काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ । नेपालको पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित प्रयोग प्रवर्द्धन, नियामकीय क्षमता सुदृढीकरण तथा प्रविधिजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित बोर्डले आज (कात्तिक १८ गते) देखि उक्त नीति कार्यान्वयनमा ल्याएको सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए ।
नयाँ नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र कार्यसम्पादनलाई सूचना प्रविधिको पूर्वाधार विकास र विस्तारमार्फत नतिजामुखी, प्रभावकारी, मापनयोग्य तथा जवाफदेही बनाउने लक्ष्य लिएको छ । बोर्डका अनुसार नीतिमा नवीनतम तथा उदयमान प्रविधिसम्बन्धी व्यवस्थासमेत समेटिएको छ । यसले बजारको निष्पक्षता, पारदर्शिता र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय अभ्यासअनुकूल नियामकीय क्षमता विकासमा सहयोग पु¥याउने अपेक्षा बोर्डले गरेको छ ।
नयाँ नीतिले धितोपत्र बजारसँग सम्बन्धित निकाय तथा बजार पूर्वाधार संस्थाको कार्यप्रकृति र जिम्मेवारीअनुसार सूचना प्रविधिको प्रयोगमा अपनाउनुपर्ने सुरक्षा मापदण्डलाई तीन तहमा वर्गीकरण गरेको छ । पहिलो तहमा नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थालाई राखिएको छ । दोस्रो तहमा धितोपत्र दलाल व्यवसायी, धितोपत्र व्यापारी तथा मर्चेन्ट बैंकर र तेस्रो तहमा ऋण मूल्याङ्कन संस्था तथा सेयर रजिस्ट्रारलाई समेटिएको छ ।
नीतिले बजार पूर्वाधार संस्थाहरूलाई साइबर सुरक्षामा थप जिम्मेवार बनाएको छ । त्यस्ता संस्थाले सुरक्षा सञ्चालन केन्द्र स्थापना गर्नुपर्ने वा मान्यताप्राप्त सुरक्षा सेवा प्रदायकमार्फत चौबीसै घण्टा साइबर जोखिम तथा खतराको निगरानी गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
त्यसैगरी, बजार कारोबार, राफसाफ तथा फछ्र्योट प्रणाली, केन्द्रीय निक्षेप प्रणाली र गोदामसँग सम्बन्धित अभिलेखको सुरक्षित तथा दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विपद् पुनःप्राप्ति संयन्त्र स्थापना तथा व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
बजारका महत्त्वपूर्ण पूर्वाधार तथा व्यवसायीले व्यवसाय निरन्तरता योजना र विपद् पुनरुत्थान योजना तयार गर्नुपर्नेछ । यस्ता योजनाको प्रभावकारिता परीक्षण गर्न वार्षिक रूपमा अभ्यास तथा नमुना परीक्षण सञ्चालन गरी त्यसको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्ने व्यवस्था पनि नीतिमा समेटिएको छ ।