतिशतले बढेको हो । त्यस्तै, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब ८ प्रतिशत र सोनापुर मिनरल्स एन्ड आयलको सेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । यस साता इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयरमूल्य १०.८० प्रतिशतले घटेको छ । समग्रमा, यस साता नेप्से परिसूचकमा गिरावट आए पनि दैनिक औसत कारोबार रकम र कारोबार भएको सेयर संख्यामा वृद्धि भएको देखिएको छ ।