बाढीले बचाएको स्याफ्रुबेंसीको एक्लो दोकान
रसुवा । भदौ १० गते बिहानसम्म स्याफ्रुबेंसी बजारमा मान्छेको चहलपहल थियो । होटलमा पाहुना थिए, किराना पसलमा ग्राहकको भीड थियो र बजारका गल्लीमा व्यापार-व्यवसायको सामान्य रौनक थियो । केही घण्टापछि आएको बाढीले त्यो सबै दृश्यलाई यस्तो गरी मेटाइदियो कि अहिले स्याफ्रुबेंसी पुग्दा यहाँ कुनै समय बाक्लो बस्ती थियो भन्ने विश्वास गर्नसमेत गाह्रो हुन्छ । बाढीअघि स्याफ्रुबेंसी बजारमा होटल, किराना पसल र अन्य व्यावसायिक तथा आवासीय गरी करिब ३०० घर तथा संरचना थिए । अहिले बजारको माथिल्लो भेगमा रहेका १०-१२ वटा घरबाहेक अधिकांश संरचनाको नामोनिशानसमेत छैन । बाढीले घर मात्रै बगाएन, यहाँको व्यापार, रोजगारी, पारिवारिक जीवन र वर्षौंदेखि निर्माण भएको बजारको पहिचानसमेत एकैपटक बगाइदियो । स्याफ्रुबेंसीमै रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन, लाङटाङ जलविद्युत आयोजनाको स्टेसनलगायतका महत्वपूर्ण संरचना पनि बाढीको चपेटामा परे । कुनै समय स्थानीयको दैनिकी र आर्थिक गतिविधिको केन्द्र बनेको बजार अहिले भग्नावशेष र बाढीले छाडेका अवशेषबीच उभिएको छ । तर, यही उजाडिएको बजारको अलिक माथिल्लो भेगमा त्रिशूली नदी किनारबाट करिब १५० मिटर पर रहेको एउटा सानो किराना पसल भने अझै उभिएको छ । लक्षिङ घलेले चार दशकदेखि सञ्चालन गर्दै आएको यही पसल बाढीबाट जोगियो । पसल जोगिनुका पछाडि संयोग मात्रै थिएन । नदीबाट केही दूरीमा रहेको स्थानमा व्यवसाय सञ्चालन गरेका कारण बाढीको प्रत्यक्ष प्रभावबाट पसल र पसल सञ्चालक घले दुवै जोगिए । तर, पसल जोगिए पनि उनको व्यापारको आधार बनेको बजार भने रहेन । बाढीअघि ग्राहकको घुइँचो लाग्ने घलेको पसल अहिले सुनसान छ । पसलका सामान यथावत् छन्, तर किनमेल गर्ने मानिस छैनन् । बाढीले उनको पसललाई छोएन, तर ग्राहक, छिमेकी, साथीभाइ र बजारको जीवन भने बगाएर लग्यो । ‘बाढीबाट सँगै काम गर्ने, हिँड्ने, बोल्ने सबै साथी गुमाएँ,’ घलेले निराश हुँदै भने, ‘मेरो पसल बाढीले नबगाए पनि के गर्नु, अब यहाँको चहलपहल त सकियो नि ! अब मैले व्यवसाय कसका लागि गर्नु ? यहाँका अधिकांश मान्छे त बगे । बाँचेका सबै यहाँबाट सरिसके ।’ घलेको आवाजमा पसल जोगिएको खुसीभन्दा बजार गुमाएको पीडा बढी सुनिन्छ । चार दशकदेखि आफूले व्यवसाय गर्दै आएको ठाउँ केही घण्टामै उजाड भएको दृश्य उनका लागि अझै सामान्य बन्न सकेको छैन । ‘आफू मात्रै बाँचेर के गर्नु ? बजार गयो त सबै गयो,’ उनले भने, ‘अहिले त पसलको सामान त्यही पनि अलिअलि बिक्छ कि भनेर खोलेको हुँ ।’ बाढीले स्याफ्रुबेंसीको भौतिक संरचना मात्रै ध्वस्त पारेको छैन, स्थानीयको सामाजिक र आर्थिक जीवनलाई पनि गहिरो असर पारेको छ । पसल, होटल र घर गुमाएका परिवारसँगै व्यवसाय चलाउने बजार गुमाएका व्यापारीको भविष्यसमेत अनिश्चित बनेको छ । बाँचेकाहरू पनि सुरक्षित स्थानतर्फ सर्न थालेपछि बजारमा पुनः पुरानै चहलपहल फर्किने अवस्था तत्काल देखिँदैन । ग्राहक बने उद्धार र पुनर्निर्माणमा खटिएका कर्मचारी विकासन्युजको टीम स्थलगत रिपोर्टिङका क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेंसी पुग्दा घलेको पसलमा देखिने ग्राहकको दृश्य पनि बदलिएको छ । बाढीअघि स्थानीय बासिन्दा, मजदुर, व्यवसायी, यात्रु र आसपासका बस्तीबाट आउने ग्राहकले भरिने पसलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, जलविद्युत आयोजनाका कर्मचारी तथा राहत र पुनःस्थापनाका काममा खटिएका विभिन्न संघसंस्थाका कर्मचारी मात्रै देखिन्छन् । बाढीपछि उद्धार, राहत, पुनःस्थापना र क्षतिको व्यवस्थापनका लागि स्याफ्रुबेंसीमा विभिन्न निकायका मानिसको उपस्थिति बढेको छ । तर, उनीहरूको उपस्थिति स्थानीय बजारको पुरानो आर्थिक जीवनको निरन्तरताका लागि पर्याप्त छैन । घलेको पसल यसको एउटा प्रतिनिधि तस्वीर बनेको छ कि पसल बाँचेको छ, सामान बाँचेका छन्, पसले पनि बाँचेका छन् । तर, पसल चलाउने बजार भने बाढीसँगै हराएको छ । भदौ १० गतेको बाढीले स्याफ्रुबेंसीमा छाडेको यही दृश्यले प्राकृतिक विपत्तिपछि पुनर्निर्माणको चुनौती घर र सडक बनाउने विषयमा मात्रै सीमित नहुने देखाउँछ । ध्वस्त भएका बजार, विस्थापित परिवार, रोजगारी गुमाएका नागरिक र समाप्त भएको स्थानीय आर्थिक गतिविधिलाई कसरी पुनर्जीवित गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ । चार दशकदेखि पसल चलाउँदै आएका घलेका लागि अहिले सबैभन्दा ठूलो प्रश्न पनि यही हो कि पसल त जोगियो, तर फेरि बजार कहिले फर्किएला ?
ए भोटेकोशी : कसरी सुनाऊँ खै पीडाको हिसाब !
मानिसहरू आफ्नै संसार, आफ्नै सुर र आफ्नै तालमा थिए । आकाश कन्चन नीलो थियो । घाम उस्तै चम्किलो थियो । कसैलाई काममा पुग्नु थियो, कसैलाई यात्रा गर्नु थियो, कसैलाई पसल खोल्नु थियो । कसैको घरमा खाना पाक्दै थियो । कसैको मोबाइलमा परदेशी आफन्तको फोन आउन बाँकी थियो । सायद कोही टाढा भएका आफन्तसँग भिडियो कलमा भलाकुसारी गर्दै थिए । हो, त्यो बिहान सबै कुरा सामान्य थियो । तर भोटेकोशी नदीको नाभीलाई सायद केही थाहा थियो ! टाढाबाट उसले पाएको घनघोर विध्वंसको सन्देशको तार नपुग्दै वा भनौं कहीँ कसैले पाए पनि विश्वास गरिनहाल्दै बिजुली बेगसरी केहीबेरमै पहाडमा पनि समुन्द्रमा जस्तो सुनामी उर्लियो । त्यो सामान्य दृष्य एकाएक क्षतविक्षत भएर च्यातियो । माटो, ढुङ्गा, रुख, घर, गाडी, मानिस नजाने के–के मिसिएर भेल आयो । सुमन्द्रको सुनामी पानी र हावा मिसिएर आउँछ, यो पहाडको सुनामीले सिँगै पृथ्वीका उपज बोकेर सोत्तर बनायो । उसको बाटोमा जे–जे भेटिए निल्दै अघि बढ्यो । घरहरू बगे । पुरिए । सडक हरायो । पुल उजाडिए । किनारा आसपासको टोल, बजारको नामोनिसान रहेन । मानिस, पशुचौपाया भाग्नै सकेनन् । कतिपय भाग्दाभाग्दै क्षणभरमै लपेटिए अनि विस्मृतिमा हराए । केही बाँकी रहेन । पुर्खादेखिको, वषौंदेखिको कमाइ बग्यो । देशको, देशबासीको पहिचान बग्यो । र नदीसँगै बग्यो धेरै मानिसको कल्पनाको सुखद भविष्य । पत्याउनै नसकिने यो पुस्ताको एउटा कालो दिन, कालो समय, कालो प्रहरको त्यो चिच्याहट संसारभर फैलियो । मान्छेहरूको मन विछिप्त बनाउँदै भएको त्यस कहालीलाग्दो त्रासदी पछि आउने कैयौं पुस्ताका लागि एउटा पत्याउनै पर्ने ठूलो पीडाको इतिहास बन्दैछ । त्यसका लागि पछिल्लो पुस्तालाई विभिन्न दस्तावेजहरू, सिर्जनाहरूले दुरुस्त पारेर राख्ने प्रयास गर्ने नै छन् । विपदको घाउ आलै छँदा यसै पृष्ठभूमिलाई दुरुस्त उतार्ने गरी निस्केको एउटा गीतले त्यो पीडादायी क्षणको सजिव चित्र मात्र उतारेको छैन, यसको कारण र यसको भविष्यबारे तिखो प्रहार गरेको छ । श्रष्टा डी. डी. पन्तले रचना गरेको ‘ए नदी ए हिमाल’ बोलको उक्त गीतले मानिसलाई भाद्र १० गतेको त्यो बिहानको त्रासदीलाई चसक्क पार्ने गरी उनेको छ । स्वर, संगीत र दृष्यले पनि मनमा मर्मस्पर्शी रूपमा गाडा चित्र उतारी दिन्छन् । भन्न त कलमको ताकत, सिर्जनाको ताकत बलियो हुन्छ भनिन्छ । तर, सबै कलमबाट सिर्जिने फूलहरूले मनभित्र दस्तक नदिन पनि सक्छन् । पन्तका यी शब्द चाँहि यति जोडदार रूपमा मनमा धक्का दिनेखालका छन् कि अनायासै अनुहारको भावभङ्गी बदलिन्छ । ‘घाम लागेको बिहान थियो, आकाश पनि त नीलै थियो...’ यी पंक्ति गीतका सुरुवाती शब्द मात्रै होइनन्, यी एउटा विपत्तिको सबैभन्दा त्रासद अनि निकट आँधी आउनु अघिको सन्नाटाका रुपमा उनिएका छन् । हो, आकाश सामान्य त थियो त्यस दिन । तर एकछिन पछि एउटा सानो संसार सामान्य रहेन । एउटा हिमताल असामान्य गरी पड्कियो र जमिनमा गड्किँदै बौलाहा तालमा गन्तव्यहीन यात्रामा निस्कियो । केही क्षण अघिसम्म आम जीवनको हिस्सा रहेको कन्चन नदी अचानक विनाशको तवाह बन्यो । डीडी पन्त पानीसँगै प्रकृतिका उपहार रुख, ढुंगा, माटो, काठ र मान्छेले सिर्जेका पुल, बजार, बाटो सबै भग्नावशेष पनि नरहने गरी बगे । नदी किनारका बस्ती र पूर्वाधारमा शून्यबाट सुरु गर्नु पर्नेगरी प्रलय ल्यायो । भोटेकोशीबाट त्रिशूली हुँदै नारायणीसम्म फैलिएको विपत्तिले मृत्यु, बेपत्ता र विस्थापनको लामो छायाँ छोड्यो । आजपर्यन्त यसको चोटको आकार र आयाम खुटिन सकेको छैन । अझै आशाहरू बाँकी छन् सास र लास भेटिएलान् कि भनेर । राज्यले अर्बौं गुमायो । अनि खोज उद्धार र पुनःनिर्माणमा फेरि अर्बौं रुपैयाँ खर्चिनु पर्नेछ । पीडाको मोल त अनमोल भयो नै । दिन बित्दै जाँदा मृत्यु हुने र बेपत्ता हुनेहरूको संख्या थपिँदै गएको छ । यो कहाँनिर रोकिने हो भन्न सकिने अवस्था छैन । सम्पत्ति र पूर्वाधारको क्षतिको मोल कति डिजिटको हुने हो पनि अझै टुंगो हुन सकेको छैन । ‘लाखौं सपना थिए ती किनारहरूमा टेक्ने लौरा थिए ती खोला बगरमा ।’ गीतले भनेझैं नदी किनारमा घर मात्र थिएनन् । त्यहाँ मानिसका योजनाहरू थिए । ऋण थियो । व्यवसाय थियो । बच्चाको पढाइ थियो । बुढेसकालको सहारा थियो । परदेशबाट फर्कने छोराछोरीको प्रतीक्षा थियो । विवाहको तयारी थियो । बच्चा पाउने रहर थियो । भोलिको सपना थियो । अनेक विश्वास थिए । नदीले घर मात्रै भत्काएन । उसले एउटा परिवारको ‘हिजो, आज र भोलि’ पनि भत्काइ दियो । गीतको अर्को पंक्ति अझ निर्मम छ, ‘उछिट्याइदियौ सपनाहरू पुरिदियौ आशाहरू गुमनाम गरायौ मुटुहरू फटायौ उभिने धर्ती पनि ।’ विपत्तिको सबैभन्दा ठूलो भय यही हो, मान्छे मरेपछि पनि पीडा सकिँदैन । कसैको शव भेटिन्छ । कसैको भेटिँदैन । कसैले अन्तिम संस्कार गर्छ । कसैले एउटा कपडा, एउटा गहना, एउटा कागज वा एउटा तस्वीरमा आफन्त खोज्छ । कसैका लागि शोकको सुरुवात मृत्युको खबरबाट हुन्छ । कसैका लागि शोक सुरु हुन पनि शव चाहिन्छ । हामीले क्षतिको हिसाब जोड घटाउ गर्न सकौंला । तर गुमेको जीवनको अर्थ गन्न सक्दैनौं । तर ‘ए नदी ए हिमाल’ गीत शोकमा मात्र अडिँदैन । गीतले प्रकृतिसँग गुनासो र मानिसहरूसँग आक्रोश पोखेको छ । अचानक नदीलाई प्रश्न गर्न छाडेर श्रष्टा हामी मानिसलाई प्रश्न गर्न उत्तेजित हुन्छन् । ती मानिस हाम्रै समाजका, हाम्रै देशका पनि छन् र संसार भरका पनि । गीतमा स्रष्टाको आक्रोश पोखिन्छ, ‘कसले आकाश बिगार्यो ? कसले ऋतुको लय भत्कायो ? कसले तिम्रा मौनतामा नाफाको व्यापार गरायो ?’ संयोग यस्तो थियो कि भाद्र १० को, जसले एउटा नयाँ पीडाको मानक बनाएर गयो । किनकि विपत्ति सधैं कालो आकाशबाट आउँदैन । कहिलेकाहीँ सबैभन्दा भयावह घटना त्यही बिहान हुन्छ, जुन बिहान अरू दिनजस्तै सरल देखिन्छ । यस्तो सामान्य बिहानबाट कालो हुण्डरी बनाइदिने हिमाल र नदीलाई श्रष्टा पन्तले पागल करार गदिदिएका छन् । उनी गीतमा भन्छन्, ‘ए नदी ए हिमाल यो कस्तो पागलपन देखायौ ?’ झट्ट सुन्दा यो प्रकृतिप्रतिको गुनासो जस्तो सुनिन्छ । तर गीतलाई अलि गहिरो गरी सुन्दा प्रश्न नदीतर्फ मात्र फर्किएको छैन । यो प्रश्न हामी मानिसतर्फ पनि फर्किएको छ । हामीले नदीलाई कति बुझ्यौं ? हिमाललाई कति बुझ्यौं ? र विकासको नाममा प्रकृतिसँग कति जोखिम लिएर हिँड्यौं ? विपद् पछि मृत्युको संख्या गन्न सकिएला । बेपत्ताको संख्या राख्न सकिएला । क्षतिको आर्थिक मूल्यांकन गर्न सकिएला । तर एउटा परिवारले गुमाएको आफन्तको क्षतिपूर्ति कसरी गर्ने ? उसको भविष्यको मूल्यांकन कसरी गर्ने ? एउटा घरसँगै हराएको पुस्तौंको स्मृतिको मूल्य कति तोक्ने ? सायद यही असम्भव हिसाबलाई गीतले समेट्न खोज्छ, ‘कसरी सुनाऊँ खै पीडाको हिसाब नामहरू खोजीसाध्य छैन ।’ यो पंक्ति केवल शोक होइन, यो तथ्यांकको सीमामाथिको प्रश्न बनेर उभिएको छ । विपत्तिपछि संख्या खोजिन्छ, कति मरे ? कति बेपत्ता भए ? कति घर भत्किए ? कति सडक बिग्रिए ? अहिले यो काममा राज्य जोडतोडले लागेको छ । तर तथ्यांकले एउटा व्यक्ति र उसको परिवारको पीडालाई कहाँ समेट्न सक्छ र ? हामीलाई विकास चाहिएको छ । नभै भएको छैन । यो अकाट्य सत्य छ । अनि यसले निम्त्याउन सक्ने विनासबारे हाम्रो भूमिका झन् कमजोर परिरहेको छ । विकासका लागि पहाड फोडिन्छ, नदी थुनिन्छ, सुरुङ खनिन्छ । अनेक गरिन्छ । यी सबै विकासका लागि आवश्यकता हुन् । तर प्रश्न सधैं उसैगरी उभिइरहेको हुन्छ, विकास गर्दा हुने जोखिमको मूल्य कसले तिर्छ ? प्रश्नहरू अनेक छन्, समृद्धिको सपना देख्दा जोखिमको भूगोल बिर्सिरहेका त छैनौं ? नदीलाई स्रोत मात्रै र पहाडलाई पूर्वाधारको खाली ठाउँ मात्रै ठानिरहेका त छैनौं ? यही कारणले ‘ए नदी ए हिमाल’लाई केवल बाढीपछि लेखिएको गीत भनेर बुझ्नु यसको दायरालाई सानो बनाउनु हुनेछ । हो यो गीत विपत्तिपछिको आत्ममन्थन हो । तर, यो भविष्यका लागि खतराको सूचक पनि हो । हामीलाई ऐना पनि हो । संसारभरलाई त झन् महा ऐना हो । विपत्ति सकिएपछि नदी फेरि उसैगरी केहि नभए जसरी बगिरहेको छ । आकाश फेरि नीलै छ । सडक फेरि बन्लान् । पुल फेरि ठडिएलान् । बजार, घर फेरि बन्लान् । तर कतिपय कुरा फेरि दुरुस्तै चाहेर पनि बन्ने छैनन् । हराएको मान्छे फर्किँदैन । बाल्यकालको घर फर्किँदैन । आफ्नो मान्छेको प्रतीक्षामा बितेको त्यो समय फर्किँदैन । भाँचिएको मन फर्किदैन । प्रश्नै प्रश्नहरू बाँचिरहनेछन् । गीतले भनेझैं, ‘भविष्य गयो भेलसँगै, स्मृति रह्यो खोंचतिर बाँचे पनि मरेतुल्य भो, कसरी खै तंग्रिउँला र ?’ अब बाँकी रहेको प्रश्न यही मात्र छ कि अर्को नदी उर्लिनुअघि हामी यी प्रश्नहरू सुन्छौं कि फेरि अर्को विपत्तिपछि अर्को यस्तै गीतको प्रतीक्षा गर्छौं ? यसको जवाफ कसले र कहिले देला भन्न गाह्रो छ । गीतको भिडियोमा देखिने भाद्र १० को त्रासद पछिका मार्मिक दृष्यहरु पत्रकार निराजन खड्काले खिचेका हुन् । गीतको स्वर र संगीत सुनोडटकम मार्फत् तयार गरिएको छ । अर्थात् गीतको स्वर र संगीत एआइ सिर्जित हुन् । तर, दुरुस्तै छन् । किनभने गीतको केन्द्रमा प्रविधि छैन । प्रकृति र मान्छेको सम्बन्धको कथाले गीतमा सजीव जिवन दिएको छ । गीतका रचयिता डी. डी. पन्त सामाजिक क्षेत्रमा कृयाशील छन् । उनी राष्ट्रसंघीय कर्मचारी हुन् । उनको पूरा नाम दिलादत्त पन्त हो । पन्त साहित्य, पत्रकारिता, कानुन र सार्वजनिक नीति जस्ता बहुआयामिक क्षेत्रमा परिचित छन् । कविता, गीत, निबन्ध तथा समसामयिक सामाजिक–सांस्कृतिक विषयमा कलम चलाउँदै आएका पन्तका सिर्जनामा मानवीय संवेदना, प्रकृति, न्याय, पीडा र सामाजिक चेतनाको गहिरो अभिव्यक्ति पाइन्छ । लामो समयदेखि पत्रकारिता, कानुन, मानवअधिकार र संसदीय मामिलामा सक्रिय उनी लोकसंस्कृति, शान्ति र सामाजिक सद्भावसँग जोडिएका साहित्यिक तथा अनुसन्धानमूलक कार्यमा समेत संलग्न छन् । पन्तका कथा कवितालगायतका सिर्जना प्रकाशित छन् ।
सचिवसँग असमझदारी बढेपछि अतिरिक्त सचिव मिश्रको प्रधानमन्त्री कार्यालयमा सरुवा
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयमा सचिव डा. विकास देवकोटा र अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रबीच देखिँदै आएको कार्यगत असमझदारी अन्ततः सरुवासम्म पुगेको छ । मन्त्रालयको महत्त्वपूर्ण प्रशासनिक भूमिकामा रहेकी मिश्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएपछि स्वास्थ्य मन्त्रालयभित्र लामो समयदेखिको आन्तरिक टकरावको एउटा अध्याय टुंगिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । मन्त्रालयको प्रशासनिक निर्णय, जिम्मेवारीको बाँडफाँट र काम गर्ने शैलीलाई लिएर सचिव देवकोटा र अतिरिक्त सचिव मिश्रबीच लामो समयदेखि सहज सम्बन्ध नरहेको मन्त्रालयनिकट स्रोतको भनाइ छ । पछिल्लो समय दुई अधिकारीबीचको दूरी बढ्दै गएपछि मिश्रलाई मन्त्रालयबाटै अन्यत्र व्यवस्थापन गर्ने विकल्प अघि बढेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार मिश्रलाई मन्त्रालयबाट हटाउने निर्णय उनको कार्यक्षमतामाथि प्रश्न उठाएर नभई प्रशासनिक व्यवस्थापनका रूपमा गरिएको हो । उनका अनुसार मिश्रलाई निष्क्रिय राख्नेभन्दा उनको प्रशासनिक अनुभव उपयोग हुने गरी जिम्मेवारी दिने तयारी छ । मिश्रले शुक्रबार प्रधानमन्त्री कार्यालय पुगेर हाजिरसमेत गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जानकारी दिएको छ । तर कार्यालयका प्रवक्ता हेमराज अर्यालले डा. मिश्रको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको मात्रै आफूलाई जानकारीमा रहेको बताए । मिश्र स्वास्थ्य प्रशासनमा काम गरेर परिणाम देखाइसकेकी अधिकारी भएकाले उनलाई निष्क्रिय भूमिकामा राख्नेभन्दा प्रधानमन्त्री कार्यालयमै जिम्मेवारी दिएर अनुभव उपयोग गर्ने उद्देश्य राखिएको ती अधिकारीले जानकारी दिए । ‘उहाँ कामकाजी अधिकारीका रूपमा परिचित हुनुहुन्छ । स्वास्थ्य मन्त्रालयमा काम गर्ने वातावरण सहज नभएपछि अर्को जिम्मेवारीमा व्यवस्थापन गरिएको हो,’ उनले भने । मिश्रको प्रशासनिक पृष्ठभूमि भने स्वास्थ्य मन्त्रालयको एउटा अतिरिक्त सचिवको जिम्मेवारीमा सीमित छैन । उनले कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको निर्देशकका रूपमा काम गरिसकेकी छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीसमेत सम्हालिसकेकी मिश्रले अस्पताल प्रशासनदेखि केन्द्रीय स्वास्थ्य प्रशासनसम्मको नेतृत्व अनुभव बटुलेकी छन् । यही कारण मन्त्रालयभित्र उनको सरुवालाई सामान्य प्रशासनिक हेरफेरभन्दा केही फरक रूपमा हेरिएको मन्त्रालयका अधिकारीहरूले बताएका छन् । स्वास्थ्य क्षेत्रका विभिन्न तहमा नेतृत्व गरिसकेकी डा. मिश्रलाई मन्त्रालयको नीति निर्माण र कार्यान्वयनको केन्द्रबाट प्रधानमन्त्री कार्यालयमा लैजानुले उनको आगामी भूमिकाबारे पनि चासो बढाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भने सरुवालाई नियमित प्रक्रिया भएको बताउँछन् । उनका अनुसार उक्त सरुवा मन्त्रिपरिषदको निर्णयले गरेकोले स्वास्थ्य मन्त्रालय यसबारे जानकार नभएको जानकारी दिए । उनले भने, ‘उहाँ काविल अधिकारी हुनुहुन्छ । जहाँ भएपनि उहाँले परिणाम दिनेगरी काम गर्नुहुन्छ ।’ मन्त्रालयभित्रै बढेको दूरी मिश्र र देवकोटाबीचको विवाद नयाँ भने होइन । अघिल्लो वर्ष स्वास्थ्य सचिव नियुक्तिको क्रममा आफूभन्दा कनिष्ठ अधिकारीलाई सचिव बनाइएको भन्दै मिश्रले सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन् । स्वास्थ्य सचिवका लागि २०८१ फागुनमा तीन अतिरिक्त सचिवको नाम सिफारिस हुँदा मिश्र पहिलो, देवकोटा दोस्रो र डा टंक बाराकोटी तेस्रो क्रममा थिए । १२औं तहमा बढुवाको मितिका आधारमा मिश्र देवकोटाभन्दा अगाडि थिइन् । मिश्र २०७९ असार २३ गते १२औं तहमा बढुवा भएकी थिइन् भने देवकोटा र बाराकोटी २०७९ चैत १३ गते १२औं तहमा बढुवा भएका थिए । तर, मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएकी मिश्रलाई पछि पार्दै देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरेको थियो । त्यसपछि मिश्रले आफूलाई अन्याय भएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । सचिव नियुक्तिको विषयलाई लिएर उनले कानुनी उपचारसमेत खोजेकी थिइन् । सचिव नियुक्तिको विवादसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेरको विषय पनि दुई अधिकारीबीचको सम्बन्धमा जोडिएको थियो । मिश्रले आफूलाई विभागको महानिर्देशकबाट हटाएर देवकोटालाई जिम्मेवारी दिइएको पुरानो विषयमा समेत असन्तुष्टि व्यक्त गरेको एक अधिकारीले बताए । स्वास्थ्य प्रशासनमा भने मिश्र र देवकोटाको वरिष्ठताबारे फरक आधारबाट व्याख्या हुँदै आएको थियो । ११औं र १२औं तहमा बढुवाको मितिका आधारमा मिश्र अगाडि थिइन् । अस्पतालदेखि स्वास्थ्य विभागसम्मको अनुभव मिश्रको सरुवालाई बुझ्न उनको विगतको प्रशासनिक यात्रासमेत महत्त्वपूर्ण देखिन्छ । कोशी अस्पतालको निर्देशकका रूपमा काम गर्दा उनले ठूलो सरकारी अस्पतालको प्रशासनिक नेतृत्व सम्हालेकी थिइन् । त्यसपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीको नेतृत्वमा समेत पुगेकी उनी स्वास्थ्य संस्थाको व्यवस्थापन र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको जिम्मेवारीमा रहिन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा काम गरेको अनुभवले भने उनको जिम्मेवारीलाई अस्पताल प्रशासनभन्दा माथि केन्द्रीय स्वास्थ्य प्रणालीको व्यवस्थापनसँग जोड्यो । विभागको महानिर्देशक स्वास्थ्य सेवाका विभिन्न कार्यक्रम, मातहतका निकाय र सेवा प्रवाहसँग जोडिने महत्त्वपूर्ण प्रशासनिक पद हो । त्यसैले मन्त्रालयको अतिरिक्त सचिवका रूपमा उनको भूमिका पनि सामान्य प्रशासनिक जिम्मेवारीभन्दा बढी प्रभावशाली मानिन्थ्यो । मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा उनको सरुवा हुँदा यही पृष्ठभूमिका कारण स्वास्थ्य क्षेत्रका अधिकारीहरूले नयाँ जिम्मेवारीलाई चासोका साथ हेरेका छन् ।