काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सम्बन्धमा प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले लगाएका आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले आपत्ति जनाएको छ ।
सांसद अन्सारीले नेशनल मेडिकल कलेजमा काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरेको तथा अनियमितताबारे आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए ।
एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले उठेका आरोपमाथि निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ ।
आरोप प्रमाणित भएमा सम्बन्धित नियामक निकायबाट कानुनअनुसार कारबाही हुनुपर्ने एसोसिएशनको धारणा छ ।
तर, छानबिनबाट प्रमाणित नभएका आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्न नहुने एसोसिएशनले स्पष्ट पारेको छ ।
अधिकारप्राप्त निकायबाट अनुसन्धान र आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रचार गर्दा सम्बन्धित संस्थाको प्रतिष्ठा, विद्यार्थीको मनोबल तथा भविष्य, चिकित्सक र स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठामा असर पर्न सक्ने उसको भनाइ छ ।
एसोसिएशनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त निकायलाई सार्वजनिक रूपमा उठेका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।
विद्यार्थीको भविष्य, बिरामीको सेवा र नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राख्दै सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन पनि एसोसिएशनले अनुरोधसमेत गरेको छ ।