२४ घण्टे ड्युटीपछि रेजिडेन्ट डाक्टरलाई अनिवार्य विश्राम दिन पीएएचएसको निर्देशन

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पीएएचएस) ले स्नातकोत्तर तहमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूले लगातार २४ घण्टे ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्रतिष्ठानको स्कुल अफ मेडिसिनका डिन डा. आशीष श्रेष्ठले कार्यक्रम निर्देशक तथा विभागीय प्रमुखहरूलाई पत्र पठाउँदै रेजिडेन्ट चिकित्सकहरूको ड्युटी र शिक्षण–सिकाइ व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । 

पत्रमा नेपाल मेडिकल काउन्सिलको २०८३ जेठ ११ गतेको विज्ञप्ति तथा चिकित्सा शिक्षा आयोगबाट जारी पत्रको निर्देशनअनुसार २४ घण्टे ड्युटी पूरा गरेपछि आवासीय चिकित्सकलाई पर्याप्त विश्रामको व्यवस्था मिलाउन भनिएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो समयदेखि क्षमतामा आधारित चिकित्सा शिक्षा  सञ्चालन गर्दै आएको र सोहीअनुसार चिकित्सकीय दक्षतासँगै मानवतावादी मूल्य, व्यावसायिक निष्ठा, करुणा, मर्यादा, समानता तथा सामाजिक उत्तरदायित्व भएका चिकित्सक उत्पादनमा जोड दिइएको जनाइएको छ ।

प्रतिष्ठानले स्नातकोत्तर कार्यक्रम पनि क्षमतामा आधारित रहेकाले आवासीय चिकित्सकहरूले निर्धारित क्षमताहरू तोकिएको अवधिभित्र हासिल गर्न आवश्यक शिक्षण, सीप विकास तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी गतिविधि व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ ।

त्यसैगरी, आवासीय चिकित्सकहरूको सिकाइ, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि हुने गरी आवश्यक शिक्षण–सिकाइका अवसर सुनिश्चित गर्न पनि विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई निर्देशन दिइएको छ ।


null

Share News