क्यूएफएक्स अक्वायरपछि लबिम मलको आम्दानी ७३.३८ प्रतिशत बढ्यो, एकै वर्ष साढे ६४ करोड

काठमाडौं । ललितपुर विशाल बजार मल्टिप्लेक्स कम्पनी लिमिटेड (लबिम मल)ले गत आर्थिक वर्ष २०८२/८३ मा ६४ करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७ करोड ३० लाख रुपैयाँ अर्थात् ७३.३८ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी ३७ करोड २० लाख रुपैयाँ थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ६० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा ३४ करोड ५० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २८ करोड १० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा २० करोड ५० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । सन् २००१ को डिसेम्बरमा स्थापना भएको कम्पनीले ललितपुरको पुल्चोकमा भाडामा लिएको जग्गामा व्यावसायिक परिसर विकास गरेको हो । कम्पनीले सन् २०१६ को अप्रिलदेखि ‘लबिम मल’ नामबाट व्यावसायिक सञ्चालन सुरु गरेको थियो भने पूर्ण रूपमा व्यावसायिक सञ्चालन सन् २०१७ देखि सुरु भएको थियो । कम्पनीले पाटन बहुमुखी क्याम्पससँग जग्गा भाडामा लिएको हो । सम्झौताअनुसार जग्गाको भाडा अवधि सन् २०१६ को मार्चदेखि २५ वर्षका लागि रहेको छ । लबिम सन् २०२६ को जुलाईमा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । त्यसअघि कम्पनीले सन् २०२६ को मेमा ललित सिनेमाज प्राइभेट लिमिटेडलाई औपचारिक रूपमा अक्वायर गरेको थियो । अक्वायरपछि लबिम मलमा सञ्चालन हुँदै आएका मल्टिप्लेक्स सिनेमा हल तथा क्यूएफएक्स ब्रान्डअन्तर्गतका चलचित्र प्रदर्शनसम्बन्धी सेवाहरू कम्पनीको सञ्चालनमा एकीकृत भएका छन् । सन् २०२६ को जुलाई मध्यसम्म राजेश कुमार सिद्धिको कम्पनीमा करिब ३३ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको नेतृत्व प्रमुख कार्यकारी अधिकृत दीपेक्षा विक्रम राणाले गर्दै आएका छन् । लबिम मलको अकुपेन्सी दर आर्थिक वर्ष २०८०/८१ मा करिब ९८ प्रतिशत तथा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा करिब ९६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा चलचित्र सञ्चालनलाई कम्पनीको व्यवसायमा एकीकृत गरेपछि आम्दानीका स्रोत विस्तार तथा विविधीकरण भएका छन् । चलचित्र सञ्चालनबाट कुल बिक्रीमा करिब २२ करोड ६० लाख रुपैयाँ योगदान भएको छ । कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा पनि बढेको छ । यस्तो नाफा आर्थिक वर्ष २०८०/८१ मा २३ करोड ९० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २४ करोड ८० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा ब्याज, कर, ह्रासकट्टी तथा परिशोधनअघिको नाफा दर करिब ६७ प्रतिशत रहेकोमा चलचित्र व्यवसायका प्रत्यक्ष सञ्चालन खर्चका कारण आर्थिक वर्ष २०८२/८३ मा घटेर करिब ४९ प्रतिशतमा कायम भएको छ । यद्यपि, कम्पनीको करपछिको नाफा बढेको छ । करपछिको नाफा आर्थिक वर्ष २०८१/८२ मा ८ करोड ७० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १४ करोड रुपैयाँ पुगेको छ । करपछिको नाफा दर आर्थिक वर्ष २०८०/८१ मा करिब १५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा २३ प्रतिशत र आर्थिक वर्ष २०८२/८३ मा करिब २२ प्रतिशत कायम भएको छ । कम्पनीको नगद सिर्जना क्षमता पनि बढेको छ । कुल नगद सञ्चिति आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १५ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा बढेर २१ करोड ५० लाख रुपैयाँ पुगेको छ । यद्यपि, कम्पनीको मुख्य सञ्चालन एउटै व्यावसायिक सम्पत्ति लबिम मलमा केन्द्रित रहेको छ । साथै, जग्गा भाडा सम्झौताको अवधि २५ वर्ष रहेको र उक्त अवधि समाप्त भएपछि सम्पत्ति जग्गाधनीलाई फिर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५३ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ५३ करोड ३५ लाख रुपैयाँ दीर्घकालीन र ५० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

सिप्रदी हायर पर्चेजले बढायो २० प्रतिशत कर्जा, आम्दानी ५४.८० करोड रुपैयाँ

काठमाडौं । सिप्रदी हायर पर्चेज प्रालिले गत आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.२६ प्रतिशत अर्थात् ७० लाख रुपैयाँ कम हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल आम्दानी ५५ करोड ५० लाख रुपैयाँ थियो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५८ करोड रुपैयाँ, आव २०७९/८० मा ५२ करोड ८० लाख रुपैयाँ, आव २०७८/७९ मा ४९ करोड ४० लाख रुपैयाँ, आव मा ६७ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ७७ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा ८१ करोड ६० लाख रुपैयाँ, आव २०७४/७५ मा ५७ करोड ६० लाख रुपैयाँ र आव २०७३/७४ मा २० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । सन् २०१४ मा स्थापना भएको सिप्रदी हायर पर्चेज नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुँदै आएको हायर पर्चेज वित्तीय संस्था हो । कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो । सिप्रदी ट्रेडिङ प्रालि नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक हो । सिप्रदी समूहअन्तर्गत रहेको सिप्रदी ट्रेडिङले सन् १९७९ देखि नेपालमा अटोमोबाइल तथा सम्बन्धित व्यवसायमा कारोबार गर्दै आएको छ । सिप्रदी हायर पर्चेजका अध्यक्ष सिद्धार्थशमशेर जबरा रहेका छन् ।  कम्पनीले मुख्य रूपमा सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने व्यावसायिक सवारीसाधनमा हायर पर्चेज वित्तीय सेवा प्रदान गर्दै आएको छ । गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापनमा रहेको कुल कर्जा पोर्टफोलियो ४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा यस्तो पोर्टफोलियो ४ अर्ब ९ करोड ९० लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको कर्जा पोर्टफोलियो १९.८३ प्रतिशत अर्थात् ८१ करोड ३० लाख रुपैयाँले बढेको छ । कम्पनीको व्यवस्थापनमा रहेका कुल सम्पत्ति पनि बढेर गत आर्थिक वर्षमा ५ अर्ब ४१ करोड १० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति ४ अर्ब ४९ करोड १० लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन नाफामा भने दबाब देखिएको छ । गत आर्थिक वर्षमा औसत कुल सम्पत्तिको अनुपातमा सञ्चालन नाफा करिब ४.४ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ५.५ प्रतिशत थियो । सञ्चालन नाफामा आएको कमी मुख्य रूपमा खुद ब्याज मार्जिन घटेका कारण भएको हो । गत आर्थिक वर्षमा कम्पनीको खुद ब्याज मार्जिन ६.६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो आर्थिक वर्षमा ८.२ प्रतिशत थियो । बजारमा अधिक तरलता तथा बैंक तथा वित्तीय संस्था र अन्य हायर पर्चेज कम्पनीबीचको प्रतिस्पर्धाका कारण समग्र क्षेत्रमा नै खुद ब्याज मार्जिनमा दबाब परेको जनाएको छ । आगामी दिनमा कर्जाबाट प्राप्त हुने ब्याज आम्दानी र कोषको लागतबीच सन्तुलन कायम गर्न तथा कम प्रतिफल दिने क्षेत्रमा कर्जा विस्तार हुन नदिन सक्ने क्षमता कम्पनीको नाफाका लागि महत्वपूर्ण रहनेछ । कम्पनीको सञ्चालन खर्च पनि बढेको छ । गत आर्थिक वर्षमा कुल आम्दानीको तुलनामा सञ्चालन खर्च ३५.४ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ३४.७ प्रतिशत थियो । कम्पनीको कर्जा पोर्टफोलियोमा ब्रान्ड तथा क्षेत्रगत एकाग्रताको जोखिमसमेत रहेको छ । कम्पनीले मुख्य रूपमा टाटा ब्रान्डका व्यावसायिक सवारीसाधनमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीबाट वित्तीयकरण गरिएका सवारीसाधनमध्ये करिब १०० प्रतिशत टाटा ब्रान्डका छन् । त्यस्तै, कुल वित्तीयकरणमध्ये करिब ९८ प्रतिशत हिस्सा व्यावसायिक सवारीसाधनको रहेको छ । हायर पर्चेज क्षेत्रमा बैंकिङ क्षेत्रको तुलनामा नियामकीय निगरानी तथा नियन्त्रण कम कडा रहेको छ । कर्जालाई कोषको लागतसँग आबद्ध गर्ने तथा १ प्रतिशत सेवा शुल्क कार्यान्वयन गर्नेलगायतका पछिल्ला नियामकीय सुधारले हायर पर्चेज क्षेत्रलाई नियामकीय दायरामा ल्याए पनि केही नियन्त्रणसम्बन्धी कमजोरी अझै रहेको बताइएको छ । हायर पर्चेज कम्पनीले तुलनात्मक रूपमा जोखिमयुक्त तथा मध्यम क्रेडिट प्रोफाइल भएका ऋणीलाई कर्जा प्रवाह गर्ने भए पनि निष्क्रिय कर्जा पहिचान तथा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रावधान बैंकिङ क्षेत्रको तुलनामा केही सहज रहेको कम्पनीले जनाएको छ ।  कम्पनीको कुल खराब कर्जा अनुपात गत आर्थिक वर्षमा ३.२ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात करिब ६.४ प्रतिशत थियो । त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी अवधि नाघेको कर्जाको हिस्सा पनि करिब ५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा करिब १८ प्रतिशत थियो । कम्पनीको कर्जा नोक्सानी व्यवस्थापन अनुपात पनि बढेर करिब ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात करिब ८१ प्रतिशत थियो । खराब कर्जा घटेसँगै सम्पत्तिको गुणस्तरमा सुधार आएको देखिए पनि आगामी दिनमा नयाँ खराब कर्जा थपिन नदिनु कम्पनीका लागि महत्वपूर्ण रहनेछ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी पनि बढाएको छ । गत आर्थिक वर्षमा कम्पनीको बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण सापटी ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो ऋण सापटी ४ अर्ब रुपैयाँ थियो ।

७.१२ अर्बमा द ओबेरोई होटल बनाउँदै सिद्धार्थशमशेर जबरा

काठमाडौं । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्स प्रालिले काठमाडौंको रविभवनमा ७५ कोठाको विलासी होटल द ओबेरोई काठमाडौं निर्माण गरिरहेको छ । सन् २००४ जनवरीमा स्थापना भएको कम्पनीले भारतस्थित द ओबेरोई होटल्स एन्ड रिसोट्र्स लिमिटेडसँगको सहकार्यमा उक्त होटल निर्माण गरिरहेको हो । होटल निर्माणको अनुमानित लागत ७ अर्ब १२ करोड ४० लाख रुपैयाँ रहेको छ । परियोजनामा ऋण र पुँजीको अनुपात ६०:४० कायम गरिएको छ । कुल परियोजना लागतमध्ये बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब २७ करोड ४० लाख रुपैयाँ ऋण लिने योजना रहेको छ भने प्रवर्द्धकको पुँजी लगानी २ अर्ब ८५ करोड रुपैयाँ रहनेछ । परियोजनाको निर्माण कार्य सन् २०२५ जुनदेखि सुरु भएको हो । २०२६ जुन मध्यसम्म प्रवर्द्धकले कुल पुँजी आवश्यकताको करिब ८४ प्रतिशत अर्थात् २ अर्ब ४० करोड रुपैयाँ लगानी गरिसकेको छ । बाँकी करिब १६ प्रतिशत पुँजी पनि समयमै लगानी हुने कम्पनीले जनाएको छ ।  २०२६ जुलाई मध्यसम्म परियोजनाको वित्तीय प्रगति करिब ३८ प्रतिशत पुगेको छ भने निर्माणतर्फको प्रगति करिब ५७ प्रतिशत रहेको छ । व्यवस्थापनले होटलको सञ्चालन सन् २०२९ सेप्टेम्बरदेखि सुरु गर्ने लक्ष्य राखेको छ । यसअघि सञ्चालनको लक्ष्य सन् २०२९ जुन रहेकोमा संशोधन गरी सेप्टेम्बर पुर्याइएको हो । द ओबेरोई होटल्स एन्ड रिसोट्र्ससँगको सहकार्यलाई परियोजनाको प्रमुख सकारात्मक पक्षका रूपमा लिइएको छ । अन्तर्राष्ट्रिय पहिचान र ठूलो ग्राहक आधार रहेको विलासी होटल ब्रान्डसँगको सहकार्यले होटल सञ्चालनमा आएपछि सुरुवाती ग्राहक आकर्षण तथा अधिभोग दर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, ओबेरोई समूहका स्थापित सञ्चालन मापदण्डले होटलको बजार पहुँच विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्समा सिद्धार्थशमशेर जबराको ६० प्रतिशत स्वामित्व रहेको छ । बाँकी ४० प्रतिशत स्वामित्व सूर्य इन्टरप्राइजेज प्रालि र एसआर होल्डिङ्सको समान २०-२० प्रतिशत रहेको छ । यी दुवै संस्थामा पनि जबराको मुख्य स्वामित्व रहेको छ । परियोजनाको निर्माण प्रगतिसँगै यान्त्रिक, विद्युतीय तथा प्लम्बिङसम्बन्धी कामको सम्झौता अन्तिम चरणमा पुगेको छ । उक्त सम्झौता छिट्टै टुंगिने कम्पनीले जनाएको छ । तर, प्लान्ट, मेसिनरी तथा उपकरणसम्बन्धी केही महत्वपूर्ण सम्झौता अझै अन्तिम भएका छैनन् । यी सामग्रीको ठूलो हिस्सा अमेरिकी डलरमा खरिद हुने भएकाले विदेशी विनिमय दर तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण लागत बढ्न सक्ने जोखिम कायमै रहेको छ । परियोजनाको प्रतिकोठा लागत करिब ९ करोड ५० लाख रुपैयाँ र प्रतिकोठा ऋणभार करिब ५ करोड ७० लाख रुपैयाँ रहनेछ । तुलनात्मक रूपमा उच्च प्रतिकोठा लागत र होटल क्षेत्रमा रहने उच्च सञ्चालन खर्चका कारण होटल सञ्चालनको प्रारम्भिक वर्षमा वित्तीय अवस्थामा दबाब पर्न सक्ने देखिएको छ । होटलले पूर्ण सञ्चालन स्थायित्व हासिल गर्न समय लागेमा प्रवद्र्धकबाट थप वित्तीय सहयोग आवश्यक पर्न सक्नेछ । काठमाडौंको आतिथ्य क्षेत्रमा विद्यमान तथा निर्माणाधीन नयाँ होटलका कारण प्रतिस्पर्धा पनि उच्च रहेको छ । तीमध्ये धेरै होटल अन्तर्राष्ट्रिय होटल शृङ्खलासँग आबद्ध छन् । यसले नयाँ होटलको सञ्चालन स्थायित्व हासिल गर्ने अवधि लम्ब्याउन सक्ने जोखिम रहेको छ । यद्यपि, विलासी होटलले लक्षित गर्ने विशिष्ट ग्राहक वर्गले यस्तो प्रतिस्पर्धाको प्रभाव केही हदसम्म कम गर्न सक्ने अपेक्षा गरिएको छ ।  कम्पनीका अनुसार होटल तथा आतिथ्य व्यवसाय पर्यटक आगमनमा हुने मौसमी उतारचढाव र यात्राको ढाँचामा हुने परिवर्तनप्रति पनि संवेदनशील रहने गरेको छ । पर्यटक आगमन व्यापक आर्थिक अवस्था, पर्यटनसम्बन्धी नीति, भूराजनीतिक घटनाक्रम, प्राकृतिक विपत्ति तथा अन्य नियामकीय र समष्टिगत आर्थिक घटनाक्रमबाट प्रभावित हुन सक्छ । यस्ता घटनाक्रमले होटलको अधिभोग दर, कोठाको शुल्क तथा समग्र नगद प्रवाहमा असर पार्न सक्ने जोखिम रहेको छ । नेपाल सरकारको पर्यटन प्रवद्र्धनसम्बन्धी नीतिगत प्रयास, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनले आतिथ्य तथा पर्यटन क्षेत्रलाई दीर्घकालीन रूपमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारत र चीनजस्ता ठूला बजारको बीचमा नेपालको भौगोलिक अवस्थिति तथा पछिल्ला वर्षमा बढ्दो अन्तर्राष्ट्रिय पर्यटक आगमनले पनि पर्यटन क्षेत्रको सम्भावनालाई बल पुर्याएको छ । ओबेरोई होटल्स एन्ड रिसोट्र्स भारतको नयाँदिल्लीमा मुख्यालय रहेको विलासी होटल समूह हो । सन् १९३४ मा स्थापना भएको समूहले ओबेरोई होटल्स एन्ड रिसोट्र्स र ट्राइडेन्ट ब्रान्डअन्तर्गत ७ देशमा ३२ वटा विलासी होटल तथा पर्यटकीय जहाज सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोट्र्सका प्रवद्र्धक सिद्धार्थशमशेर जबराको विभिन्न क्षेत्रमा व्यावसायिक संलग्नता रहेको छ । उनी सन् २०१७ को आर्थिक वर्षमा चौथोपटक सर्वाधिक व्यक्तिगत कर तिर्ने व्यक्ति बनेका थिए ।