२४ घण्टे ड्युटीपछि रेजिडेन्ट डाक्टरलाई अनिवार्य विश्राम दिन पीएएचएसको निर्देशन
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस) ले स्नातकोत्तर तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूले लगातार २४ घण्टे ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । प्रतिष्ठानको स्कुल अफ मेडिसिनका डिन डा. आशीष श्रेष्ठले कार्यक्रम निर्देशक तथा विभागीय प्रमुखहरूलाई पत्र पठाउँदै रेजिडेन्ट चिकित्सकहरूको ड्युटी र शिक्षण–सिकाइ व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । पत्रमा नेपाल मेडिकल काउन्सिलको २०८३ जेठ ११ गतेको विज्ञप्ति तथा चिकित्सा शिक्षा आयोगबाट जारी पत्रको निर्देशनअनुसार २४ घण्टे ड्युटी पूरा गरेपछि आवासीय चिकित्सकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन भनिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि क्षमतामा आधारित चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको र सोहीअनुसार चिकित्सकीय दक्षतासँगै मानवतावादी मूल्य, व्यावसायिक निष्ठा, करुणा, मर्यादा, समानता तथा सामाजिक उत्तरदायित्व भएका चिकित्सक उत्पादनमा जोड दिइएको जनाइएको छ । प्रतिष्ठानले स्नातकोत्तर कार्यक्रम पनि क्षमतामा आधारित रहेकाले आवासीय चिकित्सकहरूले निर्धारित क्षमताहरू तोकिएको अवधिभित्र हासिल गर्न आवश्यक शिक्षण, सीप विकास तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी गतिविधि व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । त्यसैगरी, आवासीय चिकित्सकहरूको सिकाइ, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि हुने गरी आवश्यक शिक्षण–सिकाइका अवसर सुनिश्चित गर्न पनि विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई निर्देशन दिइएको छ ।
भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल नियुक्त
काठमाडौं । भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त भएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिग्देललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले सूचना प्रकाशित गरी १० जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि सूचित गरेको थियो। अन्तर्वार्तामा उपस्थित १० जना उम्मेदवारमध्ये सिग्देललाई रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा मन्त्रालयले उनलाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा थापा नियुक्त
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ । मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा नियुक्त गरिएको हो ।