काठमाडौं । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका दुईवटा औषधिका ब्याच न्यून गुणस्तरको पाइएपछि बिक्रीवितरणमा रोक लगाउँदै बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार फार्मानिक्स लाइफ साइन्सेज र नोभा जेनेटिकाद्वारा उत्पादित क्याल्सियम तथा भिटामिन डी ३ का तोकिएका ब्याच परीक्षणका क्रममा मापदण्डविपरीत पाइएका हुन् ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा फार्मानिक्स लाइफ साइन्सेज (सुनसरी) द्वारा उत्पादित विनक्याल (ब्याच नं.०४२/०३५) र नोभा जेनेटिका प्रालि धादिङद्वारा उत्पादित क्याल्सिजेन–एफ (ब्याच नं.सीभीडी ३–३०६) मा भिटामिन डी ३ को मात्रा तोकिएको मापदण्डअनुसार नरहेको भेटिएको छ ।
औषधि ऐन, २०३५ को दफा १४ बमोजिम ती औषधिको सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न र नगराउन विभागले चिकित्सक, स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणमा आग्रह गरेको छ ।
साथै, सम्बन्धित उद्योग तथा आधिकारिक प्रतिनिधिलाई उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गरी सोको विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।