नेपालको पुँजी बजारमा बढ्दो आकर्षण : ८० लाख ९५ हजार डिम्याट खाता

काठमाडौं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक रूपमा विस्तार भएको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा पेस गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख ९५ हजार पुगेको छ।

बुधबार बसेको सङ्घीय संसद्को अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष भट्टले दिएको तथ्याङ्कअनुसार हालसम्म ५१ लाख २२ हजारभन्दा बढी ‘मेरो सेयर’ खाता सक्रिय रहेका छन् भने गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३५ लाख ६२ हजार नाघेको छ।

बजारमा प्राथमिक सेयरको प्रभुत्व कायमै रहेको छ। सङ्गठित संस्थाहरूले सङ्कलन गरेको पुँजीमध्ये साधारण सेयरको हिस्सा ४६.२६ प्रतिशत, संस्थागत ऋणपत्रको हिस्सा ३१.०३ प्रतिशत र सामूहिक लगानी कोषको हिस्सा १४.८१ प्रतिशत रहेको छ। त्यसैगरी, विशिष्टीकृत लगानी कोषको हिस्सा ५.१७ प्रतिशत र अग्राधिकार सेयरको हिस्सा २.१७ प्रतिशत छ। बोर्डका अनुसार हालसम्म २० वटा विशिष्टीकृत लगानी कोषलाई ४८ अर्ब २५ करोड रुपैयाँ बराबरको पुँजी परिचालनको स्वीकृति दिइएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचकाङ्क असोज १३ गतेसम्म २६०३.७१ बिन्दुमा कायम रहेको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ। पुँजी बजारले राज्यको राजस्वमा पनि महत्त्वपूर्ण योगदान दिइरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा बजारबाट १५ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालु आर्थिक वर्षको भदौ मसान्तसम्म १ अर्ब ५४ करोड रुपैयाँ राजस्व प्राप्त भएको भट्टले बताए।

उनले भने, ‘धितोपत्र बजारको वर्तमान अवस्थालाई हेर्ने हो भने लगानीकर्ताको सहभागिताका हिसाबले आर्थिक वर्ष २०८३/८४ मा असोज १३ गतेसम्म ८० लाख ९५ हजार डिम्याट खाता पुगेको देखिन्छ। मेरो सेयर खाताको सङ्ख्या हेर्ने हो भने २०८३/८४ को असोज १३ गतेसम्म उक्त खाता ५१ लाख २२ हजार पुगेको देखिन्छ। कारोबार खाता हेर्ने हो भने २०८२/८३ को असार मसान्तसम्म उक्त खाता खोल्ने लगानीकर्ताको सङ्ख्या ३५ लाख ६२ हजारभन्दा बढी पुगेको देखिन्छ।'

गत आर्थिक वर्षमा ५२ वटा संस्थालाई ७९ अर्ब ७३ करोड रुपैयाँ बराबरको पुँजी परिचालन गर्न स्वीकृति दिएको बोर्डले चालु आर्थिक वर्षको असोज मसान्तसम्म चारवटा संस्थालाई ४ अर्ब ६० करोड रुपैयाँ बराबरको पुँजी परिचालनका लागि अनुमति प्रदान गरेको छ।

Share News