५ प्रतिशतभन्दा बढी सेयर बिक्रीअघि अग्रिम सूचना अनिवार्य गर्ने सेबोनको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीले ठूलो परिमाणमा सेयर बिक्री गर्नुअघि अग्रिम सूचना दिनुपर्ने व्यवस्थाबारे अवधारणापत्र सार्वजनिक गरेको छ ।

बोर्डले असोज ७ मा सार्वजनिक गरेको अवधारणापत्रमा ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि कम्तीमा १५ दिनअघि कम्पनीलाई जानकारी दिनुपर्ने व्यवस्था स्पष्ट पारिएको छ । कम्पनीले त्यसपछि नेप्सेमार्फत उक्त सूचना सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ ।

सेबोनले यो व्यवस्था बजार निगरानी, लगानीकर्ता संरक्षण र व्यवस्थित कारोबारका लागि ल्याइएको जनाएको छ । यसले सबै लगानीकर्तालाई समान रूपमा सूचना उपलब्ध हुने र सूचित निर्णय लिन सहज हुने बोर्डको भनाइ छ ।

बोर्डका अनुसार अग्रिम सूचनाले बजारमा आउन सक्ने ठूलो बिक्रीको पूर्वानुमान गर्न, असामान्य मूल्य उतारचढाव पहिचान गर्न तथा बजार दुरुपयोग निगरानी गर्न पनि सहयोग पुग्नेछ ।

अवधारणापत्रमा अन्तर्राष्ट्रिय अभ्यास र प्रस्तावित नियामकीय ढाँचासमेत समेटिएको छ । यसबारे सरोकारवालाको बुझाइ स्पष्ट बनाउन अवधारणापत्र सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।

सेबोनले यो व्यवस्था लागू हुँदा बजारमा पारदर्शिता बढ्ने, नियामकीय निगरानी प्रभावकारी हुने र साना लगानीकर्ताको हित संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Share News