कम्पनी कालोसूचीमा, आम्दानी १ अर्ब रुपैयाँ

काठमाडौं । बायोमेड इन्टरनेशनल प्राइभेट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ९७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.३९ प्रतिशत अर्थात् १७ करोड २० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ८० करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी आर्थिक वर्ष २०८०/८१ मा ५८ करोड ८० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ६४ करोड ८० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ९० करोड ४० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ८८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

कोभिड-१९ महामारीका कारण बढेको चिकित्सा सामग्रीको माग सामान्य अवस्थामा फर्किएपछि आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा कम्पनीको आम्दानी घटेको थियो । त्यसपछि भने कम्पनीको कारोबारमा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा करिब ३७ प्रतिशत र २०८२/८३ मा करिब २१ प्रतिशतले बढेको छ । 

आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासदेखि युरोपेली चिकित्सा तथा सुरक्षा प्रविधि कम्पनी ड्रागरलाई नेपालका लागि विशेष आधिकारिक वितरकका रूपमा नियुक्त गरेपछि कम्पनीको आम्दानी बढ्न सहयोग पुगेको जनाएको छ । यस्तै, आर्थिक वर्ष २०८२/८३ मा आपूर्तिकर्ताबाट प्राप्त हुने कमिसन ढिलो प्राप्त हुँदा त्यसले पनि आम्दानी वृद्धिमा आंशिक योगदान गरेको छ ।

सन् २००४ मा स्थापना भएको बायोमेड इन्टरनेसनल चिकित्सा सामग्री तथा उपकरणको बिक्री र वितरणमा संलग्न छ । कम्पनीले शल्यक्रियाका उपकरण, आँखासम्बन्धी तथा स्नायु उपचारका सामग्री, चिकित्सकीय उपकरणलगायत विभिन्न सामग्रीको कारोबार गर्दै आएको छ ।

कम्पनीले जर्मनी, चीन, भारतलगायत विभिन्न देशका साझेदारबाट चिकित्सा सामग्री खरिद गरी नेपालमा बिक्री तथा वितरण गर्दै आएको छ । यसका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणाली, आन्तरिक संरचना तथा कार्यस्थलको डिजाइन र विभिन्न सुविधाको स्तरोन्नतिसम्बन्धी सेवा पनि प्रदान गर्दै आएको छ ।

कम्पनीको सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म १२ देखि १५ प्रतिशतको दायरामा रहेको थियो । बोलपत्रमार्फत हुने बिक्रीमा मूल्य प्रतिस्पर्धा उच्च रहे पनि कम्पनीले सञ्चालन नाफा मार्जिनलाई उक्त स्तरमा कायम राखेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन नाफा मार्जिन प्रारम्भिक तथ्यांकअनुसार करिब १८ प्रतिशत पुगेको छ । यद्यपि आपूर्तिकर्ताबाट प्राप्त ठूलो रकमको कमिसन ढिलो गरी आम्दानीमा समावेश भएकाले बढेको मार्जिन लेखापरीक्षणपछि केही घट्न सक्ने जनाएको छ । पछिल्ला तीन वर्षमा चिकित्सा उपभोग्य सामग्रीको बिक्रीले कम्पनीको कुल बिक्रीमा करिब २५ प्रतिशत योगदान गरेको छ ।

कम्पनीको खरिद आपूर्तिकर्तामा समेत केही हदसम्म केन्द्रित रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीका शीर्ष १० आपूर्तिकर्ताले कुल खरिदको करिब ५९ प्रतिशत हिस्सा ओगटेका थिए । त्यसमध्ये एक आपूर्तिकर्ताको मात्रै हिस्सा करिब २१ प्रतिशत रहेको थियो । विदेशी आपूर्तिकर्तामा निर्भरता र आपूर्तिकर्ताको उच्च एकाग्रताले आपूर्ति शृंखलामा अवरोध आएमा कम्पनीको कारोबार प्रभावित हुन सक्ने जोखिम रहेको छ ।

यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले सन् २०२६ अगस्टमा बायोमेड इन्टरनेशनललाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । कम्पनीले उक्त निर्णयविरुद्ध पुनरावेदन गरेको जनाएको छ । कालोसूचीमा परेपछि कम्पनीले सरकारी बोलपत्रमा सहभागी हुन पाउने छैन ।

सरकारी बोलपत्रमार्फत हुने कारोबारले आर्थिक वर्ष २०८२/८३ को कुल आम्दानीमा करिब ३० प्रतिशत योगदान गरेको थियो । यद्यपि बोलपत्रबाहेकको नियमित बिक्रीमा भने ठूलो असर नपर्ने कम्पनीको भनाइ छ । पुनरावेदनको परिणाम तथा त्यसले सरकारी बोलपत्रसम्बन्धी कारोबारमा पार्ने प्रभाव कम्पनीको आगामी आम्दानीका लागि महत्वपूर्ण रहनेछ ।

बायोमेड इन्टरनेशनलको स्वामित्व उमेश कुमार अग्रवाल र चेतन अग्रवालसँग रहेको छ । दुवै प्रवर्द्धकको कम्पनीमा ५०-५० प्रतिशत हिस्सा रहेको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको गैरीधारामा रहेको छ ।

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६९ करोड ७० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १३ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ५६ करोड २० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । 
 

Share News