लाभांश पारित गर्न सिटिजन्स बैंकले असोज २८ गते डाक्यो साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोगमा २०औँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश गरी कुल ४ प्रतिशत अर्थात् ६२ करोड २ लाख ९८ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । साथै, बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधनका लागि नियामकबाट प्राप्त हुने निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेश हुनेछ । लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

१३७ कम्पनीको सेयर मूल्य बढ्यो, ७ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.०६ अंकले बढेर २६५४ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।   मंगलबार ३५६ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हाथवे इन्भेष्टमेन्ट नेपालको भएको छ । हाथवेको ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   साथै हिमालयन डिस्टीलरीको ४० करोड, घलेम्दी हाइड्रोको २२ करोड, लिबर्टी इनर्जीको १९ करोड र कुमारी बैंकको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।   मिड सोलु हाइड्रोको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  नेप्सेका अधिकांश उपसूचक हरियो देखिएका छन् । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य समूहमा वृद्धि हुँदा बजारमा सामान्य सुधार देखिएको हो । आजको कारोबारमा जीवन बीमा उपसूचक सबैभन्दा धेरै ०.८२ प्रतिशतले बढेर १२,०४७.४४ बिन्दुमा पुगेको छ । त्यस्तै, अन्य समूह १.३६ प्रतिशतले बढेर १,८६०.६२ बिन्दुमा पुगेको छ, जुन सबैभन्दा धेरै प्रतिशतले वृद्धि हो । बैंकिङ उपसूचक ०.३५ प्रतिशतले बढेर १,५१६.४६ बिन्दुमा पुगेको छ भने विकास बैंक समूह ०.४३ प्रतिशतले बढेर ५,५१९.३२ बिन्दुमा कायम भएको छ । होटल तथा पर्यटन समूह पनि ०.३१ प्रतिशतले बढेर ७,२३२.७७ बिन्दुमा पुगेको छ । यस्तै, लगानी समूह ०.४८ प्रतिशत, लघुवित्त समूह ०.४८ प्रतिशत र अन्य समूह १.३६ प्रतिशतले उकालो लागेको छ । यता, वित्त समूह ०.५२ प्रतिशतले घटेर २,२५५.६४ बिन्दुमा झरेको छ । कारोबार समूह ०.९३ प्रतिशतले घटेर ३,२७९.९७ बिन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशत, जलविद्युत समूह ०.१४ प्रतिशत, म्युचुअल फन्ड ०.३० प्रतिशत र निर्जीवन बीमा समूह ०.०२ प्रतिशतले घटेका छन् । समग्रमा मंगलबार अधिकांश उपसूचकमा हरियाली देखिए पनि केही समूहमा गिरावट कायम रहँदा बजार मिश्रित अवस्थामै देखिएको छ ।

मिड सोलु हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीले ८६ करोड ६ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजीका आधारमा करिब १२ करोड ९० लाख ९९ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने कर तिर्न ६७ लाख ९४ हजार ६८४ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गरिनेछ । कम्पनीले प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि र आगामी पाँचौँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने जनाएको छ ।