शी जिनपिङ : सामान्य अधिकारीदेखि चीनका शक्तिशाली राष्ट्रपतिसम्म

काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङ बुधबार (आज) वासिङ्टन डीसी पुग्दैछन् । यो ११ वर्षपछि उनको पहिलो अमेरिकी राजकीय भ्रमण हो । तर अमेरिकासँग उनको पहिलो भेट चीनको धेरै पुस्ताकै शक्तिशाली नेता बन्नुभन्दा धेरैअघि भएको थियो । चार दशकअघि शी चीनको उत्तरी क्षेत्रमा जिल्लास्तरीय अधिकारी थिए । जानकारी संकलन गर्ने उद्देश्यले उनी अमेरिकाको मध्यपश्चिमी क्षेत्रको भ्रमणमा गएका थिए । उनले आयोवामा केही दिन बिताए । त्यस क्रममा खेतीबारे जानकारी लिए, खेतहरूको भ्रमण गरे र स्थानीय एक परिवारको घरमा बसे । चीनको सरकारी सञ्चारमाध्यमले त्यस परिवारको घरमा शी बसेको प्रसंग र आयोवाका तत्कालीन गभर्नर टेरी ब्रान्स्टाडसँग उनको मित्रतालाई विशेष प्राथमिकता दिँदै आएको छ । ब्रान्स्टाड पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा चीनका लागि अमेरिकी राजदूतसमेत बने । सरकारी सञ्चारमाध्यमले यी प्रसंगमार्फत अमेरिकासँग शीको व्यक्तिगत सम्बन्ध देखाउने प्रयास गर्दै आएको छ । तर अहिले अमेरिका र चीनबीचको सम्बन्ध त्यतिबेलाको जस्तो छैन । विश्वमा आफ्नो प्रभाव विस्तार गर्ने विषयमा दुवै देशबीच तीव्र प्रतिस्पर्धा छ । एकअर्काविरुद्ध भन्सार शुल्क लगाइएका छन्, प्रविधिमा प्रतिबन्धहरू छन् र सैन्य क्षेत्रमा समेत प्रतिस्पर्धा बढेको छ । अहिले ७३ वर्षका शी कुनै सामान्य जिल्लाका अधिकारी होइनन् । चीनको नेतृत्व सम्हालेको करिब १४ वर्षमा उनले विश्वमा चीनको प्रभाव र हैसियत निकै बढाएका छन् । सबै कुरा गुमाएका ‘राजकुमार’ शीको जीवन सुखसुविधाबीच सुरु भएको थियो। सन् १९५३ मा बेइजिङमा जन्मिएका उनी चिनियाँ कम्युनिस्ट क्रान्तिकारी शी झोङसुनका छैटौं सन्तान हुन् । उनका पिता जनवादी गणतन्त्र चीन स्थापना गर्ने अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्ति थिए । पछि उनी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा उपप्रधानमन्त्री बने । बाल्यकालमा शीले प्रतिष्ठित विद्यालयमा अध्ययन गरे । त्यतिबेला अधिकांश परिवारले पाउन नसक्ने सुविधा उनलाई उपलब्ध थियो । तर त्यसपछि राजनीति उनको परिवारविरुद्ध मोडियो । सन् १९६० को दशकको सुरुवातमा उनका पितालाई ‘पार्टीविरोधी’ समूहको हिस्सा भएको आरोप लाग्यो । उनलाई पार्टीबाट निकालियो र कारखानामा काम गर्न गाउँ पठाइयो । शीलाई ‘क्रान्तिविरोधी’ भनिएका व्यक्तिका छोरा भनेर हेरिन थालियो । किशोरावस्थामै उनलाई जबर्जस्ती पुनःशिक्षा केन्द्रमा पठाइयो । त्यतिबेला चीनका नेता माओत्सेतुङले युवाहरूलाई गाउँमा गएर किसानबाट सिक्न आह्वान गरेका थिए । त्यसपछि १५ वर्षीय शी सहरबाट गाउँ पठाइएका लाखौं युवासँगै गाउँ पुगे । सन् २००४ मा दिएको एक अन्तर्वार्तामा उनले त्यो यात्रा सम्झिँदै भनेका थिए, ‘रेलमा सबैजना रोइरहेका थिए । म मात्रै मुस्कुराइरहेको थिएँ… यदि म त्यहाँबाट निस्कन नसकेको भए, म पनि रोइरहेको हुन्थेँ । यदि त्यहीँ रोकिएको भए, आज म जीवित पनि हुन्थेँ कि हुँदिनँ, थाहा छैन ।’ उनी चीनको पश्चिमी शान्शी प्रान्तको पहाडी गाउँ लियाङजियाहे पुगे । त्यहाँ उनले सात वर्ष ‘याओदाङ’मा बिताए । याओदाङ पहाडभित्र बनाइएको गुफाजस्तो आवास हो । त्यहाँ उनले खेती गरे, मल बोके र खाल्डा खने । त्यहाँ बिताएको समयबारे उनले भनेका थिए, ‘अचार राखिएको तरकारी मेरो मनपर्ने खाना बनेको थियो । आज पनि मलाई त्यो समय निकै याद आउँछ ।’ कामको बोझ देखेर उनी ‘छक्क’ परेका थिए । सुरुवाती दिनमा उनले भोक र जुकासँग समेत संघर्ष गर्नुपर्‍यो । दिउँसोको खाना खानुअघि चुरोट पिउन पाइने छोटो समय उनका लागि केही राहतको समय हुन्थ्यो । सत्तासम्मको यात्रा २२ वर्षको उमेरमा शीले गाउँ छाडे र चीनकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक छिङह्वा विश्वविद्यालयमा रासायनिक इन्जिनियरिङ अध्ययन गरे । पढाइ पूरा गरेपछि उनले बेइजिङबाट टाढा स्थानीय अधिकारीका रूपमा काम गरे । उनी फुजियान र झेजियाङजस्ता तटीय प्रान्तमा कार्यरत रहे । सन् १९८० को दशकमा चीनले अर्थतन्त्र खुला गरेपछि यी प्रान्त देशकै सबैभन्दा धनी क्षेत्रमध्ये पर्न थाले । माओको निधनपछि शीका पिता पुनः राजनीतिमा फर्किए । यसले शीलाई केन्द्र सरकार र सेनामा पद हासिल गर्न मद्दत गर्‍यो । त्यहाँ उनले पार्टीका थुप्रै नेतासँग सम्बन्ध बनाए । पछि तीमध्ये धेरैजना उनको विश्वासपात्र नेतृत्व समूहका सदस्य बने । शीले सन् १९७९ मा के लिङलिङसँग विवाह गरेका थिए । यो उनको पहिलो विवाह थियो । उनी बेलायतका लागि चीनका पूर्वराजदूतकी छोरी थिइन् । तीन वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भयो । एक साझा साथीमार्फत शीको भेट उनकी दोस्रो तथा वर्तमान पत्नी पेङ लियुआनसँग भयो । पेङ सेनासँग सम्बन्धित गायिका थिइन् । उनी चीनमा पहिल्यै निकै चर्चित थिइन् । हरेक वर्ष चिनियाँ नयाँ वर्षमा प्रसारण हुने टेलिभिजन कार्यक्रममा उनी गीत गाउँथिन्, जुन करोडौँ मानिसले हेर्थे । सन् १९८० र १९९० को दशकमा चीनका धेरै मानिसले पेङलाई उनका प्रान्तीय अधिकारी श्रीमान् शीभन्दा बढी चिन्थे । पेङ प्रायः विदेशी भ्रमणमा शीका साथ जान्छिन् । चीनका यसअघिका प्रथम महिलाहरू तुलनात्मक रूपमा कम सार्वजनिक रूपमा देखिने परम्पराभन्दा यो फरक शैली हो । उनीहरूको छोरी तथा एक्ली सन्तान शी मिङजे सन् १९९२ मा जन्मिएकी हुन् । उनका बारेमा धेरै जानकारी सार्वजनिक छैन । उनले अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेको भने बताइन्छ । सन् २००७ मा केही समय सांघाईका शीर्ष नेता बनेपछि शी चीनको सबैभन्दा शक्तिशाली निर्णय गर्ने निकाय पोलिटब्युरो स्थायी समितिमा प्रवेश गरे । त्यसको पाँच वर्षपछि उनले हु जिन्ताओलाई विस्थापित गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाले । शीले चीनलाई कसरी बदले ? चीनको नेतृत्व सम्हालेको १४ वर्षमा चीनको आत्मविश्वास लगातार बढेको छ । विश्वका विभिन्न देशमा बेल्ट एन्ड रोड इनिसिएटिभजस्ता परियोजनामार्फत शीले चीनको प्रभाव विस्तार गरे । साथै उनले बेइजिङलाई ग्लोबल साउथको आवाजका रूपमा प्रस्तुत गरे । यही अवधिमा धेरै ठूला लोकतान्त्रिक देशसँग चीनको सम्बन्ध तनावपूर्ण बन्दै गयो । दक्षिण चीन सागरमा तनाव बढ्यो, ताइवानमाथि दबाब बढ्यो र अमेरिकासँगको प्रतिस्पर्धा पनि तीव्र भयो । तर शीको शासनको अर्को महत्त्वपूर्ण पहिचान चीनभित्र बढेको राजनीतिक नियन्त्रण हो । उनको नेतृत्वमा चीनले सुरक्षा र राजनीतिक स्थिरतालाई पहिलेभन्दा बढी प्राथमिकता दियो । शिनजियाङ, तिब्बत र हङकङजस्ता क्षेत्रमा विभिन्न कदम चालिए । शीका समर्थकहरूले यी कदमले व्यवस्था पुनःस्थापित भएको बताउँछन् । आलोचकहरू भने यसबाट नागरिक स्वतन्त्रता निकै सीमित भएको तर्क गर्छन्। शीले आफ्नो नामसमेत समेटिएको राजनीतिक विचारधारालाई पनि अघि बढाए । यसलाई ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे शी जिनपिङका विचार’ भनिन्छ । उनीभन्दा अघिका चीनका दुई नेताले आफ्नो विचारधारामा आफ्नो नाम समावेश गराउन सकेका थिएनन् । शीले संविधानबाट राष्ट्रपतिको कार्यकालको सीमा पनि हटाए । यसले उनलाई दुई कार्यकालपछि पनि पदमा रहिरहने बाटो खोलिदियो ।  चीनको सरकारी सञ्चारमाध्यमले शीलाई गम्भीर व्यक्तिका रूपमा प्रस्तुत गर्छ । तर कहिलेकाहीँ उनको हल्का–फुल्का शैली पनि सार्वजनिक हुन्छ । उनले फुटबलप्रतिको आफ्नो रुचिबारे कुरा गरेका छन् । चीनको पुरुष फुटबल टोलीको प्रदर्शनप्रति उनले थाइल्यान्डका प्रधानमन्त्रीसँग मजाक गर्दै निराशासमेत व्यक्त गरेका थिए । उनले बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनसँग बियर पिएका थिए । दक्षिण कोरियाका राष्ट्रपतिलाई चीनमा बनेको साओमी फोन उपहार दिँदा पनि उनले मजाक गर्दै फोन लिनुअघि त्यसमा कुनै ‘ब्याकडोर’ छ कि छैन भनेर जाँच्न भनेका थिए । मित्र कि विरोधी? विदेशी नेताहरूसँग शीको सम्बन्ध समयअनुसार बदलिँदै आएको छ । यी परिवर्तनले चीनको विदेश नीतिका प्राथमिकतासमेत देखाउँछन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगजस्तो निकट सम्बन्ध शीको अन्य कुनै विदेशी नेतासँग छैन । शी सत्तामा आएपछि दुवै नेताबीच ४० भन्दा बढी पटक भेट भइसकेको छ । शीले पुटिनलाई आफ्नो ‘सबैभन्दा निकट विश्वासपात्र’ समेत बताएका छन् । ट्रम्पसँगको शीको सम्बन्ध भने जटिल छ । चीनसँग व्यापार युद्ध सुरु गरे पनि ट्रम्पले प्रायः शीबारे सकारात्मक रूपमा बोल्छन् । उनी शीलाई आफ्नो मित्र बताउँछन् र उनको राजनीतिक शक्तिको प्रशंसा गर्छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि सुरुवाती चरणमा शीले व्यक्तिगत सम्बन्ध निर्माणमा जोड दिएका थिए । दुवै नेताले औपचारिक एजेन्डाबिनाका भेटवार्तामा कुराकानी गर्दै एसियाका यी दुई ठूला देशबीच सहकार्यको सन्देश दिने प्रयास गरेका थिए । तर सन् २०२० मा सीमामा भएको घातक झडपपछि भारत र चीनबीचको सम्बन्ध कैयौं दशकयताकै खराब अवस्थामा पुग्यो । व्यक्तिगत आकर्षण वा अचानक निर्णयका लागि चिनिने नेताहरूको तुलनामा शीले व्यक्तिगत सम्बन्धलाई विरलै राष्ट्रिय हितभन्दा माथि राख्छन् । यस साता शी फेरि वासिङ्टन डीसी पुग्दा उनी आयोवाका खेतहरू हेर्न पुगेका उत्सुक जिल्लास्तरीय अधिकारीका रूपमा होइन, २१औं शताब्दीको विश्व राजनीतिलाई दिशा दिने प्रभावशाली नेताका रूपमा पुग्नेछन् । (बीबीसीबाट अनुदित तथा सम्पादित)

बाढीपीडितलाई शतप्रतिशत कर छुट, ब्याज भुक्तानीको समय पनि थपियो

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा निकायहरूको आर्थिक पुनउत्थानका लागि सरकारले राहत, कर तथा महसुल छुट लगायतका विशेष सुविधा घोषणा गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत विभिन्न छुट तथा सहुलियतको व्यवस्था लागू गरेको हो ।   कर तथा भन्सार महसुलमा छुट र सुविधा  राजपत्रमा प्रकाशित सूचनाअनुसार बाढीका कारण पूर्ण रूपमा क्षति भई मर्मत हुन नसक्ने व्यावसायिक सवारी साधन, ढुवानीका साधन, प्लाण्ट, मेसिनरी तथा उपकरणहरूको पुनः आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ । भदौ १० गतेको बाढीका कारण गन्तव्यमा नपुग्दै नष्ट भएका वस्तुका हकमा ६ महिनाभित्र पुनः आयात गरेमा पहिले तिरेको भन्सार महसुल समायोजन गरिने व्यवस्था गरिएको छ । बाढी प्रभावित क्षेत्रका करदाताहरूले भदौ र असोज महिनाभित्र पेश गर्नुपर्ने कर विवरण तथा कर रकम आगामी २०८३ कात्तिक २५ गतेसम्म पेश गर्न सक्ने गरी म्याद थप गरिएको छ । त्यस्तै, प्रत्यक्ष प्रभावित व्यक्तिलाई आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट दिइने भएको छ । कर्जा पुनर्संरचना र बैंक ब्याजमा सहुलियत     बाढी प्रभावित ऋणीहरूलाई राहत दिन नेपाल राष्ट्र बैंकमार्फत बैंक तथा वित्तीय संस्थाहरूले कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा साँवा–ब्याज भुक्तानीको म्याद सार्ने सुविधा दिनेछन् ।   प्रभावित ऋणीहरूका लागि एक वर्षसम्म बैंकको आधार दरमा ०.५ प्रतिशत बिन्दुको प्रिमियम दर वा विद्यमान प्रिमियममध्ये जुन कम हुन्छ सोही ब्याजदर लागू हुनेछ । व्यावसायिक निरन्तरताका लागि पुनः सवारी साधन वा यन्त्र उपकरण खरिद गर्न चाहेमा बैंकको आधार दरमा न्यूनतम प्रिमियम जोडेर सहज रूपमा कर्जा उपलब्ध गराइनेछ ।   बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी     नेपाल बीमा प्राधिकरणमार्फत बीमा दाबी प्रक्रियालाई सरल र द्रुत बनाइनेछ। प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बीमितलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइएको छ ।  यसका लागि बीमकहरूलाई संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्न निर्देशन दिइएको छ ।    यसबाहेक, प्रदेश सरकार तथा स्थानीय तहहरूलाई पनि बाढी प्रभावित क्षेत्रका व्यवसाय तथा सम्पत्तिमा निश्चित अवधिका लागि सम्पत्ति कर, व्यवसाय कर र नक्सापास दस्तुर लगायतका स्थानीय शुल्कहरूमा सहुलियत दिन अनुरोध गरिएको छ ।

अपि पावर अब रियल स्टेटमा, कम लागतमा हाउजिङ बनाउने

काठमाडौं । जलविद्युत र सौर्य ऊर्जामा लगानी गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले आफ्नो व्यवसायको दायरा फराकिलो बनाउँदै रियल स्टेट क्षेत्रमा प्रवेश गरेको छ । ऊर्जा क्षेत्रमा आफ्नो पहिचान बनाएको कम्पनीले अब अपार्टमेन्ट, हाउजिङ र पूर्वाधारका परियोजनामार्फत रियल स्टेट बजारमा उपस्थिति जनाउन थालेको हो । अपि पावरले शतप्रतिशत लगानी रहेको भगिनी संस्था अपि इन्फ्रा लिमिटेड स्थापना गरी रियल स्टेट व्यवसाय अघि बढाएको हो । सन् २०२४ मा स्थापना भएको अपि इन्फ्राले काठमाडौं उपत्यकामा अपार्टमेन्ट तथा व्यावसायिक भवन निर्माणलाई प्राथमिकतामा राखेको छ ।  कम्पनीका अनुसार अहिले अपि इन्फ्राले ललितपुरको झम्सीखेलमा प्रिमियम अपार्टमेन्ट निर्माण गरिरहेको छ भने नयाँ बानेश्वरमा पनि अर्को परियोजना अघि बढाइरहेको छ । कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेका अनुसार झम्सीखेलको परियोजना कम्पनीको रियल स्टेट यात्राको पहिलो परियोजना हो । करिब ३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो परियोजनामा ४३ वटा आवासीय युनिट रहनेछन् । करिब १ अर्ब २७ करोड ७० लाख रुपैयाँ अनुमानित लागत रहेको परियोजना १० तले भवनका रूपमा निर्माण भइरहेको छ ।  झम्सीखेलको परियोजनालाई कम्पनीले प्रिमियम वर्गका ग्राहकलाई लक्षित गरेको छ । शिक्षण संस्था, अस्पताल, बैंक, एटीएम, सपिङ मल तथा खुद्रा पसलको सहज पहुँच हुने स्थानमा निर्माण भइरहेको अपार्टमेन्टमा आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विभिन्न सुविधा राखिएको कम्पनीको भनाइ छ । सामुदायिक बैठक हल, फिटनेस सेन्टर, सीसीटीभीसहितको सुरक्षा, पानी प्रशोधन प्लान्ट, भरपर्दो विद्युत् आपूर्ति, ढल प्रशोधन प्रणाली, स्मार्ट सुविधासहितका युनिट र ईभी चार्जिङ स्टेसन परियोजनाका प्रमुख विशेषता हुन् । तर अपि इन्फ्राले आफ्नो रियल स्टेट यात्रालाई झम्सीखेलमै मात्र सीमित राख्न खोजेको छैन । कम्पनीले त्यसपछि नयाँ बानेश्वरमा मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै अर्को अपार्टमेन्ट परियोजना अघि बढाउने तयारीसमेत गरेको छ । मीनभवन क्याम्पसको ठ्याक्कै अगाडि निर्माण गर्ने लक्ष्य राखिएको उक्त परियोजनामा दुई र तीन बेडरुमका गरी ५३ वटा युनिट रहनेछन् । कम्पनीका अनुसार निर्माणको काम तिहारपछि सुरु गर्ने तयारी छ । घर बनाउन फुर्सद छैन नेपालको सहरी जीवनशैलीमा आएको परिवर्तनले अपार्टमेन्ट बजार विस्तारको सम्भावना बढाएको न्यौपानेको बुझाइ छ । उनका अनुसार अहिलेको पुस्तासँग आफ्नै घर निर्माणको सम्पूर्ण प्रक्रियामा समय खर्च गर्ने फुर्सद कम हुँदै गएको छ । त्यसैले सुविधा सम्पन्न र प्राइम लोकेसनमा तयार आवास खोज्ने प्रवृत्ति बढिरहेको छ । ‘अबको जमाना भनेको घर बनाएर बस्ने मान्छेसँग फुर्सद छैन । हामी आधुनिक युगमा प्रवेश गरिसकेका छौं,’ सञ्चालक न्यौपाने विकासन्युजसँग भने, ‘त्यही भएर मान्छेहरूले सुविधा सम्पन्न प्राइम लोकेसनमा अपार्टमेन्ट खोजिरहेका छन् ।’ यही बदलिँदो मागलाई लक्षित गर्दै कम्पनीले झम्सीखेलमा प्रिमियम र नयाँ बानेश्वरमा तुलनात्मक रूपमा अफोर्डेबल अपार्टमेन्ट निर्माणको रणनीति लिएको हो । ३० प्रतिशत रकमबाटै अपार्टमेन्ट  रियल स्टेट बजारमा ग्राहक आकर्षित गर्ने अर्को पक्ष वित्तीय सुविधा भएको कम्पनीको दावी छ । अपि इन्फ्राले आफ्ना अपार्टमेन्टमा ७० प्रतिशतसम्म बैंक फाइनान्सिङको सुविधा उपलब्ध हुने बताएको छ । कम्पनीका अनुसार कुमारी बैंकबाट ७ वर्षको फिक्स्ड ब्याजदरमा ऋणको सुविधा लिन सकिने व्यवस्था गरिएको छ । यसको अर्थ ग्राहकले करिब ३० प्रतिशत रकमको जोहो गरेपछि बाँकी रकम बैंक ऋणमार्फत व्यवस्थापन गर्न सक्ने प्रस्ताव कम्पनीले अघि सारेको छ । ‘जम्मा ३० प्रतिशत मात्रै तपाईंले पैसा लिएर आउँदाखेरि चाहे बानेश्वर भन्नूस्, चाहे झम्सीखेल भन्नूस्, आफ्नो सपनाको संसार बसाल्न सहकार्य गर्न सक्ने प्रस्ताव हामीले ल्याएका छौं,’ न्यौपाने भन्छन् ।  कम्पनीको दाबी भने यत्तिमै सीमित छैन । रियल स्टेट क्षेत्रमा आफ्नो प्रतिस्पर्धात्मक आधार समयमै निर्माण र हस्तान्तरण बनाउने उसको योजना छ । नेपालमा निर्माण सुरु भएका धेरै अपार्टमेन्ट समयमै सम्पन्न नहुने, हस्तान्तरणमा ढिलाइ हुने तथा खरिदकर्ताले समयमा लालपूर्जा नपाउने गुनासो रहेको भन्दै न्यौपानेले अपि इन्फ्राले त्यसलाई फरक ढंगले सम्बोधन गर्ने दाबी गर्छन् । ‘नेपालमा धेरैवटा अपार्टमेन्टहरू समयमा बनिरहेका छैनन्, समयमा ह्यान्डओभर भएका छैनन्, मान्छेले लालपूर्जा समयमा पाएका छैनन् । हामी त्यो चीजलाई चिर्ने हाम्रो प्रयास हो र हाम्रो कमिटमेन्ट पनि हो,’ उनले विकासन्युसँगको कुराकानीमा भने । ऊर्जा कम्पनी किन पुग्यो रियल स्टेटमा ? अपि पावरका लागि रियल स्टेट पूर्णतः नयाँ क्षेत्र भने होइन, तर व्यवसाय विस्तारको नयाँ अध्याय भने हो । कम्पनीका करिब १ लाख ८० हजारभन्दा बढी सेयरधनी रहेको र नेप्सेमा सूचीकृत सार्वजनिक कम्पनीका रूपमा यसले लगानीका सम्भावित क्षेत्र पहिचान गर्दै व्यवसाय विविधीकरणको रणनीति लिएको न्यौपाने बताउँछन् । जलविद्युत र सौर्य ऊर्जामा लगानी गरिसकेको कम्पनीले अब रियल स्टेटसँगै ठूला पूर्वाधार परियोजनातर्फ पनि सम्भावना खोजिरहेको छ । टनेल रोड, टोल रोडजस्ता पूर्वाधारमा काम गर्ने सम्भावनाबारे कम्पनीले अध्ययन गरिरहेको छ । त्यस्तै, हाइड्रोजनमार्फत इन्धनको विकल्प विकास गर्न सकिन्छ कि भन्ने विषयमा अनुसन्धान तथा विकासको छुट्टै विङमार्फत काम भइरहेको न्यौपाने बताउँछन् । कम्पनीको मूल उद्देश्य भने लगानीको दायरा फराकिलो बनाएर सेयरधनीका लागि प्रतिफलका नयाँ सम्भावना खोज्नु हो । ‘लगानीका लागि मुनाफादायी क्षेत्रहरू सबै दृष्टिकोणबाट पहिचान गर्नुपर्छ । ऊर्जा क्षेत्रमा जलविद्युत ग¥यौं, सोलार ग¥यौं भने अब रियल स्टेटतिर आएका छौं,’ न्यौपानेले भने ।  लो-कस्ट हाउजिङतर्फ पनि नजर अपि इन्फ्राको आगामी योजना प्रिमियम अपार्टमेन्टमा मात्र सीमित छैन । कम्पनीले कम लागतका आवासीय परियोजना अर्थात् लो-कस्ट हाउजिङलाई पनि आफ्नो दीर्घकालीन योजनामा राखेको छ । नेपालमा ठूलो पुँजी नभएका परिवारका लागि पनि व्यवस्थित आवास आवश्यक रहेको भन्दै कम्पनीले भविष्यमा त्यसतर्फ काम गर्ने बताएको छ । ‘साना-साना मान्छेसँग धेरै पुँजी हुँदैन । तर मान्छेहरूलाई पनि गाँस, बासको व्यवस्था त गर्नैप¥यो,’ न्यौपाने भन्छन्, ‘त्यसप्रति हामी टार्गेटका साथ काम गरिरहेका छौं ।’ काठमाडौं उपत्यकाबाहिरका प्रमुख सहरमा पनि कम्पनीले विस्तारको सम्भावना खोजिरहेको छ । पोखरा, विराटनगरलगायत तीव्र रूपमा बस्ती विस्तार भइरहेका सहरमा सरकारसँग सहकार्य गरेर स्मार्ट अपार्टमेन्ट तथा लो–कस्ट हाउजिङ विकास गर्ने उसको योजना छ । बानेश्वरमा अपि टावर आवासीय अपार्टमेन्टसँगै अपि इन्फ्राले व्यावसायिक भवनतर्फ पनि लगानी विस्तार गरेको छ । नयाँ बानेश्वरमा कम्पनीले अपि टावर निर्माण गरिरहेको छ । करिब ४२ करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त टावरमा ३४ प्रतिशत ऋण र ६६ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना बनाइएको छ । टावर निर्माण सम्पन्न भएपछि कर्पोरेट कार्यालयहरूलाई भाडामा दिने कम्पनीको लक्ष्य छ । जग्गा खरिद गरी निर्माण अघि बढाइएको टावर सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसरी अपि इन्फ्राको रियल स्टेट व्यवसाय आवासीय र व्यावसायिक दुवै क्षेत्रमा विस्तार हुँदैछ । रियल स्टेट क्षेत्रमा प्रवेश गरेसँगै कम्पनीले सरकारसँग नीतिगत सुधारको अपेक्षा पनि अघि सारेको छ । घरजग्गा व्यवसायीले जग्गाको हदबन्दी, नक्सा पास, मालपोत, राजस्व तथा करलगायतका विभिन्न प्रक्रियामा समस्या भोग्नुपरेको न्यौपानेको भनाइ छ । विशेषगरी विभिन्न सरकारी निकायमा धाउनुपर्ने प्रक्रियाले परियोजनाको समय र लागत दुवै बढाउने गरेको उनको तर्क छ । ‘काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडिए) जानुपर्ने छ, भवन विभाग जानुपर्ने छ, विभिन्न निकायबाट धाउँदा-धाउँदा अपार्टमेन्ट बनाउन या घरको प्लटिङ गर्न पाउने स्वीकृतिका स्टेपहरू धेरैवटा फड्को भयो,’ उनी भन्छन् ।  त्यसैले घरजग्गा व्यवसायका लागि नक्सा पासदेखि लालपूर्जासम्मको प्रक्रियालाई एउटै प्रणालीबाट सञ्चालन गर्नुपर्ने उनको माग छ । ‘नक्सा पासदेखि लिएर लालपूर्जासम्मका कुरालाई एकद्वार प्रणालीबाट गर्न सकियो भने धेरै हदसम्म समस्या समाधान भएर जान्छ,’ सञ्चालक न्यौपानेले भने । उनले सरकारलाई घरजग्गा व्यवसायीका समस्या र नीतिगत पेचबारे खुला बहस गर्न पनि आग्रह गरेका छन् । हदबन्दी, कर तथा राजस्वका विषयमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।  जलविद्युतपछि आवास र पूर्वाधारमा प्रवेश  अपि पावरको रियल स्टेट प्रवेशलाई कम्पनीको लगानी विविधिकरणको एउटा पाटोका रूपमा हेर्न सकिन्छ । कम्पनीले अहिलेसम्म जलविद्युत तथा सौर्य ऊर्जाका आधा दर्जन आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ । ४० मेगावाटको माथिल्लो चमेलिया, ८.५ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड तथा ४ मेगावाटको चन्द्रपुर सोलारसँगै १/१ मेगावाटका ढल्केबर र सिमरा सोलार परियोजनाबाट कम्पनीले कुल ६२.५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।  त्यसैगरी, कम्पनीले ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेंसी जलविद्युत आयोजनामा पनि अघि बढ्ने तयारी गरेको छ । दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको उक्त आयोजना अपिले एक्वायर गरिसकेको छ । ऊर्जाबाट सुरु भएको अपि पावरको लगानी यात्रा अब आवास, व्यावसायिक भवन र सम्भावित ठूला पूर्वाधारसम्म फैलिने संकेत देखिएको छ । तर रियल स्टेटमा कम्पनीका लागि चुनौती पनि कम छैनन् । निर्माण लागत, वित्तीय व्यवस्थापन, जग्गाको मूल्य, सरकारी स्वीकृति, बजारको माग र समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता परीक्षण हुनेछन् ।  अपि इन्फ्राका सञ्चालक न्यौपाने भने यही चुनौतीबीच कम्पनीले आफ्नो पहिचान बनाउन प्राइम लोकेसन, आधुनिक सुविधा, वित्तीय पहुँच र समयमै हस्तान्तरण गर्न खोजिरहेको बताउँछन् । जलविद्युतबाट सुरु भएको अपि पावरको व्यवसायिक यात्रा अब कंक्रिटका टावर र अपार्टमेन्टसम्म आइपुगेको छ ।