भीमसेनथापा गाउँपालिकामा वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्न गराउन अक्युपञ्चर सेवा सुरु

गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने उद्देश्यले गाउँमा अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको छ । भीमसेनथापा-५ स्थित बगुवा स्वास्थ्य चौकीमा शुक्रबारदेखि अक्युपञ्चर सेवाको थालनी गरिएको हो ।      गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, 'गाउँमा अक्युपञ्चर सेवाको सुरु भएपछि नसा, जोर्नी र पक्षघातजस्ता बिरामीको औषधिविना उपचार हुने भएपछि उपचारका लागि अन्यत्र धाउनु पर्दैन । नागरिकलाई घरदैलोमा सर्वसुलभ र प्रभावकारी वैकल्पिक स्वास्थ्योपचार सेवा पुर्‍याउने उद्देश्यले यो सेवाको थालनी गरिएको हो ।'      जिल्लामा पहिलो पटक भीमसेनथापा गाउँपालिकाले अक्युपञ्चर सेवा सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत पालिकाभित्र यो सेवा सुरु गरेको शाखा प्रमुख खनालको बताए । 'स्थानीयस्तरमा आधुनिक चिकित्सा पद्धतिसँगै परम्परागत तथा वैकल्पिक उपचारको पहुँच विस्तार भएको छ', उनले भने, 'यसबाट अक्युपञ्चर विधिबाट उपचार गर्न चाहने जिल्लाभरका बिरामी लाभान्वित हुनेछन् ।' स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार विशेषगरी जीर्ण खालका जोर्नीको दुखाइ, मांसपेशीको दुखाइ तथा विभिन्न किसिमका नसा (स्नायु)सम्बन्धी समस्या भएका बिरामीका लागि यो सेवा अत्यन्तै उपयोगी हुनेछ । साथै पक्षघात (प्यारालाइसिस)जस्ता जटिल शारीरिक समस्या भएका बिरामीका लागि यो पद्धतिबाट उपचार गर्दा सहज हुने उनले बताए । रासस  

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग गरिएको ‘डाक्टर’(डा) शब्द हटाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले बताउँदै उक्त ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन आग्रह गरे ।       काउन्सिलमा दर्ता भएका चिकित्सक तथा आफ्नो विधागत परिषद् ऐनद्वारा चिकित्सक उपाधि प्राप्त गरेकाबाहेक अन्य सम्बन्धित परिषद्मा दर्ता रहेका वा नरहेका जुनसुकै विधाका स्वास्थ्यकर्मी वा व्यक्तिले आफ्नो नामको अगाडि अवैध वा नियमविपरीत ‘डाक्टर’ शब्द प्रयोग गर्न नपाइने उनले बताए ।      काउन्सिलले नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत बिरामीको उपचार गर्ने, परामर्श दिन र नामको अगाडि डाक्टर/चिकित्सक पद प्रयोग गर्ने कानुनी अधिकार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम काउन्सिलमा दर्ता भएका चिकित्सकमा मात्र रहेको उनले जानकारी दिए । उनले आधिकारिक कागजपत्र, प्रेस्क्रिप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिड कार्ड तथा सबै सामाजिक सञ्जालबाट त्यस्ता अवैध वा नियमविपरीत डाक्टर लेख्नेलाई तत्काल हटाउन निर्देशन दिएका हुन् ।       काउन्सिलले काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य जुनसुकै विधा वा परिषद्मा दर्ता भएका वा नभएका व्यक्तिका नामको अगाडि डाक्टर (डा) उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐनबमोजिम तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उल्लेख छ ।      काउन्सिलले स्वदेश वा विदेशका विभिन्न विश्वविद्यालयबाट प्रमाणपत्रमा ‘डाक्टर’ शब्द उल्लेख भई शैक्षिक उपाधि प्राप्त गर्नुको अर्थ स्वतन्त्र रुपमा चिकित्सीय अभ्यास गर्ने अनुमति स्वतःप्राप्त नभएको बताएको छ ।    

किस्ट शिक्षण अस्पतालमा अत्याधुनिक क्यान्सर उपचार सेवा

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ टोली तथा बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा क्यान्सर उपचार सेवा सञ्चालन गरिरहेको जनाएको छ । अस्पतालको क्यान्सर उपचार सेवा विभागको नेतृत्व वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रोफेसर डा. विष्णु दत्त पौडेलले गरिरहेका छन् । अस्पतालका अनुसार यहाँ अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य सम्बन्धित विशेषज्ञहरूको सशक्त टोली कार्यरत छ ।  यस टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरहरूको पहिचान, शल्यक्रिया तथा सम्पूर्ण उपचार सेवा उपलब्ध हुँदै आएको छ । नेपाली बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले किस्ट क्यान्सर केन्द्रले भारतको प्रख्यात मेदान्ता गुरुग्रामसँग सहकार्य गरिरहेको बताएको छ । यस सहकार्यअन्तर्गत टेलिमेडिसिनमार्फत दोस्रो राय तथा टेलि-परामर्श सेवा समेत प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ । भारतीय विशेषज्ञको उपस्थितिमा दुई महत्वपूर्ण कार्यक्रम यसै सहकार्यको निरन्तरता स्वरूप मेदान्ता गुरुग्राम, भारतका प्रख्यात क्यान्सर रोग विशेषज्ञ डा. सत्य पाल कटारियाको विशेष आतिथ्यतामा अस्पतालमा दुईवटा महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् ।  उक्त कार्यक्रमहरूमा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकहरूसँगै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट आएका वरिष्ठ चिकित्सक एवं चिकित्सा विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।  कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीहरूको बहुविषयगत व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा गहन छलफल गरिएको थियो ।