‘पोष्ट डिजास्टर’मा स्थानीय मिडियाको शक्ति

विपद् वा महाविपद् रोक्न सकिँदैन तर यसबाट हुने क्षति न्यूनीकरण गर्न अवश्य सकिन्छ । विपदपछि मानिसलाई सबैभन्दा पहिले के चाहिन्छ ? उद्धार ? राहत ? औषधी ? सुरक्षित ठाउँ ? हो, यी सबै आवश्यक छन् । तर यी सबैभन्दा अघि अर्को एउटा कुरा चाहिन्छ, सही सूचना । 

बाढीको सन्दर्भमा कुरा गर्दा कहाँ बाढी आएको छ ? कुन सडक बन्द छ ? कुन ठाउँ सुरक्षित छ ? उद्धार टोली कहाँ पुगेको छ ? राहत कहाँ वितरण भइरहेको छ ? अस्पतालमा सेवा छ कि छैन ? खोलाको पानी बढ्दै छ कि घट्दै छ ? कसको सूचना विश्वास गर्ने ? जस्ता प्रश्नको उत्तर केही मिनेट ढिला हुँदा पनि त्यसको मूल्य ठूलो हुन सक्छ । गलत हुँदा झन् बढी मूल्य चुकाउनु पर्ने हुन सक्छ । त्यसैले विपद् व्यवस्थापनमा सूचना आफैमा एउटा राहत सामग्री हो, जीवन बचाउने औषधीजस्तै ।

यसमा स्थानीय मिडियाको भूमिका असाधारण रूपमा महत्त्वपूर्ण हुन्छ । राष्ट्रिय सञ्चारमाध्यम घटनास्थलमा पुग्न केही समय लाग्न सक्छ । अन्तर्राष्ट्रिय मिडियालाई त अझ बढी समय लाग्छ । तर स्थानीय मिडिया वा स्थानीय पत्रकार घटनास्थल, भूगोल र समुदायसँग पहिल्यै जोडिएका हुन्छन् । 

विपद् आउँदा स्थानीय मिडिया घटनास्थलमा पुग्ने होइन, पहिल्यैदेखि मौजुद हुन्छन् । त्यसैले स्थानीय मिडिया विपद्को ‘रिपोर्टर’ मात्र होइन, समुदायको आपतकालीन सूचना प्रणाली पनि हो ।

विपद्को समयमा प्राकृतिक विपद्सँगै अर्को अदृश्य विपद् पनि फैलिन्छ, त्यो हो अफवाह । ‘बाँध फुट्यो रे ! अझ ठूलो भूकम्प आउँदैछ रे ! 

फलानो ठाउँमा सबै मानिस बगायो रे ! सरकारले यति हजार मानिसको मृत्यु लुकाइरहेको छ रे ! यस्ता अपुष्ट सूचना सोसल प्लेटफर्म लगायत मिडियाबाट केही मिनेटमै हजारौं मानिससम्म पुग्न सक्छन् । डर र अनिश्चितताले मानिसलाई सूचना जाँच्नुभन्दा पहिले त्यसमा विश्वास गर्न प्रेरित गर्छ । विपद्को समयमा एउटा गलत मिडिया सन्देश, गलत फेसबुक पोस्ट वा भाइरल भिडियोले मानिसलाई भयानक दिशातर्फ लैजान सक्छ । उद्धार गर्नुपर्ने मानिस उल्टै जोखिमपूर्ण ठाउँमा पुग्न सक्छन् । सुरक्षित ठाउँमा बस्नुपर्ने मानिस सडकमा निस्कन सक्छन् । 

अस्पतालमा अनावश्यक भीड बढ्न सक्छ । त्यसैले फेक सूचना कमजोर बनाउनु पनि विपद् व्यवस्थापनकै एउटा काम हो । यसमा स्थानीय मिडियाको भूमिका निर्णायक हुन्छ । स्थानीय मिडियाले अफवाह सुनेर त्यसलाई फेरि समाचार बनाउनुभन्दा पहिले सोध्नुपर्छ, यसको स्रोत के हो ? स्थानीय प्रशासनसँग पुष्टि गर्नुपर्छ । 

प्रहरी, स्वास्थ्य संस्था, स्थानीय सरकार, विपद् व्यवस्थापन समिति, उद्धार टोली र प्रत्यक्षदर्शीसँग क्रसचेक गर्नुपर्छ । पुष्टि नभएको सूचना प्रकाशन प्रसारण नगर्ने अनुशासन कायम गर्नुपर्छ । र अझ महत्त्वपूर्ण कुरा अफवाहलाई केवल बेवास्ता गर्नु पर्याप्त हुँदैन । गलत सूचना फैलिरहेको छ भने त्यसलाई तथ्यसहित खण्डन गर्नुपर्छ । ‘यो सूचना गलत हो’ भन्नु मात्र पर्याप्त हुँदैन । किन गलत हो ? सही तथ्य के हो ? आधिकारिक स्रोत के हो ? नागरिकले अब के गर्ने ? यी प्रश्नको उत्तर पनि दिनुपर्छ । 

यसपालीको रसुवा नुवाकोट बाढीको उत्पत्तिको कथा फरक छ । त्यसको व्यथा झन् लेखिसाध्य छैन । त्रिशूली र भोटेकोशी नदी प्रणालीमा हिमनदीको ठूलो टुक्रा भाँचिएर खसेपछि उत्पन्न भएको यस विपत्तिले हालसम्म १५ सय भन्दा बढीको ज्यान लिइसकेको छ । हजारौंको संख्यामा  बेपत्ता छन् । मृतक र बेपत्ता हुनेमा नेपाली नागरिकका साथै भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसियालगायत दर्जनौं मुलुकका पर्यटक र कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू पनि परेका छन् । 

घटनाको गम्भीरता र यसको अन्तर्राष्ट्रिय प्रकृतिका कारण विश्वका मिडियाहरूले यसलाई प्राथमिकताका साथ रिपोर्ट गरिरहेका छन् । 

यस्ता विपद्को कहरको पीडा विभिन्न हिसाबले भयानक हुन्छ । जनधन, भौतिक पूर्वाधार, स्वास्थ्य, खाद्यान्न, यातायात अनेक क्षेत्रमा यसको असर हुन्छ । यी विपद्का बाछिटासँगै सही सूचनाको अभाव र खराब सूचनाको लर्कोबीच समाजमा अनेक थरि अफवाह अर्थात् ‘र्युमर’ चल्ने गर्दछन् । जसले विपद् पछिको कहरसँग जुध्न तयार हुँदै गरेको मनोविज्ञानलाई थप ‘थरथर’ बनाइदिन्छन् । 

२०७२ को भूकम्पका बेलाको एउटा अफवाह सम्झौं । पङ्तिकारको उक्त अनुभव अहिलेको सन्दर्भमा पनि सान्दर्भिक हुनसक्छ । 

वैशाख १२ गते शनिबारको दिन बिहान ११ बजेर ५५ मिनेटमा नेपालगन्जमा पनि भूकम्पले मज्जैले हल्लायो । घरको तेस्रो तलामा आमा र म थियौं । सावधानीपूर्वक भागेर बारीमा पुग्यौं । गोरखाको बारपाक केन्द्रविन्दु बनाएर भूकम्प आएको रहेछ । विस्तारै काठमाडौंमा भयानक क्षति भएको खबर थाहा पाएपछि म मेरो विदाको दिन भए पनि तत्काल एफएम पुगेँ । 

कृष्णसार जत्तिकै तेज....नाराका साथ स्थापित कृष्णसार एफएमको पहिचान नै बनेको थियो कि हरेक विपद वा उत्सवमा अझ बढि स्रोता सहभागिता सहितका सामग्री पस्कने । 

दिउँसो १ बजेको समाचारमा ‘लाइभ कल’हरू लिने तत्काल निष्कर्ष निकाल्यौं र सुरुमा म नै ‘अन एअर’ गएँ । भूकम्पबाट आफ्नो, वरपर र छिमेकीमा परेको प्रभाव वा काठमाडौंमा रहेका आफन्तको अवस्था, समस्या आदि विषयमा स्रोताहरुको कल लिने र जानकारी दिनका लागि काठमाडौंमा रहेका निकटका सञ्चारकर्मीसमेत स्रोत व्यक्तिहरूसँग कुराकानी गर्ने योजनाका साथ काम गरिरहेका थियौं । 

बाँकेको खजुराबाट एउटा फोन आयो– ‘खानेपानीको धाराबाट रातो रगत मिसिएको पानी आयो । त्यो पानी खाएर एउटा बालकको मृत्युसमेत भयो ।’ तराईंतिर अधिकांश पिउने पानीको स्रोत जमीनमुनि धारा गाडेर हातले चलाएर तान्ने हो । यस्ता धारालाई कतै चापाकल कतै नल्का, बम्बा पनि भन्ने चलन छ । 

यो खबर ती स्रोताले सुनाउनेबित्तिकै विषयान्तर गर्दै तपाईंलाई हामी ‘अफलाइन’मा कल गर्छौं, यो हल्ला मात्रै हुन सक्छ । यसको विस्तृत र सही खबर पत्ता लगाएर हामी जानकारी दिइरहनेछौं भनेर केहीबेर ‘ब्रेक’ लिएँ । तर, यो भयानक खबर लाग्यो । हामी एफएममा रहेका सबै जना आत्तियौं । एफएम पछाडिको धारातिर ध्यान गयो । तर, कार्यालयमा खानेपानी संस्थानकै धाराको पानी पर्याप्त हुने भएकाले उहिल्यै बन्द भएकाले पानी तान्न पाइने कुरै भएन । सुरक्षा गार्डले भूकम्प आइरहेका बेला पाइप निकै जोडले सुसाएको बताए । 

तत्काल बाँकेको जनस्वास्थ्य कार्यालय, खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र केही अधिकारकर्मीहरूलाई खबर गरें । सबैले बुझेर खबर गर्छौं भनेपनि कसैले गम्भीरतापूर्वक लिएको पाइएन । जबकि बाँके र बर्दियाका गाउँगाउँमा यस्तो हल्लाले त्राहिमाम बनाइसकेको रहेछ । 

गाउँमा पानी किनेर कहिल्यै नखाने मानिसले पनि पसलमा जार, बोतल जे पाइन्छ किन्दै घरघरमा थुपारेछन् । ससाना बजारमा यात्रुहरूका लागि बिक्रीका लागि राखिएको पानी सकिएर हाहाकार भैसकेको जानकारी विभिन्न स्रोतबाट पुष्टि भयो । 

जमिनमा गाडेका धारामा रातो पानी आउनाको कारण स्थानीय कसैले बताउन नसक्ने देखियो । अनि झट्ट भूकम्प प्रविधि राष्ट्रिय महासंघ (एनसेट)को याद आयो । भूकम्प लगायतका विपदका बारेमा यो संस्थासँग मिलेर हामीले रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका थियौं । एनसेटका एडभोकेसी म्यानेजर खड्गसेन वलीलाई फोन गरेर धाराबाट रातो पानी आएपछिको त्रास बताएँ । उहाँले टीममा सल्लाह गरेर खबर गर्छु भन्नु भयो । 

रेडियोबाट ‘लाइभ’मा हामीले धारामा रातो पानी आउनुको कारण पत्ता लगाउन कोशिस जारी राखेको बताउँदै स्रोताहरूलाई नआत्तिन अपील गरिरहेका थियौं । रातो पानीले बच्चा मरेको खबर पनि गलत भएको सूचना दियौं । धाराको पानी खानु अनि बच्चा बिरामी हुनु संयोग परेपछि स्थानीयले अनुमानका आधारमा त्यस्तो हल्ला चलाएको तथ्य संकलन गरी हामीले प्रत्यक्ष प्रसारणमा जानकारी दियौं । 

रातो पानी लगभग बाँके बर्दियाका अधिकांश जमीनमुनिबाट पानी तान्ने धाराबाट आएको रहेछ । एकातिर भूकम्पको डर अर्कोतिर खानेपानीका बारेमा फैलिएको हल्लाले हामीलाई समेत बेचैन बनाइरहेको थियो । 

फिल्डमै गएर बुझ्नु पर्ने टुंगोमा पुगेर इन्सेकका क्षेत्रीय प्रमुख भोला महतलाई खजुरा क्षेत्रको स्थलगत अध्ययनमा जान प्रस्ताव गरें । केही सञ्चारकर्मीसँगै हामी उहाँकै गाडीमा त्यसतर्फ लाग्यौं । अधिकांश घरका धारामा रातोपानी आएको सुनियो । हामी खजुराबाट अलिपर पुगेर उत्तर दिशा हुँदै कोहलपुर भएर नेपालगन्ज फर्कने निधो गरेर अघि बढ्यौं । 

मलाई आफैले धारा चलाएर रातो पानी आएको हेर्न मन लाग्यो । एउटा घरमा आँगनमै धारा देखेपछि नजिकै सडकमा गाडीबाट ओर्लेर मैले धारा चलाएँ । सुरुमा रातो, अनि हल्का पहेँलो जस्तो पानी आए पनि धेरैवेर चलाउँदा पछि विस्तारै सफा पानी आउन थाल्यो । हामी अचम्मित हुँदै अघि बढ्यौं । 

एनसेटबाट खड्गसेन वलीको फोन आयो । उहाँले यस्तो विदेशतिर कतै पनि नदेखिएको नौलो घटना भएको बताउनु भयो । तर, भूकम्प र जमीनमुनिको पानीबीच कुनै सम्बन्ध नभएको भन्दै आफ्नो टीमले जमीनमुनिको पानीको पाइपको वर्षौं पुरानो खियाका कारण पानी रातो आएको अनुमान गरेको बताउनु भयो । 

जति पुरानो पाइप उति खिया बढी हुने हुनाले रातो पानी आएको हुन सक्ने भन्दै भूकम्पका बेला जसरी जमीन माथि हल्लायो त्यो भन्दा बढ्ता जमीनमुनि हल्लाउने भएकाले पाइपको खिया उत्रिएर रातो पानी आएको हुन सक्ने टीमको निष्कर्ष रहेको उहाँले सुनाउनु भयो । लगातार पानी चलाउँदा पुनः सफा पानी आउन सक्ने उहाँको भनाइ थियो । 

उहाँको कुरा तार्किक रहेकाले मैले ६ बजेको समाचारमा ‘लाइभ’मा यही कुरा राखिदिन आग्रह गरेँ । र, खेतैखेतको शान्त बाटोमा गाडी रोकेर मैले दिउँसो ४ र ५ बजेको समाचारमा चाहिँ आफैले उहाँको भनाइ उद्धृत गर्दै पानी रातो आउनुको कारण ‘लाइभ’ दिएँ । 

यसरी विस्तारै धारामा पानी रातो आउनुको कारणसहितको विस्तृत खबर दिए पछि मानिसहरू आश्वस्त भए र एउटा ठूलो विपदका बेला उठेको अफवाह अर्थात् ‘र्युमर’को पटाक्षेप केहि घण्टामै गर्न सकियो । 

स्थानीय रेडियो तथा सामुदायिक सञ्चारले स्थानीय भूगोल, स्थानीय आवश्यकता र समुदायको अवस्थाअनुसार सूचना प्रवाह गर्न सक्छन् । ठूलो राष्ट्रिय प्रसारणले ‘फलानो क्षेत्रमा खतरा’ भन्न सक्छ । स्थानीय मिडियाले त्यसलाई अझ उपयोगी बनाउन सक्छ, ‘यो गाउँका मानिसले कुन बाटो प्रयोग गर्ने, कुन विद्यालयमा अस्थायी आश्रय छ, कुन नम्बरमा सम्पर्क गर्ने’ भनेर । यही स्थानीयकरणले सूचनालाई समाचारबाट व्यवहारिक निर्देशनमा बदल्छ ।

विपदमा मिडिया सूचना प्रसारण गर्ने एकतर्फी पाइप मात्र होइन, समुदाय र राज्यबीचको दुईतर्फी पुल पनि हो । स्थानीय नागरिकले ‘हाम्रो टोलमा पानी पस्यो’, ‘यहाँ वृद्ध र बालबालिका अलपत्र छन्’, ‘यहाँ राहत पुगेको छैन’ भन्न पाउने ठाउँ चाहिन्छ । स्थानीय मिडियाले ती आवाजलाई प्रमाणित गरेर सम्बन्धित निकायसम्म पुर्याउन सक्छन् ।

यदि रेडियो स्टेशनको भवन डुब्यो भने ? विद्युत् गयो भने ? इन्टरनेट बन्द भयो भने ? पत्रकार आफै प्रभावित भए भने ? स्टुडियोमा क्षति पुग्यो भने ? स्थानीय मिडियाले यस्ता प्रश्नको उत्तर विपद् आउनुअघि नै खोज्नुपर्छ । ब्याकअप विद्युत्, वैकल्पिक इन्टरनेट, आवश्यक उपकरण, सम्पर्क सूची, आपत्कालीन प्रसारण योजना र वैकल्पिक कार्यस्थलजस्ता विषय अब स्थानीय मिडियाको प्रसारण सुनिश्चितता योजनाको हिस्सा बन्नुपर्छ । किनभने विपद्मा मिडिया चलिरहनु पनि विपद् प्रतिकार्यको एउटा अंग हो ।

नेपालजस्तो भौगोलिक रूपमा जटिल र डिजिटल पहुँच समान नभएको देशमा स्थानीय रेडियोको भूमिका अझ महत्त्वपूर्ण छ । मोबाइलको ब्याट्री सकिन सक्छ । इन्टरनेट बन्द हुन सक्छ । फेसबुकमा गलत सूचना भाइरल हुन सक्छ । तर रेडियोले न्यूनतम स्रोतमा पनि ठूलो समुदायसम्म सूचना पुर्याउन सक्छ । विशेषगरी स्थानीय भाषामा, स्थानीय उच्चारणमा र स्थानीय भूगोल बुझेर गरिएको प्रसारणको प्रभाव फरक हुन्छ । 

‘नदीको जलस्तर बढेको छ’ भन्नेभन्दा स्थानीय रेडियोले भन्न सक्छ, ‘फलानो पुल नजिकको बस्तीका नागरिक सुरक्षित स्थानतर्फ जानुहोस् ।’ यही अन्तरले सूचना र जीवनरक्षाबीचको दूरी निर्धारण गर्न सक्छ । स्थानीयले वुझ्ने भाषामा यस्तो सूचना दिन सकियो भने मात्र प्रभाकारी हुन्छ । 

स्थानीय मिडिया आफै पनि सावधान हुनुपर्छ । विपद्को समयमा पत्रकारलाई पनि ठूलो दबाब हुन्छ । छिटो समाचार दिनुपर्ने प्रतिस्पर्धा हुन्छ । सामाजिक सञ्जालमा आएको सामग्री तुरुन्तै प्रयोग गर्ने लोभ हुन्छ । तर विपद् पत्रकारितामा पहिलो हुनु भन्दा सही हुनु महत्वपूर्ण हुन्छ । 

एउटा गलत संख्या, एउटा गलत स्थान वा एउटा गलत उद्धरणले हजारौं मानिसलाई प्रभावित गर्न सक्छ । त्यसैले स्थानीय मिडियाले कम्तीमा तीन प्रश्नलाई आफ्नो सम्पादकीय अनुशासन बनाउनुपर्छः स्रोत के हो ? पुष्टि कसरी भयो ? यो सूचना सार्वजनिक गर्दा कसलाई के असर पर्छ ? विशेषगरी मृत्यु, बेपत्ता, उद्धार, स्वास्थ्य जोखिम र बालबालिकासम्बन्धी सूचना प्रकाशन गर्दा थप संवेदनशीलता आवश्यक हुन्छ । पीडितको फोटो खिच्नु र उसको पीडा देखाउनु पत्रकारिता हुन सक्छ । तर पीडालाई सनसनीमा बदल्नु पत्रकारिता होइन ।
 
विपद्को समयमा मानिसले सबैभन्दा पहिले परिचित र विश्वासिलो आवाज खोज्छ । त्यो आवाज स्थानीय रेडियोको हुन सक्छ । स्थानीय पत्रकारको हुन सक्छ । स्थानीय सञ्चार माध्यम वा पत्रकारको सोसल प्लेटफर्म हुन सक्छ । त्यसैले वर्षभरि समुदायसँग विश्वसनीय सम्बन्ध बनाएको स्थानीय मिडियाले विपद्को समयमा ठूलो सामाजिक पुँजी प्रयोग गर्न सक्छ । यस्तो विश्वास एकै दिनमा बन्दैन । र एउटा गलत सूचनाले त्यसलाई एकै दिनमा भत्काउन सक्छ । त्यसैले स्थानीय मिडियाका लागि विश्वसनीयता नै सबैभन्दा ठूलो विपद् पूर्वतयारी हो ।

विपद् पत्रकारितालाई नियमित पत्रकारिताभन्दा अलग तयारी चाहिन्छ । स्थानीय मिडियाले आफ्नो क्षेत्रमा जोखिमको नक्सा बनाउन सक्छ । सम्भावित बाढी, पहिरो, आगलागी, महामारी वा अन्य जोखिम क्षेत्र पहिचान गर्न सक्छ । स्थानीय सरकार, प्रहरी, अस्पताल, एम्बुलेन्स, रेडक्रस, उद्धार टोली, स्वयंसेवक र अन्य सरोकारवालाको आपतकालीन सम्पर्क सूची तयार राख्न सक्छ । 

त्यस्तै, ‘फेक सूचना आएको अवस्थामा के गर्ने ?’ भन्ने आफ्नै प्रोटोकल बनाउन सक्छ । सामाजिक सञ्जालका पोस्टलाई स्रोत मान्ने कि प्रमाणित भएपछि मात्र प्रयोग गर्ने ? भाइरल भिडियोको स्थान र समय कसरी जाँच्ने ? आधिकारिक सूचना र प्रत्यक्षदर्शीको सूचनाबीच कसरी क्रसचेक गर्ने ? गलत समाचार प्रकाशित भएपछि कति छिटो र कसरी सच्याउने ? यी प्रश्नको उत्तर विपद् आउनुअघि नै तय हुनुपर्छ ।

विपद्को समयमा मानिसलाई केवल समाचार चाहिँदैन । उसलाई दिशा चाहिन्छ । उसलाई विश्वास गर्न मिल्ने आवाज चाहिन्छ । उसलाई के भइरहेको छ ? भन्दा पनि अब मैले के गर्ने ? भन्ने प्रश्नको उत्तर चाहिन्छ । स्थानीय मिडियाको वास्तविक परीक्षा यहीँ हुन्छ । विपद् आउँदा स्थानीय मिडियाले सरकारको सूचना पढेर सुनाउने मात्र होइन, त्यसको सत्यता जाँच्न सक्नुपर्छ । 

सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई तथ्यले चुनौती दिनुपर्छ । फेक सूचनालाई कमजोर बनाउनुपर्छ । प्रभावित नागरिकको आवाजलाई ठाउँ दिनुपर्छ । र सबैभन्दा महत्त्वपूर्ण सही सूचना सही समयमा सही मानिससम्म पुर्याउनुपर्छ । किनभने विपद्को समयमा गलत सूचना आफैमा एउटा विपद् हो । र त्यसको प्रतिरोध गर्ने सबैभन्दा प्रभावकारी औजारमध्ये एउटा हो, विश्वसनीय स्थानीय मिडिया । 

त्यसैले ‘सही समयमा सही सूचना’ विपद् जोखिम व्यवस्थापनका लागि एक महत्त्वपूर्ण चाबी हो । यो चाबीको सदुपयोग गर्ने दायित्व हामी सबैको हो । 

Share News