‘पोष्ट डिजास्टर’मा स्थानीय मिडियाको शक्ति

विपद् वा महाविपद् रोक्न सकिँदैन तर यसबाट हुने क्षति न्यूनीकरण गर्न अवश्य सकिन्छ । विपदपछि मानिसलाई सबैभन्दा पहिले के चाहिन्छ ? उद्धार ? राहत ? औषधी ? सुरक्षित ठाउँ ? हो, यी सबै आवश्यक छन् । तर यी सबैभन्दा अघि अर्को एउटा कुरा चाहिन्छ, सही सूचना ।  बाढीको सन्दर्भमा कुरा गर्दा कहाँ बाढी आएको छ ? कुन सडक बन्द छ ? कुन ठाउँ सुरक्षित छ ? उद्धार टोली कहाँ पुगेको छ ? राहत कहाँ वितरण भइरहेको छ ? अस्पतालमा सेवा छ कि छैन ? खोलाको पानी बढ्दै छ कि घट्दै छ ? कसको सूचना विश्वास गर्ने ? जस्ता प्रश्नको उत्तर केही मिनेट ढिला हुँदा पनि त्यसको मूल्य ठूलो हुन सक्छ । गलत हुँदा झन् बढी मूल्य चुकाउनु पर्ने हुन सक्छ । त्यसैले विपद् व्यवस्थापनमा सूचना आफैमा एउटा राहत सामग्री हो, जीवन बचाउने औषधीजस्तै । यसमा स्थानीय मिडियाको भूमिका असाधारण रूपमा महत्त्वपूर्ण हुन्छ । राष्ट्रिय सञ्चारमाध्यम घटनास्थलमा पुग्न केही समय लाग्न सक्छ । अन्तर्राष्ट्रिय मिडियालाई त अझ बढी समय लाग्छ । तर स्थानीय मिडिया वा स्थानीय पत्रकार घटनास्थल, भूगोल र समुदायसँग पहिल्यै जोडिएका हुन्छन् ।  विपद् आउँदा स्थानीय मिडिया घटनास्थलमा पुग्ने होइन, पहिल्यैदेखि मौजुद हुन्छन् । त्यसैले स्थानीय मिडिया विपद्को ‘रिपोर्टर’ मात्र होइन, समुदायको आपतकालीन सूचना प्रणाली पनि हो । विपद्को समयमा प्राकृतिक विपद्सँगै अर्को अदृश्य विपद् पनि फैलिन्छ, त्यो हो अफवाह । ‘बाँध फुट्यो रे ! अझ ठूलो भूकम्प आउँदैछ रे !  फलानो ठाउँमा सबै मानिस बगायो रे ! सरकारले यति हजार मानिसको मृत्यु लुकाइरहेको छ रे ! यस्ता अपुष्ट सूचना सोसल प्लेटफर्म लगायत मिडियाबाट केही मिनेटमै हजारौं मानिससम्म पुग्न सक्छन् । डर र अनिश्चितताले मानिसलाई सूचना जाँच्नुभन्दा पहिले त्यसमा विश्वास गर्न प्रेरित गर्छ । विपद्को समयमा एउटा गलत मिडिया सन्देश, गलत फेसबुक पोस्ट वा भाइरल भिडियोले मानिसलाई भयानक दिशातर्फ लैजान सक्छ । उद्धार गर्नुपर्ने मानिस उल्टै जोखिमपूर्ण ठाउँमा पुग्न सक्छन् । सुरक्षित ठाउँमा बस्नुपर्ने मानिस सडकमा निस्कन सक्छन् ।  अस्पतालमा अनावश्यक भीड बढ्न सक्छ । त्यसैले फेक सूचना कमजोर बनाउनु पनि विपद् व्यवस्थापनकै एउटा काम हो । यसमा स्थानीय मिडियाको भूमिका निर्णायक हुन्छ । स्थानीय मिडियाले अफवाह सुनेर त्यसलाई फेरि समाचार बनाउनुभन्दा पहिले सोध्नुपर्छ, यसको स्रोत के हो ? स्थानीय प्रशासनसँग पुष्टि गर्नुपर्छ ।  प्रहरी, स्वास्थ्य संस्था, स्थानीय सरकार, विपद् व्यवस्थापन समिति, उद्धार टोली र प्रत्यक्षदर्शीसँग क्रसचेक गर्नुपर्छ । पुष्टि नभएको सूचना प्रकाशन प्रसारण नगर्ने अनुशासन कायम गर्नुपर्छ । र अझ महत्त्वपूर्ण कुरा अफवाहलाई केवल बेवास्ता गर्नु पर्याप्त हुँदैन । गलत सूचना फैलिरहेको छ भने त्यसलाई तथ्यसहित खण्डन गर्नुपर्छ । ‘यो सूचना गलत हो’ भन्नु मात्र पर्याप्त हुँदैन । किन गलत हो ? सही तथ्य के हो ? आधिकारिक स्रोत के हो ? नागरिकले अब के गर्ने ? यी प्रश्नको उत्तर पनि दिनुपर्छ ।  यसपालीको रसुवा नुवाकोट बाढीको उत्पत्तिको कथा फरक छ । त्यसको व्यथा झन् लेखिसाध्य छैन । त्रिशूली र भोटेकोशी नदी प्रणालीमा हिमनदीको ठूलो टुक्रा भाँचिएर खसेपछि उत्पन्न भएको यस विपत्तिले हालसम्म १५ सय भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौंको संख्यामा  बेपत्ता छन् । मृतक र बेपत्ता हुनेमा नेपाली नागरिकका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसियालगायत दर्जनौं मुलुकका पर्यटक र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू पनि परेका छन् ।  घटनाको गम्भीरता र यसको अन्तर्राष्ट्रिय प्रकृतिका कारण विश्वका मिडियाहरूले यसलाई प्राथमिकताका साथ रिपोर्ट गरिरहेका छन् ।  यस्ता विपद्को कहरको पीडा विभिन्न हिसाबले भयानक हुन्छ । जनधन, भौतिक पूर्वाधार, स्वास्थ्य, खाद्यान्न, यातायात अनेक क्षेत्रमा यसको असर हुन्छ । यी विपद्का बाछिटासँगै सही सूचनाको अभाव र खराब सूचनाको लर्कोबीच समाजमा अनेक थरि अफवाह अर्थात् ‘र्युमर’ चल्ने गर्दछन् । जसले विपद् पछिको कहरसँग जुध्न तयार हुँदै गरेको मनोविज्ञानलाई थप ‘थरथर’ बनाइदिन्छन् ।  २०७२ को भूकम्पका बेलाको एउटा अफवाह सम्झौं । पङ्तिकारको उक्त अनुभव अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुनसक्छ ।  वैशाख १२ गते शनिबारको दिन बिहान ११ बजेर ५५ मिनेटमा नेपालगन्जमा पनि भूकम्पले मज्जैले हल्लायो । घरको तेस्रो तलामा आमा र म थियौं । सावधानीपूर्वक भागेर बारीमा पुग्यौं । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प आएको रहेछ । विस्तारै काठमाडौंमा भयानक क्षति भएको खबर थाहा पाएपछि म मेरो विदाको दिन भए पनि तत्काल एफएम पुगेँ ।  कृष्णसार जत्तिकै तेज....नाराका साथ स्थापित कृष्णसार एफएमको पहिचान नै बनेको थियो कि हरेक विपद वा उत्सवमा अझ बढि स्रोता सहभागिता सहितका सामग्री पस्कने ।  दिउँसो १ बजेको समाचारमा ‘लाइभ कल’हरू लिने तत्काल निष्कर्ष निकाल्यौं र सुरुमा म नै ‘अन एअर’ गएँ । भूकम्पबाट आफ्नो, वरपर र छिमेकीमा परेको प्रभाव वा काठमाडौंमा रहेका आफन्तको अवस्था, समस्या आदि विषयमा स्रोताहरुको कल लिने र जानकारी दिनका लागि काठमाडौंमा रहेका निकटका सञ्चारकर्मीसमेत स्रोत व्यक्तिहरूसँग कुराकानी गर्ने योजनाका साथ काम गरिरहेका थियौं ।  बाँकेको खजुराबाट एउटा फोन आयो– ‘खानेपानीको धाराबाट रातो रगत मिसिएको पानी आयो । त्यो पानी खाएर एउटा बालकको मृत्युसमेत भयो ।’ तराईंतिर अधिकांश पिउने पानीको स्रोत जमीनमुनि धारा गाडेर हातले चलाएर तान्ने हो । यस्ता धारालाई कतै चापाकल कतै नल्का, बम्बा पनि भन्ने चलन छ ।  यो खबर ती स्रोताले सुनाउनेबित्तिकै विषयान्तर गर्दै तपाईंलाई हामी ‘अफलाइन’मा कल गर्छौं, यो हल्ला मात्रै हुन सक्छ । यसको विस्तृत र सही खबर पत्ता लगाएर हामी जानकारी दिइरहनेछौं भनेर केहीबेर ‘ब्रेक’ लिएँ । तर, यो भयानक खबर लाग्यो । हामी एफएममा रहेका सबै जना आत्तियौं । एफएम पछाडिको धारातिर ध्यान गयो । तर, कार्यालयमा खानेपानी संस्थानकै धाराको पानी पर्याप्त हुने भएकाले उहिल्यै बन्द भएकाले पानी तान्न पाइने कुरै भएन । सुरक्षा गार्डले भूकम्प आइरहेका बेला पाइप निकै जोडले सुसाएको बताए ।  तत्काल बाँकेको जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही अधिकारकर्मीहरूलाई खबर गरें । सबैले बुझेर खबर गर्छौं भनेपनि कसैले गम्भीरतापूर्वक लिएको पाइएन । जबकि बाँके र बर्दियाका गाउँगाउँमा यस्तो हल्लाले त्राहिमाम बनाइसकेको रहेछ ।  गाउँमा पानी किनेर कहिल्यै नखाने मानिसले पनि पसलमा जार, बोतल जे पाइन्छ किन्दै घरघरमा थुपारेछन् । ससाना बजारमा यात्रुहरूका लागि बिक्रीका लागि राखिएको पानी सकिएर हाहाकार भैसकेको जानकारी विभिन्न स्रोतबाट पुष्टि भयो ।  जमिनमा गाडेका धारामा रातो पानी आउनाको कारण स्थानीय कसैले बताउन नसक्ने देखियो । अनि झट्ट भूकम्प प्रविधि राष्ट्रिय महासंघ (एनसेट)को याद आयो । भूकम्प लगायतका विपदका बारेमा यो संस्थासँग मिलेर हामीले रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका थियौं । एनसेटका एडभोकेसी म्यानेजर खड्गसेन वलीलाई फोन गरेर धाराबाट रातो पानी आएपछिको त्रास बताएँ । उहाँले टीममा सल्लाह गरेर खबर गर्छु भन्नु भयो ।  रेडियोबाट ‘लाइभ’मा हामीले धारामा रातो पानी आउनुको कारण पत्ता लगाउन कोशिस जारी राखेको बताउँदै स्रोताहरूलाई नआत्तिन अपील गरिरहेका थियौं । रातो पानीले बच्चा मरेको खबर पनि गलत भएको सूचना दियौं । धाराको पानी खानु अनि बच्चा बिरामी हुनु संयोग परेपछि स्थानीयले अनुमानका आधारमा त्यस्तो हल्ला चलाएको तथ्य संकलन गरी हामीले प्रत्यक्ष प्रसारणमा जानकारी दियौं ।  रातो पानी लगभग बाँके बर्दियाका अधिकांश जमीनमुनिबाट पानी तान्ने धाराबाट आएको रहेछ । एकातिर भूकम्पको डर अर्कोतिर खानेपानीका बारेमा फैलिएको हल्लाले हामीलाई समेत बेचैन बनाइरहेको थियो ।  फिल्डमै गएर बुझ्नु पर्ने टुंगोमा पुगेर इन्सेकका क्षेत्रीय प्रमुख भोला महतलाई खजुरा क्षेत्रको स्थलगत अध्ययनमा जान प्रस्ताव गरें । केही सञ्चारकर्मीसँगै हामी उहाँकै गाडीमा त्यसतर्फ लाग्यौं । अधिकांश घरका धारामा रातोपानी आएको सुनियो । हामी खजुराबाट अलिपर पुगेर उत्तर दिशा हुँदै कोहलपुर भएर नेपालगन्ज फर्कने निधो गरेर अघि बढ्यौं ।  मलाई आफैले धारा चलाएर रातो पानी आएको हेर्न मन लाग्यो । एउटा घरमा आँगनमै धारा देखेपछि नजिकै सडकमा गाडीबाट ओर्लेर मैले धारा चलाएँ । सुरुमा रातो, अनि हल्का पहेँलो जस्तो पानी आए पनि धेरैवेर चलाउँदा पछि विस्तारै सफा पानी आउन थाल्यो । हामी अचम्मित हुँदै अघि बढ्यौं ।  एनसेटबाट खड्गसेन वलीको फोन आयो । उहाँले यस्तो विदेशतिर कतै पनि नदेखिएको नौलो घटना भएको बताउनु भयो । तर, भूकम्प र जमीनमुनिको पानीबीच कुनै सम्बन्ध नभएको भन्दै आफ्नो टीमले जमीनमुनिको पानीको पाइपको वर्षौं पुरानो खियाका कारण पानी रातो आएको अनुमान गरेको बताउनु भयो ।  जति पुरानो पाइप उति खिया बढी हुने हुनाले रातो पानी आएको हुन सक्ने भन्दै भूकम्पका बेला जसरी जमीन माथि हल्लायो त्यो भन्दा बढ्ता जमीनमुनि हल्लाउने भएकाले पाइपको खिया उत्रिएर रातो पानी आएको हुन सक्ने टीमको निष्कर्ष रहेको उहाँले सुनाउनु भयो । लगातार पानी चलाउँदा पुनः सफा पानी आउन सक्ने उहाँको भनाइ थियो ।  उहाँको कुरा तार्किक रहेकाले मैले ६ बजेको समाचारमा ‘लाइभ’मा यही कुरा राखिदिन आग्रह गरेँ । र, खेतैखेतको शान्त बाटोमा गाडी रोकेर मैले दिउँसो ४ र ५ बजेको समाचारमा चाहिँ आफैले उहाँको भनाइ उद्धृत गर्दै पानी रातो आउनुको कारण ‘लाइभ’ दिएँ ।  यसरी विस्तारै धारामा पानी रातो आउनुको कारणसहितको विस्तृत खबर दिए पछि मानिसहरू आश्वस्त भए र एउटा ठूलो विपदका बेला उठेको अफवाह अर्थात् ‘र्युमर’को पटाक्षेप केहि घण्टामै गर्न सकियो ।  स्थानीय रेडियो तथा सामुदायिक सञ्चारले स्थानीय भूगोल, स्थानीय आवश्यकता र समुदायको अवस्थाअनुसार सूचना प्रवाह गर्न सक्छन् । ठूलो राष्ट्रिय प्रसारणले ‘फलानो क्षेत्रमा खतरा’ भन्न सक्छ । स्थानीय मिडियाले त्यसलाई अझ उपयोगी बनाउन सक्छ, ‘यो गाउँका मानिसले कुन बाटो प्रयोग गर्ने, कुन विद्यालयमा अस्थायी आश्रय छ, कुन नम्बरमा सम्पर्क गर्ने’ भनेर । यही स्थानीयकरणले सूचनालाई समाचारबाट व्यवहारिक निर्देशनमा बदल्छ । विपदमा मिडिया सूचना प्रसारण गर्ने एकतर्फी पाइप मात्र होइन, समुदाय र राज्यबीचको दुईतर्फी पुल पनि हो । स्थानीय नागरिकले ‘हाम्रो टोलमा पानी पस्यो’, ‘यहाँ वृद्ध र बालबालिका अलपत्र छन्’, ‘यहाँ राहत पुगेको छैन’ भन्न पाउने ठाउँ चाहिन्छ । स्थानीय मिडियाले ती आवाजलाई प्रमाणित गरेर सम्बन्धित निकायसम्म पुर्‍याउन सक्छन् । यदि रेडियो स्टेशनको भवन डुब्यो भने ? विद्युत् गयो भने ? इन्टरनेट बन्द भयो भने ? पत्रकार आफै प्रभावित भए भने ? स्टुडियोमा क्षति पुग्यो भने ? स्थानीय मिडियाले यस्ता प्रश्नको उत्तर विपद् आउनुअघि नै खोज्नुपर्छ । ब्याकअप विद्युत्, वैकल्पिक इन्टरनेट, आवश्यक उपकरण, सम्पर्क सूची, आपत्कालीन प्रसारण योजना र वैकल्पिक कार्यस्थलजस्ता विषय अब स्थानीय मिडियाको प्रसारण सुनिश्चितता योजनाको हिस्सा बन्नुपर्छ । किनभने विपद्मा मिडिया चलिरहनु पनि विपद् प्रतिकार्यको एउटा अंग हो । नेपालजस्तो भौगोलिक रूपमा जटिल र डिजिटल पहुँच समान नभएको देशमा स्थानीय रेडियोको भूमिका अझ महत्त्वपूर्ण छ । मोबाइलको ब्याट्री सकिन सक्छ । इन्टरनेट बन्द हुन सक्छ । फेसबुकमा गलत सूचना भाइरल हुन सक्छ । तर रेडियोले न्यूनतम स्रोतमा पनि ठूलो समुदायसम्म सूचना पुर्‍याउन सक्छ । विशेषगरी स्थानीय भाषामा, स्थानीय उच्चारणमा र स्थानीय भूगोल बुझेर गरिएको प्रसारणको प्रभाव फरक हुन्छ ।  ‘नदीको जलस्तर बढेको छ’ भन्नेभन्दा स्थानीय रेडियोले भन्न सक्छ, ‘फलानो पुल नजिकको बस्तीका नागरिक सुरक्षित स्थानतर्फ जानुहोस् ।’ यही अन्तरले सूचना र जीवनरक्षाबीचको दूरी निर्धारण गर्न सक्छ । स्थानीयले वुझ्ने भाषामा यस्तो सूचना दिन सकियो भने मात्र प्रभाकारी हुन्छ ।  स्थानीय मिडिया आफै पनि सावधान हुनुपर्छ । विपद्को समयमा पत्रकारलाई पनि ठूलो दबाब हुन्छ । छिटो समाचार दिनुपर्ने प्रतिस्पर्धा हुन्छ । सामाजिक सञ्जालमा आएको सामग्री तुरुन्तै प्रयोग गर्ने लोभ हुन्छ । तर विपद् पत्रकारितामा पहिलो हुनु भन्दा सही हुनु महत्वपूर्ण हुन्छ ।  एउटा गलत संख्या, एउटा गलत स्थान वा एउटा गलत उद्धरणले हजारौं मानिसलाई प्रभावित गर्न सक्छ । त्यसैले स्थानीय मिडियाले कम्तीमा तीन प्रश्नलाई आफ्नो सम्पादकीय अनुशासन बनाउनुपर्छः स्रोत के हो ? पुष्टि कसरी भयो ? यो सूचना सार्वजनिक गर्दा कसलाई के असर पर्छ ? विशेषगरी मृत्यु, बेपत्ता, उद्धार, स्वास्थ्य जोखिम र बालबालिकासम्बन्धी सूचना प्रकाशन गर्दा थप संवेदनशीलता आवश्यक हुन्छ । पीडितको फोटो खिच्नु र उसको पीडा देखाउनु पत्रकारिता हुन सक्छ । तर पीडालाई सनसनीमा बदल्नु पत्रकारिता होइन ।   विपद्को समयमा मानिसले सबैभन्दा पहिले परिचित र विश्वासिलो आवाज खोज्छ । त्यो आवाज स्थानीय रेडियोको हुन सक्छ । स्थानीय पत्रकारको हुन सक्छ । स्थानीय सञ्चार माध्यम वा पत्रकारको सोसल प्लेटफर्म हुन सक्छ । त्यसैले वर्षभरि समुदायसँग विश्वसनीय सम्बन्ध बनाएको स्थानीय मिडियाले विपद्को समयमा ठूलो सामाजिक पुँजी प्रयोग गर्न सक्छ । यस्तो विश्वास एकै दिनमा बन्दैन । र एउटा गलत सूचनाले त्यसलाई एकै दिनमा भत्काउन सक्छ । त्यसैले स्थानीय मिडियाका लागि विश्वसनीयता नै सबैभन्दा ठूलो विपद् पूर्वतयारी हो । विपद् पत्रकारितालाई नियमित पत्रकारिताभन्दा अलग तयारी चाहिन्छ । स्थानीय मिडियाले आफ्नो क्षेत्रमा जोखिमको नक्सा बनाउन सक्छ । सम्भावित बाढी, पहिरो, आगलागी, महामारी वा अन्य जोखिम क्षेत्र पहिचान गर्न सक्छ । स्थानीय सरकार, प्रहरी, अस्पताल, एम्बुलेन्स, रेडक्रस, उद्धार टोली, स्वयंसेवक र अन्य सरोकारवालाको आपतकालीन सम्पर्क सूची तयार राख्न सक्छ ।  त्यस्तै, ‘फेक सूचना आएको अवस्थामा के गर्ने ?’ भन्ने आफ्नै प्रोटोकल बनाउन सक्छ । सामाजिक सञ्जालका पोस्टलाई स्रोत मान्ने कि प्रमाणित भएपछि मात्र प्रयोग गर्ने ? भाइरल भिडियोको स्थान र समय कसरी जाँच्ने ? आधिकारिक सूचना र प्रत्यक्षदर्शीको सूचनाबीच कसरी क्रसचेक गर्ने ? गलत समाचार प्रकाशित भएपछि कति छिटो र कसरी सच्याउने ? यी प्रश्नको उत्तर विपद् आउनुअघि नै तय हुनुपर्छ । विपद्को समयमा मानिसलाई केवल समाचार चाहिँदैन । उसलाई दिशा चाहिन्छ । उसलाई विश्वास गर्न मिल्ने आवाज चाहिन्छ । उसलाई के भइरहेको छ ? भन्दा पनि अब मैले के गर्ने ? भन्ने प्रश्नको उत्तर चाहिन्छ । स्थानीय मिडियाको वास्तविक परीक्षा यहीँ हुन्छ । विपद् आउँदा स्थानीय मिडियाले सरकारको सूचना पढेर सुनाउने मात्र होइन, त्यसको सत्यता जाँच्न सक्नुपर्छ ।  सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई तथ्यले चुनौती दिनुपर्छ । फेक सूचनालाई कमजोर बनाउनुपर्छ । प्रभावित नागरिकको आवाजलाई ठाउँ दिनुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण सही सूचना सही समयमा सही मानिससम्म पुर्‍याउनुपर्छ । किनभने विपद्को समयमा गलत सूचना आफैमा एउटा विपद् हो । र त्यसको प्रतिरोध गर्ने सबैभन्दा प्रभावकारी औजारमध्ये एउटा हो, विश्वसनीय स्थानीय मिडिया ।  त्यसैले ‘सही समयमा सही सूचना’ विपद् जोखिम व्यवस्थापनका लागि एक महत्त्वपूर्ण चाबी हो । यो चाबीको सदुपयोग गर्ने दायित्व हामी सबैको हो । 

अन्तर्राष्ट्रिय मिडियामा नेपालको बाढी : सचेतनाको बिगुलदेखि खतराको चेतावनीसम्म

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि यसको प्रभाव नेपालको सीमाभित्र मात्र सीमित रहेन । रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले पु¥याएको क्षति, ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता, जलविद्युत् आयोजनामा फसेका कामदारको उद्धार र भौतिक पूर्वाधारमा भएको विनाशलाई विश्वका प्रमुख सञ्चारमाध्यमले प्राथमिकताका साथ कभर गरिरहेका छन् । घटना भएको केही दिनसम्म अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य ध्यान मृत्यु, बेपत्ता तथा उद्धारमा केन्द्रित देखिए पनि पछिल्ला रिपोर्टहरूमा यसको दायरा फराकिलो हुँदै गएको छ । अहिले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय मिडियाले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम, हिमनदीको अस्थिरता, पूर्वसूचना प्रणालीको कमजोरी र विपद् व्यवस्थापनको चुनौतीसँग जोडेर विश्लेषण गर्न थालेका छन् । अमेरिकी समाचार संस्था रोयटर्सले नेपालको बाढीसम्बन्धी पछिल्लो रिपोर्टमा उद्धार कार्यसँगै भविष्यमा यस्ता विपत्तिबाट कसरी जोगिने भन्ने विषयलाई प्राथमिकता दिएको छ । रोयटर्सका अनुसार नेपालले चीनसँगको सीमाक्षेत्रमा बाढीको पूर्वसूचना प्रणाली पुनर्निर्माण गर्ने तयारी गरिरहेको छ । रसुवाको टिमुरे क्षेत्रमा स्थापना गरिएको पुरानो पूर्वसूचना प्रणाली बाढीका कारण नष्ट भएपछि नयाँ प्रणाली निर्माणको तयारी भइरहेको रोयटर्सले जनाएको छ । प्रस्तावित प्रणालीमा भूकम्पीय सेन्सर, क्यामेरा र मोबाइल नेटवर्क अवरुद्ध भएको अवस्थामा समेत सूचना सम्प्रेषण गर्न सक्ने भीएसएटी स्याटेलाइट लिंक राखिने तयारी छ । रोयटर्सको यो कभरेजले नेपालको बाढीसम्बन्धी अन्तर्राष्ट्रिय समाचारको प्राथमिकता विस्तार भएको संकेत गर्छ । घटना भएको तत्कालीन समयमा मृत्यु र उद्धार मुख्य विषय भए पनि अहिले प्रश्न ‘यस्तो विपत्ति फेरि आयो भने त्यसअघि नै मानिसलाई कसरी सचेत गराउने ?’ भन्नेतर्फ केन्द्रित भएको छ । रोयटर्सले अर्को रिपोर्टमा विपत्तिको एक सातापछि पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजी जारी रहेको र उद्धारकर्ताहरू कठिन परिस्थितिमा काम गरिरहेको उल्लेख गरेको छ । समय बित्दै जाँदा जीवित व्यक्ति भेटिने सम्भावना कमजोर बन्दै गए पनि खोज तथा उद्धार अभियानलाई अन्तिम आशाका रूपमा निरन्तरता दिइएको रिपोर्टमा उल्लेख छ । बेलायती सञ्चार माध्यम बीबीसीले नेपाल-तिब्बत सीमामा रहेको दुर्गम व्यापारिक नाका र त्यस वरपरको विनाशलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गरेको छ । बाढीले सडक, पुल, बस्ती तथा व्यापारिक पूर्वाधारमा पु¥याएको क्षतिसँगै ठूलो संख्यामा मानिस बेपत्ता भएको अवस्थालाई बीबीसीले घटनाको गम्भीर पक्षका रूपमा उठाएको छ । पछिल्लो रिपोर्टिङमा हजारौँ मानिस अझै सम्पर्कविहीन रहेको र उद्धार तथा खोजी अभियान जारी रहेको उल्लेख छ । बीबीसीको भिडियो सामग्रीले घटनाको दृश्य प्रभाव र जमिनमा देखिएको विनाशलाई प्राथमिकता दिएको छ भने उसका समाचार सामग्रीले विपद्को मानवीय र भौगोलिक पाटोलाई थप व्यापक सन्दर्भमा राखेको देखिन्छ । यसले नेपालमा भएको घटनालाई एउटा स्थानीय विपद् मात्र नभई हिमाली क्षेत्रमा बढ्दो जोखिमको उदाहरणका रूपमा अन्तर्राष्ट्रिय बहसमा ल्याएको छ । यस्तै, बेलायती सञ्चारमाध्यम गार्जियनले नेपालको बाढीलाई मुख्यतः मानवीय त्रासदीको कोणबाट प्रस्तुत गरेको छ । उसका रिपोर्टहरूमा मृत्यु तथा बेपत्ताको संख्या मात्र होइन, बाढीबाट घरबार गुमाएका परिवार, आफन्तको खोजीमा रहेका मानिस र ध्वस्त भएका बस्तीको अवस्थालाई समाचारको केन्द्रमा राखिएको छ । गार्जिएनको स्थलगत रिपोर्टिङमा बाढीले सडक, पुल, घर तथा अन्य पूर्वाधार बगाएपछि प्रभावित क्षेत्रका मानिसको दैनिकी कसरी अस्तव्यस्त भएको छ भन्ने चित्रण गरिएको छ । कतिपय स्थानमा उद्धार तथा राहत सामग्री पु¥याउनसमेत कठिन भएको रिपोर्टमा उल्लेख छ । गार्जिएनले रसुवाको जलविद्युत् आयोजनाहरुमा फसेका कामदारको खोजीलाई पनि प्रमुखताका साथ उठाएको छ । सुरुङभित्र रहेका मानिससम्म पुग्न उद्धार टोलीले गरिरहेको प्रयासलाई उसले मानवीय आशा र निराशाबीचको संघर्षका रूपमा प्रस्तुत गरेको छ । यसअघि प्रकाशित गार्जियनको अर्को स्थलगत सामग्रीले बाढीमा घर र आफन्त गुमाएका मानिसको व्यक्तिगत प्रोफाइल समेटेको थियो । त्यसमा बाढीबाट बचेका मानिसहरूको पीडालाई प्रत्यक्ष अनुभव र स्थानीयका भनाइमार्फत प्रस्तुत गरिएको छ । यसले ठूलो प्राकृतिक विपत्तिलाई अन्तर्राष्ट्रिय पाठकसम्म पु¥याउन व्यक्तिगत पीडा र मानवीय कथालाई शक्तिशाली पत्रकारिताको माध्यम बनाएको देखिन्छ । कतारस्थित अल्जजिराले नेपालको बाढीलाई निरन्तर फलोअप गरिरहेको छ । यसको रिपोर्टिङमा पनि मृत्युको तथ्यांकसँगै प्रभावित परिवारका व्यक्तिगत कथाहरु प्राथमिकतामा छन् । अल्जजिराले आफ्नो एक रिपोर्टमा बेपत्ता छोराको खोजीमा बाबुले दिनौंसम्म यात्रा गरेको कथा प्रस्तुत गरेको छ । छोराको अवस्था पत्ता लगाउन पैसा सापटी लिएरसमेत प्रभावित क्षेत्रमा पुगेका बाबुको कथामार्फत उसले बाढीको वास्तविक मानवीय मूल्य देखाउने प्रयास गरेको छ । यो रिपोर्टिङ शैलीले विपत्तिको आकारलाई फरक ढंगले प्रस्तुत गर्छ । हजारौं मानिस बेपत्ता भएको तथ्यांक आफैंमा ठूलो समाचार हो, तर एउटा परिवारले आफ्नो सदस्यको खोजीमा भोगेको पीडालाई केन्द्रमा राख्दा अन्तर्राष्ट्रिय पाठकका लागि त्यो संकट अझ जीवन्त बन्न पुग्छ । अल्जजिराले बाढीपछि घर फर्किएका मानिसहरूको अवस्थालाई पनि भिडियो रिपोर्टमार्फत देखाएको छ । हिलो र भग्नावशेषले भरिएका घरभित्र मानिसहरू बाँकी रहेका सामान खोजिरहेको दृश्यलाई उसले समाचारको विषय बनाएको छ । जर्मनीको सञ्चार माध्यम डीडब्लूले नेपालको बाढीलाई अझ फराकिलो जलवायु परिवर्तनको सन्दर्भमा प्रस्तुत गरेको छ । डीडब्लूको रिपोर्टिङमा मुख्य प्रश्न तत्कालीन बाढीको क्षतिभन्दा पनि हिमनदी पग्लिँदै जाँदा हिमाली समुदायलाई कसरी सुरक्षित राख्ने ? भन्नेमा केन्द्रीत छ । तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा हिमनदी अस्थिर बन्ने र त्यसबाट अचानक ठूलो मात्रामा पानी, बरफ, माटो तथा चट्टान बग्ने जोखिम बढिरहेको विषयलाई यसले उठाएको छ । यस्तो अवस्थामा नेपालजस्ता हिमाली मुलुकमा परम्परागत बाढी पूर्वानुमान प्रणाली मात्र पर्याप्त नहुन सक्ने संकेत रिपोर्टले गरेको छ । अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले पनि नेपालको बाढीलाई जलवायु परिवर्तनसँग जोडेर रिपोर्टहरु सम्प्रेषण गरिरहेको छ । यसको रिपोर्टको केन्द्रमा नै जलवायु परिवर्तनका कारण हिमनदीसँग सम्बन्धित विपत्तिको जोखिम बढिरहेको चिन्ता राखिएको छ । रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै हिमाली क्षेत्रमा हिमनदी तथा पहाडी भूभाग अस्थिर बन्दै जाँदा पहिरो, आकस्मिक बाढी र अन्य विपद्को जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ । एबीसी न्युजले नेपालको बाढीलाई केवल नेपालको आन्तरिक समस्या मानेको छैन । हिमालय क्षेत्रमा देखिएको यो जोखिम भविष्यमा विश्वका अन्य हिमाली समुदायका लागि समेत चेतावनी हुन सक्ने सन्देश उसको रिपोर्टिङमा देखिन्छ । दी न्यू ह्युम्यानिट्रेनले नेपालको बाढीके घटनालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेको छ । उसको विश्लेषणको शीर्षक नै दि हिमालयन डिजास्टर नेपाल कुड नट सी कमिङ अर्थात् ‘नेपालले आउँदै गरेको देख्न नसकेको हिमाली विपत्ति’ भन्ने छ । रिपोर्टले अचानक आएको बाढीले स्थानीय समुदायलाई प्रतिक्रिया जनाउने पर्याप्त समय नदिएको अवस्थालाई जोड दिएको छ । यो रिपोर्टिङको महत्वपूर्ण पक्ष विपत्ति आफैंभन्दा विपद् आउनुअघि राज्य र समुदाय कति तयार थिए ? भन्ने प्रश्न हो । विशेषगरी दुर्गम हिमाली क्षेत्रमा पूर्वसूचना, सञ्चार संयन्त्र, उद्धार पहुँच र जोखिमबारे स्थानीय समुदायलाई जानकारी दिने प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न यसले उठाएको छ । अन्तर्राष्ट्रिय मिडियाको पछिल्लो कभरेजलाई क्रमिक रूपमा हेर्दा एउटा स्पष्ट परिवर्तन देखिन्छ । बाढी आएको सुरुवाती समयमा समाचारको केन्द्रमा मृत्यु, बेपत्ता, उद्धार र तत्कालीन क्षति थिए । तर, समय बित्दै जाँदा रिपोर्टिङको विषयवस्तु परिवर्तन भएको छ ।  जलविद्युत् सुरुङमा फसेका कामदार, परिवारका सदस्यको खोजी, ध्वस्त पूर्वाधार, विदेशी नागरिकको अवस्था र राहतसँगै अहिले पूर्वसूचना प्रणाली, हिमनदीको अस्थिरता, जलवायु परिवर्तन र दीर्घकालीन जोखिमले बढी स्थान पाउन थालेका छन् । यसले नेपालको बाढीलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले एउटा स्थानीय विपत्तिका रूपमा मात्र नभई हिमालयमा विकसित भइरहेको सम्भावित दीर्घकालीन संकटको उदाहरणका रूपमा हेर्न थालेको देखाउँछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको कभरेज तुलना गर्दा एउटै घटनालाई उनीहरूले फरक पत्रकारिताको ‘फ्रेम’बाट प्रस्तुत गरेको देखिन्छ । रोयटर्सले उद्धार र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको छ भने गार्जियनले मानवीय पीडा र प्रभावित परिवारको कथालाई पस्केको छ । अल्जजिराले व्यक्तिगत कथा र बेपत्ता आफन्तको खोजीलाई केन्द्रमा राखेको छ । त्यसैगरी एबीसी न्युजले जलवायु परिवर्तन तथा हिमनदीसँग जोडिएको जोखिमलाई मुख्य विषय बनाएको छ भने दि न्यू ह्युम्यानिटारियनले विपद् पूर्वतयारी र मानवीय संकटको संरचनात्मक पक्षमाथि प्रश्न उठाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उठाएका प्रश्न नेपालका लागि पनि उत्तिकै महत्वपूर्ण छन् । जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि हिमाली भूगोलका कारण जलवायुजन्य जोखिमको असर भने नेपालले गम्भीर रूपमा भोगिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जोखिमयुक्त बस्तीको पहिचान, नदी तथा हिमनदीको निरन्तर निगरानी, प्रभावकारी पूर्वसूचना प्रणाली, स्थानीय तहसम्म तत्काल सूचना पु¥याउने संयन्त्र, सुरक्षित पूर्वाधार तथा नेपाल–चीनलगायत सीमापार सूचना आदानप्रदानलाई थप बलियो बनाउनुपर्ने उल्लेख गरेका छन् ।  हिमालमा बदलिँदो जलवायु, अस्थिर हिमनदी, आकस्मिक विपद् र त्यससँग जुध्नुपर्ने नेपालको तयारीका विषयमा पनि अन्तर्राष्ट्रिय मिडियाहरुले महत्वका साथ उल्लेख गरेका छन् । 

२ सय बढी होटलमा क्षति, पर्यटन क्षेत्रमा ठूलो धक्का

काठमाडौं । नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको बाढीले पनि पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ । पर्यटकीय सिजन सुरु हुनै लागेका बेला आएको यो महाविपत्तिका कारण पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । बाढीका कारण पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुका साथै पर्यटकको आवागमन र बुकिङमा समेत प्रत्यक्ष असर परेको छ । पर्यटन क्षेत्र शान्ति, सुरक्षा र स्थायित्वसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । तर, नेपालमा यही क्षेत्र हरेक वर्ष प्राकृतिक विपत्तिसँगै आन्दोलन, राजनीतिक तथा सामाजिक अस्थिरताको मारमा पर्दै आएको छ ।  यसपटक पनि बाढीका कारण धेरै आन्तरिक तथा विदेशी पर्यटक बेपत्ता भएका छन् भने केहीको दुःखद निधन भएको छ । पर्यटकको स्वागत र आतिथ्यमा जुट्नुपर्ने समयमा पर्यटकीय गन्तव्यहरू अहिले उद्धार, खोजी र शोकको केन्द्र बनेका छन् । बाढीका कारण प्रभावित क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो भौतिक क्षति पुगेको छ ।  होटल व्यवसायी महासंघ नेपालको प्रारम्भिक प्रतिवेदनअनुसार रसुवामा १०० भन्दा बढी, धादिङमा करिब ४०, गोरखामा ७ र अन्य क्षेत्रमा ५५ गरी करिब २०७ वटा होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन् । प्रभावितमध्ये करिब ६५ वटा रेस्टुरेन्ट छन् भने १२९ वटा होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य प्रभावित व्यवसायमा आंशिक क्षति पुगेको छ । प्रारम्भिक तथ्यांकअनुसार करिब २ हजार २०० होटलका कोठा पूर्ण रूपमा नष्ट भएका छन् । टिकट पोस्टपोन्ड गर्दै पर्यटक नेपालमा आएको विनाशकारी बाढीको समाचार सञ्चारमाध्यमदेखि विभिन्न सामाजिक सञ्जालमार्फत स्वदेश तथा विदेशसम्म फैलिएको छ । बाढीसम्बन्धी समाचारका कारण पर्यटकहरूले नेपाल भ्रमणलाई असुरक्षित महसुस गर्न थालेको स्वा टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशक जिस्वान तुलाधरले बताइन् ।  ‘मिडियामा आएका समाचारका कारण पर्यटकहरूले नेपाललाई सुरक्षित महसुस नगर्दा अहिले बुकिङ रद्दभन्दा पनि पोस्टपोन क्रम बढेको छ,’ उनले भनिन् । उनका अनुसार नेपाल आइसकेका पर्यटकहरूले भने आफ्नो भ्रमणलाई निरन्तरता दिइरहेका छन् । तुलाधरका अनुसार यसपटक कैलाश मानसरोवर जाने पर्यटकको मुख्य सिजनमै विपद् परेकाले उक्त पर्यटनमा शतप्रतिशत असर परेको छ । नेपाल आएर कम्तीमा तीनदेखि चार रात बसेर कैलाश जाने पर्यटकको मुख्य सिजन सेप्टेम्बरको मध्यदेखि अन्त्यसम्म चल्ने गर्छ ।  कैलाश जाने पर्यटकमा गैरआवासीय नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या उल्लेख्य हुने उनले बताइन् ।  ‘कैलाशको धार्मिक भ्रमण रद्द हुँदा नेपाल आउने पर्यटक आगमनमा करिब ३० प्रतिशतसम्म असर परेको छ,’ तुलाधरले भनिन् ।  यसको प्रभाव आगामी वर्षको पर्यटनमा समेत पर्न सक्ने देखिएको उनको भनाइ छ । बाढीका कारण नियमित ट्रेकिङ गन्तव्यहरू समेत प्रभावित भएको उनले बताइन् ।  मनाङ, मुस्ताङलगायतका क्षेत्रमा साहसिक तथा धार्मिक पर्यटनमा समेत ठूलो प्रभाव परेको उनले बताइन् । अन्तर्राष्‍ट्रिय स्तरमा नकारात्मक सन्देश  अहिले घटनाले अन्तर्राष्ट्रिय बजारमो ‘सिंगो नेपाल नै असुरक्षित’ रहेको नकारात्मक सन्देश प्रवाह भइरहेकोमा पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, पर्यटन उद्योग यसरी नै लामो समयसम्म ठप्प वा प्रभावित भइरहेमा देश गम्भीर आर्थिक संकटमा धकेलिने जोखिम रहेको व्यवसायीहरूले औंल्याएका छन् । तुलाधार भन्छिन्, ‘अहिलेको बाढीबाट  मूख्य रूपमा रसुवा, नुवाकोट र धादिङ गरी सीमित क्षेत्र बढी प्रभावित भएका छन्, तर सिंगो नेपाल नै असुरक्षित छ भन्ने सन्देश विश्वमा फैलिरहेको छ ।’  यद्यपि उनले अहिल अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू सञ्चालनमै रहेको र सरकारले निश्चित क्षेत्र मात्र प्रभावित भएको सकारात्मक सन्देश दिन सुरु गरेको सकारात्मक प्रयास भएको बताइन् । तर, खाली ‘नेपाल आउनुहोस्’ भनेर मात्रै पर्यटकलाई आकर्षित गर्न नसकिने तुलाधरको भनाइ छ । सरकारले पर्यटकको सुरक्षाबारे स्पष्ट नीति र व्यवस्थाको जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्ने उनले बताइन् । ‘नेपालमा इमर्जेन्सी ल्यान्डिङ, आपतकालीन सेवा र सुरक्षाका व्यवस्था के–के छन् भन्नेबारे पर्यटकलाई स्पष्ट रूपमा आश्वस्त पार्नुपर्ने उनको भनाइ छ ।  ‘पर्यटकलाई केवल पैसा कमाउने माध्यमका रूपमा हेर्नु हुँदैन, उनीहरूको सुरक्षा सबैभन्दा ठूलो कुरा हो,’ उनले भनिन् । त्यसैगरी, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले पनि अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल जानै नहुने हो कि’ भन्ने नकारात्मक सन्देश गइरहेकोमा चिन्ता व्यक्त गरे ।  बाढीका कारण मुख्यतया तीनवटा जिल्लाहरू बढी प्रभावित भएको बताउँदै उनले  अन्य क्षेत्रहरू जस्तै अन्नपूर्ण, धौलागिरी, र कञ्चनजङ्घा जाने बाटोहरू सामान्य र नियमित रहेको बताए ।  ‘पोखरा जाने सडक लगायतका केही ठाउँमा बाटो बिग्रेको भए पनि सरकार, स्थानीय तह र संघसंस्थाहरू मिलेर बाटो खुलाउने काम तीव्र रूपमा गरिरहेका छ,’ उनले भने । नेपालका हिमाल तथा अन्य पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेकाले ट्रेकिङ पर्यटनमा कुनै रोकावट नभएको उनको भनाइ छ । संसारभर अहिले यो सन्देश पठाइरहेको पनि उनले बताए ।  अध्यक्ष शेर्पाले यसपटको प्राकृतिक विपद्ले विदेशी पर्यटकहरू सम्पर्कविहीन र कतिको मृत्यु हुनु दुःखत रहेको बताए । उनका अनुसार नेपालको पर्यटनको लागि यो घटनाले ठूलो धक्का पुर्‍याएको छ । विपद्को समयमा पर्यटन क्षेत्रका व्यवसायीहरूले पहिलो दिनदेखि नै उद्धार र राहत कार्यमा सक्रियता देखारहेको उनले बताए । ‘हामीले माउन्टेन गाइड र टिम गाइडहरूलाई नेपाल आर्मी र नेपाल सरकारसँग सहकार्य गराई उद्धार तथा राहत सामग्री वितरण कार्यमा परिचालन गरिरहेका छौं, उनले भने ।  त्यस्तै, अर्का पर्वतारोण व्यवसायी एवं एनएमका वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेलले बाढीका कारण नेपालका दुईवटा नाकाहरू बन्द भएकाले पर्यटन व्यवसाय र आवागमनमा असर परेको बताए ।  ‘नेपाल भएर आवतजावत गर्ने ठूलो बजार भएकाले यसले व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने ।  उनले पनि एउटा क्षेत्रमा विपत्ति आउँदैमा सबै क्षेत्र असुरक्षित नहुने तर्क राखेका छन् । सरकारले अवरुद्ध बाटोहरू खोलेर स्थिति सामान्य बनाउन र आगामी सिजनको तयारीका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ ।  कतिपय पर्यटकहरूले त यस्तो कठिन समयमा पनि नेपाल आएर समर्थन गर्ने र सहयोग पुर्‍याउने इच्छा व्यक्त गरेको उनले बताए  । पर्यटनमन्त्रीसँग ११ बुँदे माग होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारी (टि.आर) ले बाढीबाट प्रभावित पर्यटन व्यवसायको संकट समाधानका लागि राज्यस्तरबाटै ठोस पहल हुनुपर्ने बताएका छन् । उनका अनुसार प्रभावित व्यवसायको पुनःस्थापना र व्यवसायीलाई राहत दिन सरकारले विशेष प्याकेज ल्याउन आवश्यक छ ।  यसै विषयमा छलफल गर्न होटल व्यवसायी महासंघका प्रतिनिधिहरू पर्यटन मन्त्रालय पुगेका छन् । व्यवसायीहरूले पर्यटनमन्त्रीलाई भेटेर प्रभावित व्यवसायको पुनरुत्थानको लागि ११ बुँदे मागसमेत पेश गरेका छन् ।  अध्यक्ष भण्डारीका अनुसार संघले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका प्रभावित व्यवसायीको कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिदिनुपर्ने माग राखेका छन् ।  त्यसैगरी, राहत प्याकेज तथा प्रभावित व्यवसायमा कार्यरत कर्मचारी र उनीहरूका परिवारका लागि राहतलगायतका माग गरेको उनले बताए ।  ‘संकट समाधानका लागि राज्यस्तरबाटै ठोस पहल हुनुपर्छ,’ उनले भने, ‘प्रभावित व्यवसायीलाई तत्काल राहत दिनुका साथै व्यवसाय पुनःस्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्छ ।’ महासंघले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक हकहितका साथै प्राकृतिक विपत्ति तथा मानवीय कठिनाइका समयमा सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो संस्थागत भूमिकाको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको भण्डारी बताउँछन् । कोभिड–१९ महामारीका समयमा होटल व्यवसायीहरूले आफ्ना होटलहरूलाई क्वारेन्टाइन तथा आइसोलेसन प्रयोजनका लागि उपलब्ध गराई राज्यको संकट व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गरेका थिए । स्वास्थ्य सुरक्षाको उच्च जोखिमका बीच पनि होटल व्यवसायीहरूले निजी क्षेत्रबाट राज्यलाई सहयोग गर्ने जिम्मेवार भूमिका निर्वाह गरेका उनको भनाइ छ ।  ‘हाल रसुवा क्षेत्रमाा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवार, व्यवसायी तथा समुदायका लागि पनि महासंघले आफ्नो संस्थागत संयन्त्रमार्फत सहयोग, समन्वय र आवश्यकताको पहिचानलाई निरन्तरता दिइरहेको छ,’ उनले भने । सरकारले के गरिरहेको छ ?  हालैको बाढीपहिरो र विपत्तिपछि उत्पन्न अन्यौललाई चिर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न थालेका छन् ।  विपत्ति केवल रसुवा, नुवाकोट, धादिङमा सीमित रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू नियमित र सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश सरकारले दिइरहेको छ ।  पर्यटनमन्त्री खड्गबहादुर पौडेल (गणेश) ले एक भिडियो सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय यात्रुहरूलाई आफ्ना पूर्वनिर्धारित नेपाल भ्रमणका योजनाहरू रद्द नगर्न आग्रह गरेका छन् ।  भिडियो सन्देशमा मन्त्री पौडेलले ‘हाम्रा हिमाली पदमार्गहरू अझै पनि तपाईंहरूको पर्खाइमा छन्’ भन्दै यो कठिन समयमा नेपाल आउनु केवल भ्रमण मात्र नभई विपद्को सामना गरिरहेको देशका लागि ठूलो सहयोग र ढाडस हुने स्पष्ट पारेका छन् ।  नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख पर्यटकीय सेवाहरू र पूर्वाधारहरू सुरक्षित तथा नियमित रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ । बोर्डले पर्यटकहरूलाई निसंकोच रूपमा नेपाल भ्रमणमा आउन आह्वान सूचनाहरु जारी गरिरहको छ ।  बोर्डका अनुसार मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । उडानहरू नियमित रूपमा भइरहेका छन् । त्यसैगरी होटल, पर्यटन सेवाहरू र मुख्य–मुख्य राजमार्ग तथा सडक सञ्जालहरू सुचारु अवस्थामा रहेका छन् । पर्यटकहरूको सुरक्षा र आपत्कालीन सहजीकरणका लागि पर्यटन मन्त्रालयमा ‘क्विक रेस्पोन्स टिम’ बोर्ड तथा पर्यटन विभागमा ‘पर्यटक सूचना डेस्क’हरू २४ सै घण्टा सक्रिय रहेको पनि बोर्डले जनाएको छ ।