काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले आफ्नो स्वामित्वमा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका अनुसार उक्त सेयर बिक्रीका लागि चन्द्र इन्भेष्टमेन्ट प्रालिले बैंकमा निवेदन दिएको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार संस्थापक समूहको सेयर खरिद–बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार बैंकले संस्थापक सेयरधनीहरूलाई उक्त सेयर खरिद गर्न आह्वान गरेको हो । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको ३५ दिनभित्र कुनै संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सेयर बिक्री हुन नसकेमा प्रचलित नियमअनुसार अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।