हिम पर्वत हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज मंसिर १ गते अन्तिम दिन रहेको छ । कात्तिक ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बराबरको १६ लाख ९० हजार कित्ता सेयर छुट्याएको छ । यसमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता सेयरअति प्रभावित क्षेत्र दोलखाको बिगु गाउँपालिका-५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका-२, ३ र ४ का स्थानीय र बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता सेयर बिगु र कालिन्चोक गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयले नेपाल इन्भेष्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् ।

Share News