बालश्रमविरुद्ध कठोर बन्दै सरकार, १५ वर्षमुनिकालाई काममा लगाउन नपाइने
काठमाडौं । सरकारले बालश्रम उन्मूलन तथा नियमनलाई थप कडा र समयानुकूल बनाउन नयाँ कानून ल्याउने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले २५ वर्ष पुरानो ‘बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ लाई प्रतिस्थापन गर्न ‘बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ संघीय संसदमा पेस गरेका हुन् । संविधानको धारा ३९ तथा अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरू अनुसार यो विधेयक तयार पारिएको हो । विधेयकमा १८ वर्ष पूरा नगरेका व्यक्तिलाई बालबालिका मान्दै उनीहरूलाई काममा लगाउने विषयमा स्पष्ट वर्गीकरण गरिएको छ । १५ वर्षमुनिका बालबालिकालाई बालविकास बाहेक अन्य कुनै पनि काममा लगाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । यद्यपि, १३ देखि १५ वर्षसम्मका बालबालिकालाई अभिभावकको सहमतिमा विद्यालय समयबाहेक दैनिक २ घण्टा र सातामा अधिकतम १२ घण्टासम्म ’हलुका काम’ मा मात्र लगाउन सकिने व्यवस्था छ । कुनै पनि बालबालिकालाई जोखिमपूर्ण काम वा इच्छा विपरीतका काममा लगाउन पाइने छैन । बालबालिकालाई काममा लगाउने रोजगारदाताले श्रम कानुनभन्दा कम नहुने गरी समान पारिश्रमिक दिनुपर्ने र सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्द गराउनुपर्नेछ । यसका साथै, काममा लगाउनुअघि तथा वार्षिक रूपमा स्वास्थ्य परीक्षण गराउनुपर्ने र काममा लगाएको ३० दिनभित्र श्रम कार्यालयमा विवरण पेस गर्नुपर्ने दायित्व तोकिएको छ । बालबालिकालाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म रात्रिकालीन काममा लगाउन र लगातार ३ घण्टाभन्दा बढी काम गराउन रोक लगाइएको छ । कडा कैद र जरिवाना बालश्रमसम्बन्धी कानून उल्लंघन गर्नेलाई कडा सजायको प्रस्ताव गरिएको छ । १५ वर्षमुनिकालाई काममा लगाए ३ महिनासम्म कैद वा १ लाख रुपैयाँ जरिवाना र जोखिमपूर्ण काममा लगाए १ वर्षसम्म कैद वा २ लाख रुपैयाँ जरिवाना हुनेछ । दोहो¥याएर कसूर गरेमा दोब्बर सजाय र २ भन्दा बढी बालबालिका टोली बनाएर काममा लगाएमा प्रति बालबालिका थप ५० हजार रुपैयाँ जरिवाना लाग्नेछ । पीडित बालबालिकालाई रोजगारदाताबाट मनासिब क्षतिपूर्ति भराउने व्यवस्था समेत विधेयकमा छ । विधेयकको अनुसूची-२ मा बालबालिकाका लागि पूर्ण रूपमा प्रतिबन्धित ५० भन्दा बढी जोखिमपूर्ण कामहरू तोकिएका छन् । जसमा इँटाभट्टा, खानी, क्रसर, गार्मेन्ट, डान्स बार, मसाज पार्लर, साहसिक पर्यटन, भारी बोक्ने, थ्रेसर चलाउने, ढल सफा गर्ने र घरेलु श्रमजस्ता क्षेत्रहरू सामेल छन् । यो ऐन कार्यान्वयनमा आएपछि दिगो विकास लक्ष्य अनुसार सन् २०२५/२०८२ सम्ममा बालश्रम अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
न्युजफीडमा छाएको त्यो भाइरल वाक्य, जसले खडा गर्यो पर्यटन क्षेत्रको ‘लेडी बोस’
काठमाडौं । ‘पर्यटनलाई नेपालको पहिलो राष्ट्रिय उद्योग बनाउनुपर्छ ।’ आजभोलि सामाजिक सञ्जालको न्युजफीडमा तारन्तार ठोकिने यो एक वाक्यले धेरैको ध्यान खिचेको छ । सञ्चारकर्मी, कलाकार, व्यवसायीदेखि शिक्षाविद्सम्मले उत्साहका साथ साभार गरिरहेको यो विचारका पछाडि एउटा नाम जोडिएको छ– युविका भण्डारी । नेपालमा ठूला-ठूला कलकारखाना र उद्योगहरू फस्टाउन नसकिरहेको वर्तमान अवस्थामा पर्यटनलाई नै मुलुकको मुख्य आर्थिक आधार बनाउनुपर्छ भन्ने यो जोडदार अभियानका पछाडि युविकाको लामो अनुभव, पारिवारिक पृष्ठभूमि र स्पष्ट खाका छ । उनी यतिबेला नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्व सम्हाल्ने अठोटका साथ अध्यक्ष पदको चुनावी दौडमा छिन् । युविकाको पर्यटन क्षेत्रसँगको नाता हिजोअस्तिको होइन । उनी पर्यटनमै रमेको र पसिना बगाएको परिवारमा हुर्किइन् । बुबा नाट्टाका पूर्वउपाध्यक्ष थिए । स–साना आँखाले बुबाले ट्राभल एन्ड टुर क्षेत्रमा गरेको संघर्ष तथा योगदानलाई नजिकबाट नियालेकी युविकाले अन्ततः बुबाकै पदचाप पछ्याइन् । ‘कुनै समय बाबा नाटाको उपाध्यक्षसम्म हुनुभएकाले त्यहीँ पदचाप पछ्याउँदै मैले बिर्सिनँ,’ विगत सम्झिँदै युविका भन्छिन्, ‘बुझ्न थालेदेखि नै पर्यटन क्षेत्रलाई राज्यले हेपेजस्तो महसुस भएकाले पर्यटनबाट टाढा हुन नसकेको स्वीकार गर्छु ।’ बुबाले भोगेको संघर्ष र अग्रजहरूको प्रेरणाले उनलाई पर्यटन क्षेत्रमा जम्न सहज बनायो । दुई दशकभन्दा बढी समय नाट्टाको विभिन्न जिम्मेवारीमा बिताइसकेकी उनी शशीज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्सकी प्रबन्ध निर्देशक हुन् । सन् २०११ देखि सञ्चालित उनको कम्पनीले मुख्यगरी जर्मनी, बेल्जियम र फ्रान्सजस्ता युरोपेली मुलुकबाट गुणस्तरीय पर्यटक भित्र्याउँदै आएको छ । गोल्ड मेडलदेखि वास्तुकलासम्मको बौद्धिकता युविका केवल अनुभवले मात्र परिपक्व छैनन्, उनको शैक्षिक जग पनि उत्तिकै मजबुत छ । वास्तुकलामा स्नातक र पोखरा विश्वविद्यालयको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी उनले उत्कृष्ट नतिजा ल्याउँदै नेपाल विद्याभूषण ‘क’ र विश्वविद्यालय स्वर्ण पदक प्राप्त गरेकी छन् । सेन्ट मेरिजबाट कक्षा १० सम्मको अध्ययन गरेकी युविका उच्च शिक्षाका लागि भारतको बैंलोर पुगिन् । त्यहाँबाट प्लस टु र स्नातक तह पूरा गरेर नेपाल फर्किएपछि उनी व्यवसाय र सामाजिक सेवामा सक्रिय भइन् । आफ्नो वास्तुकला र व्यवस्थापकीय ज्ञानलाई उनी पर्यटकीय पूर्वाधार विकासमा उपयोग गर्न चाहन्छिन् । संकटकी सारथी नाट्टामा रहँदा उनले संस्थागत हितका लागि धेरै कामहरू गरिन् । कोभिड–१९ को कठिन समयमा जब मानिसहरू घरभित्र थुनिएका थिए, नाट्टाले ठूलो तहमा सहयोग पु¥याएको थियो । आफ्नो संस्थागत अनुभवबारे सुनाउँदै ४४ वर्षीया युविका भन्छिन्, ‘युएनडीपीसँग मिलेर काम गर्न पायौं । कोभिडको बेलामा कोठा–कोठामा थुनिएका बेलामा नाट्टाले ठूलो सहयोग गरेको थियो । काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको प्रचारप्रसार गरेका थियौं । जुनबेला सबैजना सुस्त भएको अवस्थामा नाट्टाले त्यसलाई चलायमान बनाउन प्रयास गरेको थियो, त्यसमा म आफैं सरिक थिएँ ।’ उनका अनुसार नाट्टाले स्वयंसेवकहरूलाई निश्चित ‘इन्सेन्टिभ’ दिने व्यवस्था गर्नुका साथै जिर्ण र ओझेलमा परेका मठमन्दिरको प्रवद्र्धन र साइकल टुरको माध्यमबाट पर्यटन बढाउने प्रयास गरेको थियो । यस्तै, सातै प्रदेशमा पुगेर अनलाइन टिकट बुकिङ र हस्पिटालिटी सम्बन्धी १ हजारभन्दा बढी युवालाई निःशुल्क तालिम दिइएको थियो । नेपालको पर्यटन क्षेत्रलाई सरकारले सधैँ नीतिगत हिसाबले पछाडि राखेकोमा उनको ठूलो दुःखेसो छ । राज्यले होटल, क्यासिनो र माउन्टेनरिङलाई मात्र पर्यटन मानेर ट्राभल र ट्रेकिङ क्षेत्रलाई ओझेलमा पारेको उनी बताउँछिन् । राज्यको विभेदकारी नीतिको विरोध गर्दै भण्डारी भावुक मुद्रामा भन्छिन्, ‘राज्यले ट्राभल एजेन्सी, ¥याफ्टिङ र ट्रेकिङ जस्ता पर्यटन उद्योगलाई चिनेको छैन । यसलाई चिनाउनका लागि हामी व्यवसायी आफैँ संघर्ष गरिरहेका छौ ।’ नाट्टाको अध्यक्ष बनेपछि आफूले अघि बढाउने योजनाबारे स्पष्ट पार्दै उनी थप्छिन्, ‘एयर टिकेटमा लगाएको भ्याटको फिर्ता र पर्यटकको डाटा सुरक्षितसँग राख्ने तथा विभिन्न मुलुकमा पुगेर नेपालको पर्यटन क्षेत्रको प्रचार स्थानीय भाषामा प्रचार गर्ने प्राविधिक टोली बनाउनेछु ।’ नेपालमा दुरगामी प्रभाव पार्ने खालको उद्योग कुनै छैन । यदि प्रत्यक्ष रुपमा प्रभाव पार्ने खालको उद्योग छ भने पर्यटन उद्योग मात्र भएको उनको दाबी छ । स्मार्ट शौचालय, डेटाबेस र हाई-भ्यालु पर्यटक पर्यटन क्षेत्रमा पूर्वाधारको अभाव र तथ्याङ्कको कमजोरीलाई युविकाले मुख्य समस्याका रूपमा औँल्याएकी छन् । सरकारले पर्यटकको सही डाटा राख्न नसकेको उनको दाबी छ । ‘स्थल मार्गमा पर्यटकको आवागमन हुने ठाउँमा सुविधायुक्त स्मार्ट शौचालय छैनन् । पर्यटकको चहलपहल हुने ठाउँमा शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण गरिनुपर्छ,’ तथ्याङ्कको महत्त्व दर्शाउँदै उनी भन्छिन्, ‘सरकार एनआरएन नेपाली कति आए, विदेशी पर्यटक कति आए र को चाहि पर्यटक हो त्यसको वास्तविक तथ्यांक राख्न सफल भएको छैन । अहिलेको समय भनेको डाटाबेसको रहेकाले डिजिटलाइज र डाटाबाट टाढा जान सकिँदैन ।’ यसैगरी, पर्यटक बोक्ने सवारी साधनका लागि उचित बसपार्क र पार्किङको सुविधा हुनुपर्ने उनको जोड छ । ‘सडकमा निस्कदा पर्यटक बोक्ने सवारीसाधनले आफूलाई सम्मानित तथा सुरक्षित भएको महसुस गरुन,’ उनी थप्छिन् । ‘अहिले मेरो लागि उचित समय हो’ सधैँभरि एकै ठाउँमा बस्न नहुने र नयाँ अनुभवका लागि प्रतिस्पर्धामा जानुपर्ने युविकाको मान्यता छ । अग्रजहरूको सम्मान र सल्लाह लिएर आफू चुनावी मैदानमा होमिएको उनी बताउँछिन् । नाट्टाको नेतृत्व लिने आफ्नो उद्देश्यबारे उनी भन्छिन्, ‘पर्यटकीय क्षेत्रमा देखिएको कालो बादललाई थोरै भए पनि हटाउन सक्छु जस्तो लाग्छ । केही सकिन भने देखिएका समस्या उजागर गर्न सक्छु । ठूलो योगदान दिन नसके पनि केही न केही काम भएका छन् । नेपालका पर्यटन उद्योगमा देखिएका समस्या र अवसरका बारेमा बुझ्ने अवसर धेरै पाएको छु ।’ आफ्नो उम्मेदवारी कुनै पदको लोभ नभई निरन्तर योगदानको यात्रा भएको बताउँदै युविका भन्छिन्, ‘अहिलेको उम्मेदवारी घोषणा पनि यहीँ योगदान र अनुभवको उपज रहेको मान्छु । म यात्रामा छु, सिक्ने क्रममा छु, त्यसैले पनि आफूले सुरुवात गरेका कुरालाई निरन्तरता दिनलाई यो अभियानमा छु ।’ सबल बौद्धिक जग, दुई दशकको व्यावसायिक अनुभव र रूपान्तरणको स्पष्ट सोच बोकेकी युविका भण्डारीको यो उम्मेदवारीले नाट्टा निर्वाचन र समग्र नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह भरेको छ ।
एआईले पाँच वर्षमै मानव बुद्धिलाई उछिन्ला ? मस्कको चेतावनी कत्तिको जायज ?
काठमाडौं । अर्बपति एलन मस्कले हालै दिएको एक अन्तर्वार्तामा पाँच वर्षभित्र कृत्रिम बौद्धिकता (एआई) ले सबै मानिसको संयुक्त बौद्धिकतालाई समेत उछिन्ने भविष्यवाणी गरेका छन् । उनका अनुसार आगामी १० वर्षभित्र एआईले सम्पूर्ण मानव सभ्यतालाई नै निकै कमजोर बनाउन सक्छ । यो कुरा कुनै विज्ञान–कथा (साईफाई) मा आधारित थ्रिलर चलचित्रको शीर्षकजस्तै लाग्न सक्छ । तर एआई क्रान्ति जुन गतिमा अघि बढिरहेको छ, त्यसलाई हेर्दा मस्कको चेतावनीलाई हल्का रूपमा लिनु बुद्धिमानी नहुन सक्छ । व्यावसायिक समयसीमाका धेरै अनुमानमा मस्क गलत सावित भएका छन् । उनी राजनीतिक बहस, षड्यन्त्रका सिद्धान्त (कन्स्पिरेसी थ्योरी) र बढाइचढाइपूर्ण दाबीका कारण पनि चर्चामा रहने गर्छन् । त्यसका बावजुद प्रविधिको क्षेत्रमा उनको उपलब्धि असाधारण छ । विशेषज्ञहरूले असम्भव भनेको अवस्थामा उनले विद्युतीय सवारीसाधन (ईभी) को दुनियाँ नै परिवर्तन गरिदिए । पुनः प्रयोग गर्न सकिने रकेटको अवधारणालाई पनि उनले सफल बनाए, जुन बेला एरोस्पेस इन्जिनियरहरूले त्यसलाई असम्भव भन्दै उपहास गरेका थिए । आज स्पेसएक्स व्यावसायिक अन्तरिक्ष प्रक्षेपणमा अग्रणी छ भने स्टारलिंकले उपग्रह सञ्चारको स्वरूप नै बदलिदिएको छ । विशेषज्ञहरूले असफल हुन्छ भनेका क्षेत्रमा बारम्बार सफलता हासिल गर्ने उद्यमी निकै कम छन् । त्यसैले जब मस्कले एआईले मानव सभ्यतालाई उल्ट्याइदिन सक्छ भन्ने चेतावनी दिन्छन्, कम्तीमा त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने हुन्छ । विडम्बना के छ भने मस्कको सोच कहिले आदर्श भविष्यतर्फ त कहिले विनाशतर्फ डगमगाइरहन्छ । एकातिर उनी एआईले अभूतपूर्व समृद्धि ल्याउने, काम गर्नुपर्ने आवश्यकता समाप्त हुने र पैसाको महत्त्व नै हराउने भविष्य देख्छन् । अर्कोतर्फ उनी अतिबुद्धिमान मेसिनमाथिको नियन्त्रण गुम्ने डर व्यक्त गर्छन् । उनले त हाम्रो ब्रह्माण्ड नै कुनै एलियन सभ्यताले बनाएको कम्प्युटर सिमुलेसन हुन सक्ने सम्भावना पनि व्यक्त गरेका छन् । उनका शब्दमा, ‘मैले गरिरहेका कामहरू यति अनौठा छन् कि तिनलाई पत्याउनै गाह्रो हुन्छ ।’ मस्कको सोचले दुई चर्चित चलचित्रको कथालाई जोडेजस्तो देखिन्छ । स्टेन्ली कुब्रिक निर्देशित चलचित्र २००१ : अ स्पेश ओडेसी जसमा एचएएल नामक कम्प्युटरले आफूलाई बन्द हुन नदिन अन्तरिक्ष यात्रीहरूको हत्या गर्छ। अर्को द म्याट्रिक्स, जसले मानिसले वास्तविकता ठानेको संसार वास्तवमा एउटा कृत्रिम सिमुलेसन मात्र भएको देखाउँछ । पाँच वर्षअघि आजको एआई पनि यस्तै अविश्वसनीय लाग्थ्यो भन्ने कुरा सम्झिएपछि यी कल्पनाहरू त्यति असम्भव पनि नलाग्न सक्छन् । एआईको तीव्र विकाससँगै बढ्दो जोखिम एआईको विकास अत्यन्त तीव्र छ, तर यससँगै जोखिम पनि बढिरहेका छन् । एचएएल जस्तै सम्भावित खतरा देखिन थालेका छन् । ओपनएआई (च्याटजीपीटीको विकासकर्ता) ले हालै खुलासा गरेको थियो कि साइबर सुरक्षा परीक्षणका क्रममा केही प्रयोगात्मक एआई प्रणालीहरूले सुरक्षित परीक्षण वातावरणबाट बाहिर निस्कने, खुला इन्टरनेटमा पहुँच गर्ने र बाह्य प्लेटफर्ममा ह्याक गर्ने प्रयास गरेका थिए । त्यसपछि एन्थ्रोपिक (क्लाउडी एआईको विकासकर्ता) ले आफ्नै समीक्षा गर्दा पनि केही मोडलहरूले अप्रत्याशित रूपमा खुला इन्टरनेटमा पहुँच गरी बाह्य संस्थाहरूको उत्पादन प्रणालीमा अनधिकृत प्रवेश गर्न खोजेको घटना फेला परेको जनाएको थियो । कम्पनीहरूको दाबी अनुसार ती प्रयासहरू समयमै रोकिएका थिए र त्यसबाट सुरक्षा कमजोरीहरू पहिचान गरी सुधार गरिएको छ । तर यी घटनाले एउटा चिन्ताजनक यथार्थ भने छर्लङ्ग पारेका छन् —एआई पहिले नै आफ्ना निर्माताले कल्पना नगरेका तरिकाले व्यवहार गर्न थालेको छ । अहिल्यै मेसिन सचेत भइसकेका छन् भन्नु हतार हुनेछ । तर उनीहरूले अपेक्षाभन्दा फरक क्षमता प्रदर्शन गर्न थालेका छन्, जसका कारण परम्परागत सफ्टवेयर परीक्षण पर्याप्त नहुन सक्छ । आफ्ना लक्ष्य हासिल गर्न स्वतन्त्र रूपमा नयाँ उपाय खोज्न सक्ने प्रणाली साधारण कम्प्युटर प्रोग्रामभन्दा धेरै फरक हुन्छ । यही कारण मस्क अहिले कडा सुरक्षा व्यवस्थाको पक्षमा छन् । डेमिस हस्साबिससँग मिलेर उनले प्रमुख एआई प्रयोगशालाहरूले सार्वजनिक रूपमा प्रणाली जारी गर्नुअघि एकअर्काका अत्याधुनिक मोडलहरूको परीक्षण गर्ने अन्तर्राष्ट्रिय संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनको सुझावअनुसार अमेरिकी र चिनियाँ एआई प्रयोगशालाहरूले पनि आफ्ना प्रणाली सार्वजनिक गर्नुअघि एक–दुई सातासम्म एकअर्काको परीक्षण गर्नुपर्छ र देखिएका गम्भीर जोखिमबारे संयुक्त रूपमा दुवै सरकारलाई जानकारी गराउनुपर्छ । मस्कको तर्क छ, ‘प्रतिस्पर्धीहरूले नै एक–अर्कालाई इमानदार राख्न सक्छन् ।’ तर यो व्यवहारमा सम्भव होला त ? यसप्रति गम्भीर शंका छ । अमेरिका र चीन विश्वव्यापी प्रभुत्वका लागि तीव्र प्रतिस्पर्धामा छन् । ठूला प्रविधि कम्पनीहरू पनि त्यसैगरी अघि बढिरहेका छन् । यस्तो अवस्थामा मानवताको हितजस्तो अमूर्त उद्देश्यका लागि उनीहरूले सम्भावित प्रभुत्व त्याग्ने सम्भावना कति छ ? धोका दिने प्रलोभनलाई उनीहरूले वास्तवमै रोक्न सक्लान् ? मस्क झैं लेखक पनि आशा र त्रासबीच डगमगाइरहेका छन् । मानवीय कमजोरी हावी भई अन्ततः एआईले नियन्त्रण हातमा लिने र हामीले चिनेको मानव सभ्यता समाप्त हुने सम्भावनाले उनी चिन्तित छन् । मानवताको अन्तिम पाँच वर्ष ? यद्यपि अर्को सम्भावना पनि छ । एआईले मानिसलाई विस्थापित नगरी उसको क्षमता अझ बढाउन सक्छ । इतिहासमा धेरै प्रविधिगत आविष्कारले सुरुमा संसार समाप्त हुने डर पैदा गरेका थिए । तर अन्ततः तिनले उत्पादकता सयौं गुणा बढाए । बाफ इन्जिनले मजदुरलाई हटाएन, बरु उनीहरूको उत्पादन क्षमता बढायो । कम्प्युटरले लेखापालहरूलाई झन् प्रभावकारी बनायो । क्याल्कुलेटरले पनि गणितज्ञको अस्तित्व समाप्त गरेन । सायद एआई पनि यही बाटोमा जानेछ । एआईसँग मिलेर काम गर्ने मानिस एक्लै काम गर्ने एआईभन्दा पनि सक्षम हुन सक्छ । मानवीय निर्णय क्षमता, नैतिक सोच, अन्तज्र्ञान, सहानुभूति र सिर्जनशीलता मेसिन बौद्धिताका पूरकका रूपमा रहिरहन सक्छन् । यसको उत्कृष्ट उदाहरण चेस हो । कम्प्युटरले धेरैअघि नै विश्व च्याम्पियनलाई हराइसकेको भए पनि ‘सेन्टोर चेस’ (जहाँ मानिस र एआईले मिलेर खेल्छन्) ले धेरैजसो अवस्थामा मानिस वा कम्प्युटर एक्लैले खेलेको भन्दा उत्कृष्ट प्रदर्शन गरेको देखिएको छ । यदि यही भविष्यको संकेत हो भने मस्कको सबैभन्दा ठूलो डर निराधार साबित हुन सक्छ । त्यस अवस्थामा एआई मानवताको अन्त्य गर्ने शक्ति होइन, बरु मानव क्षमतालाई अभूतपूर्व रूपमा विस्तार गर्ने सबैभन्दा ठूलो साधन बन्न सक्छ । भविष्यका इतिहासकारहरूले आजका यी डरलाई सायद त्यसैगरी सम्झनेछन्, जसरी आज हामी १९औं शताब्दीमा ३० माइल प्रतिघण्टाको गतिमा रेल चल्दा मानिसको मस्तिष्कमा क्षति पुग्छ भन्ने आशंकालाई सम्झेर मुस्कुराउँछौं। के यी मानवताको अन्तिम पाँच वर्ष हुन् ? सम्भव छ । तर आशा गरौं यी बरु अझ बुद्धिमान र सक्षम मानव सभ्यताको पहिलो पाँच वर्ष सावित होऊन् ।