बोटलर्स नेपाल बालाजुको नाफा ६.४४ र तराईको २६.९४ प्रतिशत बढ्यो

काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो त्रैमासमा खुद नाफा बढाएका छन् । बोटलर्स नेपाल (बालाजु) को खुद नाफा ६.४४ प्रतिशतले बढेर ३४ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ भने बोटलर्स नेपाल (तराई) को खुद नाफा २६.९४ प्रतिशतले वृद्धि भएर ३४ करोड ७५ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 

बोटलर्स नेपाल (बालाजु) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३४ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको ३२ करोड १६ लाख ७४ हजार रुपैयाँको तुलनामा ६.४४ प्रतिशतले बढी हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ अर्ब ७७ करोड १२ लाख २४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ११ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी पनि बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ६९ लाख ९९ हजार रुपैयाँ रहेको अन्य सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ करोड २० लाख ५२ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल नाफा भने सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १५ करोड ६८ लाख १२ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब १५ करोड ९१ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, गत वर्षको असोजसम्म ४१ करोड १८ लाख ६४ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४१ करोड ३० लाख ६० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री लागत २ अर्ब ६१ करोड २० लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च २ अर्ब ५३ करोड ४३ लाख ६८ हजार रुपैयाँ थियो । 

यसैगरी, बिक्री तथा वितरण खर्च ५६ करोड ८६ लाख ९५ हजार रुपैयाँ र प्रशासनिक खर्च १८ करोड ९४ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत वर्ष यी खर्च क्रमशः ५७ करोड ९९ लाख ७७ हजार र १७ करोड १९ लाख ६८ हजार रुपैयाँ थिए ।

कम्पनीको चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब ८२ करोड ८० लाख ९१ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको असोजमा ६०८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ६३७ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २३ गुणा र प्रतिसेयर नेटवर्थ ३ हजार ८२० रुपैयाँ रहेको छ ।

कम्पनीको स्वपुँजीमा प्रतिफल १८.४ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ९.४ प्रतिशत रहेको छ । यस्तै, त्रैमासिक अवधिमा प्यासिफिक रिफ्रेसमेन्ट्स प्रालिबाट कन्सन्ट्रेट खरिदबापत ९३ करोड ६४ लाख ७१ हजार रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, बोटलर्स नेपाल तराईलाई तिर्नुपर्ने स्थानान्तरण शुल्क ७ लाख ५१ हजार रुपैयाँ र सोही कम्पनीबाट प्राप्त गर्नुपर्ने स्थानान्तरण शुल्क ४ करोड ६६ लाख १९ हजार रुपैयाँ रहेको छ ।

बोटलर्स नेपाल (तराई) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ७५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा कमाएको २७ करोड ३८ लाख ५३ हजार रुपैयाँको तुलनामा २६.९४ प्रतिशतले बढी हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ८३ करोड १५ लाख ७२ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६१ करोड ४८ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी १ करोड ९ लाख ५५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ७८ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल नाफा पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९२ करोड ५१ लाख ३७ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९४ करोड ८६ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

यद्यपि, कम्पनीको सञ्चालन नाफा भने घटेको छ । गत आर्थिक वर्षको असोजसम्म ४२ करोड ४ लाख ९६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३७ करोड ६९ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १ अर्ब ८८ करोड २९ लाख ४५ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ थियो ।

त्यस्तै, बिक्री तथा वितरण खर्च ४२ करोड ८ लाख १७ हजार रुपैयाँ र प्रशासनिक खर्च ११ करोड ८२ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत वर्ष यी खर्च क्रमशः ४३ करोड ७९ लाख ६४ हजार र ११ करोड ८१ लाख ४४ हजार रुपैयाँ थिए ।

कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४३ करोड १३ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षको असोजमा ९०५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ हजार १४९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १० गुणा र प्रतिसेयर नेटवर्थ ३ हजार ७६२ रुपैयाँ रहेको छ ।

कम्पनीको स्वपुँजीमा प्रतिफल ३१ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल १४.९ प्रतिशत रहेको छ । 

Share News