छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मीद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं । छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता, समान सेवा–सुविधाको माग चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधनका लागि ठोस एवं सकारात्मक पहल नभएको भन्दै आन्दोलन घोषणा गरेका हुन् ।

सम्बन्धित निकायलाई २४ घण्टे ध्यानाकर्षणको समय दिँदा पनि माग सम्बोधनका सम्बन्धमा ठोस निर्णय नभएको भन्दै छात्रवृत्ति करार चिकित्सक तथा स्वास्थ्यकर्मी संघर्ष समितिले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिका संयोजक डा. विशाल कार्कीले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलनको पहिलो चरणमा असोज १६ गते शुक्रबारदेखि १९ गतेसम्म कालोपट्टी बाँधेर तथा प्रदेशव्यापी विरोध कार्यक्रम सञ्चालन गरिनेछ । यस क्रममा प्रत्येक अस्पताल तथा स्वास्थ्य संस्थामा दुई घण्टा (बिहान ९ देखि ११ बजेसम्म) शान्तिपूर्ण धर्ना तथा विरोध कार्यक्रम गरिने जनाइएको छ ।

तर आकस्मिक, आईसीयू तथा प्रसूति सेवा भने नियमित रूपमा सञ्चालन हुने समितिले जनाएको छ । त्यसैगरी दोस्रो चरणमा असोज २० र २१ गते बिहानको सत्रको सेवा बहिष्कार गर्ने घोषणा गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीले बिहानको शिफ्टमा ओपीडी तथा गैर–आकस्मिक नियमित सेवा बहिष्कार गर्नेछन् भने आकस्मिक, आईसीयू तथा प्रसूति सेवा सञ्चालनमा रहने विज्ञप्तिमा उल्लेख छ ।

माग सम्बोधनका लागि ठोस निर्णय नभएमा समितिले तेस्रो चरणमा अनिश्चितकालीन आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिका अनुसार अत्यावश्यक सेवाबाहेकका सेवा स्थगित गरी अनिश्चितकालीन शान्तिपूर्ण आन्दोलन गरिनेछ । समितिले आन्दोलनप्रति आम नागरिक, सञ्चारमाध्यम, नागरिक समाज तथा शुभेच्छुकबाट आवश्यक सहयोग, ऐक्यबद्धता र सकारात्मक साथको अपेक्षा गरेको जनाएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीका जायज माग समयमै सम्बोधन गरी समस्या समाधान गर्ने जिम्मेवारी नेपाल सरकार तथा सम्बन्धित निकायको रहेको समितिले जनाएको छ । माग सम्बोधनमा ढिलाइ भई आन्दोलन थप सशक्त हुँदै गए त्यसबाट उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार तथा सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत दिइएको छ । 

Share News