काठमाडौं । नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको बाढीले पनि पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्याएको छ ।
पर्यटकीय सिजन सुरु हुनै लागेका बेला आएको यो महाविपत्तिका कारण पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । बाढीका कारण पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुका साथै पर्यटकको आवागमन र बुकिङमा समेत प्रत्यक्ष असर परेको छ ।
पर्यटन क्षेत्र शान्ति, सुरक्षा र स्थायित्वसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । तर, नेपालमा यही क्षेत्र हरेक वर्ष प्राकृतिक विपत्तिसँगै आन्दोलन, राजनीतिक तथा सामाजिक अस्थिरताको मारमा पर्दै आएको छ ।
यसपटक पनि बाढीका कारण धेरै आन्तरिक तथा विदेशी पर्यटक बेपत्ता भएका छन् भने केहीको दुःखद निधन भएको छ । पर्यटकको स्वागत र आतिथ्यमा जुट्नुपर्ने समयमा पर्यटकीय गन्तव्यहरू अहिले उद्धार, खोजी र शोकको केन्द्र बनेका छन् ।
बाढीका कारण प्रभावित क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो भौतिक क्षति पुगेको छ ।
होटल व्यवसायी महासंघ नेपालको प्रारम्भिक प्रतिवेदनअनुसार रसुवामा १०० भन्दा बढी, धादिङमा करिब ४०, गोरखामा ७ र अन्य क्षेत्रमा ५५ गरी करिब २०७ वटा होटल तथा रेस्टुरेन्ट प्रभावित भएका छन् ।
प्रभावितमध्ये करिब ६५ वटा रेस्टुरेन्ट छन् भने १२९ वटा होटल तथा रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य प्रभावित व्यवसायमा आंशिक क्षति पुगेको छ । प्रारम्भिक तथ्यांकअनुसार करिब २ हजार २०० होटलका कोठा पूर्ण रूपमा नष्ट भएका छन् ।
टिकट पोस्टपोन्ड गर्दै पर्यटक
नेपालमा आएको विनाशकारी बाढीको समाचार सञ्चारमाध्यमदेखि विभिन्न सामाजिक सञ्जालमार्फत स्वदेश तथा विदेशसम्म फैलिएको छ । बाढीसम्बन्धी समाचारका कारण पर्यटकहरूले नेपाल भ्रमणलाई असुरक्षित महसुस गर्न थालेको स्वा टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशक जिस्वान तुलाधरले बताइन् ।
‘मिडियामा आएका समाचारका कारण पर्यटकहरूले नेपाललाई सुरक्षित महसुस नगर्दा अहिले बुकिङ रद्दभन्दा पनि पोस्टपोन क्रम बढेको छ,’ उनले भनिन् । उनका अनुसार नेपाल आइसकेका पर्यटकहरूले भने आफ्नो भ्रमणलाई निरन्तरता दिइरहेका छन् ।
तुलाधरका अनुसार यसपटक कैलाश मानसरोवर जाने पर्यटकको मुख्य सिजनमै विपद् परेकाले उक्त पर्यटनमा शतप्रतिशत असर परेको छ ।
नेपाल आएर कम्तीमा तीनदेखि चार रात बसेर कैलाश जाने पर्यटकको मुख्य सिजन सेप्टेम्बरको मध्यदेखि अन्त्यसम्म चल्ने गर्छ । कैलाश जाने पर्यटकमा गैरआवासीय नेपाली, भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या उल्लेख्य हुने उनले बताइन् ।
‘कैलाशको धार्मिक भ्रमण रद्द हुँदा नेपाल आउने पर्यटक आगमनमा करिब ३० प्रतिशतसम्म असर परेको छ,’ तुलाधरले भनिन् ।
यसको प्रभाव आगामी वर्षको पर्यटनमा समेत पर्न सक्ने देखिएको उनको भनाइ छ । बाढीका कारण नियमित ट्रेकिङ गन्तव्यहरू समेत प्रभावित भएको उनले बताइन् । मनाङ, मुस्ताङलगायतका क्षेत्रमा साहसिक तथा धार्मिक पर्यटनमा समेत ठूलो प्रभाव परेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश
अहिले घटनाले अन्तर्राष्ट्रिय बजारमो ‘सिंगो नेपाल नै असुरक्षित’ रहेको नकारात्मक सन्देश प्रवाह भइरहेकोमा पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । त्यस्तै, पर्यटन उद्योग यसरी नै लामो समयसम्म ठप्प वा प्रभावित भइरहेमा देश गम्भीर आर्थिक संकटमा धकेलिने जोखिम रहेको व्यवसायीहरूले औंल्याएका छन् ।
तुलाधार भन्छिन्, ‘अहिलेको बाढीबाट मूख्य रूपमा रसुवा, नुवाकोट र धादिङ गरी सीमित क्षेत्र बढी प्रभावित भएका छन्, तर सिंगो नेपाल नै असुरक्षित छ भन्ने सन्देश विश्वमा फैलिरहेको छ ।’
यद्यपि उनले अहिल अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू सञ्चालनमै रहेको र सरकारले निश्चित क्षेत्र मात्र प्रभावित भएको सकारात्मक सन्देश दिन सुरु गरेको सकारात्मक प्रयास भएको बताइन् ।
तर, खाली ‘नेपाल आउनुहोस्’ भनेर मात्रै पर्यटकलाई आकर्षित गर्न नसकिने तुलाधरको भनाइ छ । सरकारले पर्यटकको सुरक्षाबारे स्पष्ट नीति र व्यवस्थाको जानकारी अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने उनले बताइन् ।
‘नेपालमा इमर्जेन्सी ल्यान्डिङ, आपतकालीन सेवा र सुरक्षाका व्यवस्था के–के छन् भन्नेबारे पर्यटकलाई स्पष्ट रूपमा आश्वस्त पार्नुपर्ने उनको भनाइ छ ।
‘पर्यटकलाई केवल पैसा कमाउने माध्यमका रूपमा हेर्नु हुँदैन, उनीहरूको सुरक्षा सबैभन्दा ठूलो कुरा हो,’ उनले भनिन् ।
त्यसैगरी, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले पनि अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल जानै नहुने हो कि’ भन्ने नकारात्मक सन्देश गइरहेकोमा चिन्ता व्यक्त गरे ।
बाढीका कारण मुख्यतया तीनवटा जिल्लाहरू बढी प्रभावित भएको बताउँदै उनले अन्य क्षेत्रहरू जस्तै अन्नपूर्ण, धौलागिरी, र कञ्चनजङ्घा जाने बाटोहरू सामान्य र नियमित रहेको बताए ।
‘पोखरा जाने सडक लगायतका केही ठाउँमा बाटो बिग्रेको भए पनि सरकार, स्थानीय तह र संघसंस्थाहरू मिलेर बाटो खुलाउने काम तीव्र रूपमा गरिरहेका छ,’ उनले भने ।
नेपालका हिमाल तथा अन्य पर्यटकीय क्षेत्रहरू सुरक्षित रहेकाले ट्रेकिङ पर्यटनमा कुनै रोकावट नभएको उनको भनाइ छ । संसारभर अहिले यो सन्देश पठाइरहेको पनि उनले बताए ।
अध्यक्ष शेर्पाले यसपटको प्राकृतिक विपद्ले विदेशी पर्यटकहरू सम्पर्कविहीन र कतिको मृत्यु हुनु दुःखत रहेको बताए । उनका अनुसार नेपालको पर्यटनको लागि यो घटनाले ठूलो धक्का पुर्याएको छ ।
विपद्को समयमा पर्यटन क्षेत्रका व्यवसायीहरूले पहिलो दिनदेखि नै उद्धार र राहत कार्यमा सक्रियता देखारहेको उनले बताए । ‘हामीले माउन्टेन गाइड र टिम गाइडहरूलाई नेपाल आर्मी र नेपाल सरकारसँग सहकार्य गराई उद्धार तथा राहत सामग्री वितरण कार्यमा परिचालन गरिरहेका छौं, उनले भने ।
त्यस्तै, अर्का पर्वतारोण व्यवसायी एवं एनएमका वरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेलले बाढीका कारण नेपालका दुईवटा नाकाहरू बन्द भएकाले पर्यटन व्यवसाय र आवागमनमा असर परेको बताए ।
‘नेपाल भएर आवतजावत गर्ने ठूलो बजार भएकाले यसले व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको छ,’ उनले भने ।
उनले पनि एउटा क्षेत्रमा विपत्ति आउँदैमा सबै क्षेत्र असुरक्षित नहुने तर्क राखेका छन् । सरकारले अवरुद्ध बाटोहरू खोलेर स्थिति सामान्य बनाउन र आगामी सिजनको तयारीका लागि प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
कतिपय पर्यटकहरूले त यस्तो कठिन समयमा पनि नेपाल आएर समर्थन गर्ने र सहयोग पुर्याउने इच्छा व्यक्त गरेको उनले बताए ।
पर्यटनमन्त्रीसँग ११ बुँदे माग
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर भण्डारी (टि.आर) ले बाढीबाट प्रभावित पर्यटन व्यवसायको संकट समाधानका लागि राज्यस्तरबाटै ठोस पहल हुनुपर्ने बताएका छन् । उनका अनुसार प्रभावित व्यवसायको पुनःस्थापना र व्यवसायीलाई राहत दिन सरकारले विशेष प्याकेज ल्याउन आवश्यक छ ।
यसै विषयमा छलफल गर्न होटल व्यवसायी महासंघका प्रतिनिधिहरू पर्यटन मन्त्रालय पुगेका छन् । व्यवसायीहरूले पर्यटनमन्त्रीलाई भेटेर प्रभावित व्यवसायको पुनरुत्थानको लागि ११ बुँदे मागसमेत पेश गरेका छन् ।
अध्यक्ष भण्डारीका अनुसार संघले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका प्रभावित व्यवसायीको कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरिदिनुपर्ने माग राखेका छन् ।
त्यसैगरी, राहत प्याकेज तथा प्रभावित व्यवसायमा कार्यरत कर्मचारी र उनीहरूका परिवारका लागि राहतलगायतका माग गरेको उनले बताए ।
‘संकट समाधानका लागि राज्यस्तरबाटै ठोस पहल हुनुपर्छ,’ उनले भने, ‘प्रभावित व्यवसायीलाई तत्काल राहत दिनुका साथै व्यवसाय पुनःस्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्छ ।’
महासंघले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक हकहितका साथै प्राकृतिक विपत्ति तथा मानवीय कठिनाइका समयमा सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो संस्थागत भूमिकाको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको भण्डारी बताउँछन् ।
कोभिड–१९ महामारीका समयमा होटल व्यवसायीहरूले आफ्ना होटलहरूलाई क्वारेन्टाइन तथा आइसोलेसन प्रयोजनका लागि उपलब्ध गराई राज्यको संकट व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गरेका थिए । स्वास्थ्य सुरक्षाको उच्च जोखिमका बीच पनि होटल व्यवसायीहरूले निजी क्षेत्रबाट राज्यलाई सहयोग गर्ने जिम्मेवार भूमिका निर्वाह गरेका उनको भनाइ छ ।
‘हाल रसुवा क्षेत्रमाा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवार, व्यवसायी तथा समुदायका लागि पनि महासंघले आफ्नो संस्थागत संयन्त्रमार्फत सहयोग, समन्वय र आवश्यकताको पहिचानलाई निरन्तरता दिइरहेको छ,’ उनले भने ।
सरकारले के गरिरहेको छ ?
हालैको बाढीपहिरो र विपत्तिपछि उत्पन्न अन्यौललाई चिर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्न थालेका छन् ।
विपत्ति केवल रसुवा, नुवाकोट, धादिङमा सीमित रहेको अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरू नियमित र सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश सरकारले दिइरहेको छ ।
पर्यटनमन्त्री खड्गबहादुर पौडेल (गणेश) ले एक भिडियो सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय यात्रुहरूलाई आफ्ना पूर्वनिर्धारित नेपाल भ्रमणका योजनाहरू रद्द नगर्न आग्रह गरेका छन् ।
भिडियो सन्देशमा मन्त्री पौडेलले ‘हाम्रा हिमाली पदमार्गहरू अझै पनि तपाईंहरूको पर्खाइमा छन्’ भन्दै यो कठिन समयमा नेपाल आउनु केवल भ्रमण मात्र नभई विपद्को सामना गरिरहेको देशका लागि ठूलो सहयोग र ढाडस हुने स्पष्ट पारेका छन् ।
नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख पर्यटकीय सेवाहरू र पूर्वाधारहरू सुरक्षित तथा नियमित रूपमा सञ्चालनमा रहेको स्पष्ट पारेको छ । बोर्डले पर्यटकहरूलाई निसंकोच रूपमा नेपाल भ्रमणमा आउन आह्वान सूचनाहरु जारी गरिरहको छ ।
बोर्डका अनुसार मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा रहेका छन् । उडानहरू नियमित रूपमा भइरहेका छन् । त्यसैगरी होटल, पर्यटन सेवाहरू र मुख्य–मुख्य राजमार्ग तथा सडक सञ्जालहरू सुचारु अवस्थामा रहेका छन् ।
पर्यटकहरूको सुरक्षा र आपत्कालीन सहजीकरणका लागि पर्यटन मन्त्रालयमा ‘क्विक रेस्पोन्स टिम’ बोर्ड तथा पर्यटन विभागमा ‘पर्यटक सूचना डेस्क’हरू २४ सै घण्टा सक्रिय रहेको पनि बोर्डले जनाएको छ ।