काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार लागू गर्ने तयारीस्वरूप अवधारणापत्र सार्वजनिक गरेको छ । बोर्डले सरोकारवालाबाट राय, सुझाव र सुधारका विषय संकलन गर्न सार्वजनिक परामर्श थालेको हो ।
बोर्डका अनुसार पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना–२०८३ र चालु आर्थिक वर्षको नीतिअनुसार मार्जिन ऋण तथा इन्ट्राडे कारोबार कार्यान्वयनको तयारी भइरहेको छ ।
अवधारणापत्रमा लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राखिएको छ । जोखिममा आधारित नियमन, वास्तविक समयको कारोबार तथा अनुगमन, प्रविधिमैत्री प्रणाली र पारदर्शी बजार सञ्चालनमा जोड दिइएको बोर्डले जनाएको छ ।
प्रारम्भमा नियमित कारोबार हुने, पर्याप्त तरलता भएका र जोखिम कम भएका सीमित धितोपत्रमा मात्रै इन्ट्राडे कारोबार सुरु गर्ने प्रस्ताव गरिएको छ । परीक्षण चरणको अनुभवपछि यसको दायरा विस्तार गरिने उल्लेख छ ।
बोर्डले पहिलो चरणमा ‘बाइ फर्स्ट, सेल लेटर’ प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि मात्रै ‘सेल फर्स्ट, बाइ लेटर’ प्रणाली लागू गर्ने योजना छ ।
इन्ट्राडे कारोबार सुरु गर्नुअघि कानुनी व्यवस्था, ब्रोकर कार्यविधि, जोखिम व्यवस्थापन, निगरानी प्रणाली र प्रविधिगत पूर्वाधार तयार गरी परीक्षण र पाइलटमार्फत चरणबद्ध रूपमा कार्यान्वयन गरिने बोर्डले जनाएको छ ।
अवधारणापत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित समितिले तयार गरेको हो ।