पृथ्वी राजमार्गको कृष्णभीरमा आएको पहिरोका कारण सडक अवरुद्ध भई काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार मच्चिएको छ । नेपाल आयल निगमले साना ट्रक र वैकल्पिक मार्ग (कान्ति लोकपथ तथा त्रिभुवन राजपथ) को प्रयोग गरी साना खेपमा ग्यास आपूर्ति जारी राखेको बताएको छ । तराईका प्लान्टहरू २४ सै घण्टा सञ्चालनमा ल्याई दैनिक ग्यास भित्र्याउने परिमाण क्रमशः बढाउँदै लैजाने र सर्वसाधारण नागरिकको भान्सालाई पहिलो प्राथमिकतामा राखेर वितरण व्यवस्थापन मिलाइँदै छ । विशेषगरी अहिले निगमले ग्यास अभाव हुन नदिने के-के पहल गरिरहेको छ ? समस्या समाधान कसरी हुन्छ ? लगायत विषयमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार देखिएको छ । उपभोक्ताहरू निकै मारमा छन् । निगमको कार्यकारी प्रमुखको हैसियतले तपाईँ यसलाई कसरी हेरिरहनुभएको छ ? खास समस्या के हो ?
अहिलेको मुख्य समस्या भनेको बाटोको अवरोध हो । विशेषगरी पृथ्वी राजमार्गको कृष्णभीरमा आएको पहिरो र सडकको दुरावस्थाले गर्दा ग्यास ढुवानीमा ठुलो समस्या पैदा भएको छ । मेरो मुख्य जिम्मेवारी भनेको बढीभन्दा बढी ग्यास भित्र्याएर सबैको भान्सासम्म पुर्याउनु हो । म अहिले यही काममा अहोरात्र खटिरहेको छु । अहिलेको अवस्थामा ग्यास छैन भनेर हात बाँधेर बस्ने स्थिति छैन, तर भौगोलिक र प्राविधिक कठिनाइले गर्दा हामीले सोचेजस्तो सहज हुन सकेको छैन ।
बाटो बन्द छ, ढुवानी असहज छ भन्नुभयो । त्यसो भए अहिले काठमाडौं उपत्यकामा ग्यासको व्यवस्थापन कसरी मिलाइरहनुभएको छ त ?
काठमाडौंको व्यवस्थापनका लागि हामीले वैकल्पिक मार्गको प्रयोग गरिरहेका छौं । कान्ति लोकपथ र त्रिभुवन राजपथमा ठूला ट्रकहरू गुड्न सक्दैनन् । त्यसैले हामीले १० चक्के र १२ चक्केसम्मका ट्रकहरूलाई सिफारिस गरेर साना-साना खेपमा ग्यास ल्याउने व्यवस्था मिलाएका छौं । हामीले तराईका प्लान्टहरूलाई २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिएका छौं । बाटोले जति साथ दिन्छ, त्यति नै छिटो हामी ग्यास भित्र्याउने प्रयासमा छौं ।
बुधबार मात्रै कति परिमाणमा ग्यास काठमाडौं भित्रियो ?
हिजो हामीले हेटौंडा-नौबिसे मार्ग हुँदै करिब १० हजार सिलिन्डर ग्यास काठमाडौं ल्याएका छौं ।
१० हजार सिलिन्डरले त काठमाडौंको माग धान्न गाह्रो होला नि ? कृष्णभीरको बाटो नखुन्जेल यही विकल्पमा रहनुहुन्छ कि अरू केही योजना छ ?
हो, १० हजार पर्याप्त होइन । तर यो सुरुवात हो । अब हामी यसलाई क्रमशः बढाउँदै लैजान्छौं । आज १५ हजार, भोलि २० हजार र पर्सि २५ हजार गर्दै आपूर्ति बढाउने हाम्रो लक्ष्य छ । जबसम्म कृष्णभीरको बाटो पूर्ण रूपमा सञ्चालनमा आउँदैन, तबसम्म हामीले यस्तै वैकल्पिक र साना मार्गहरूबाटै भए पनि आपूर्तिलाई निरन्तरता दिनुपर्ने हुन्छ ।
निगमले ठूला होटल र रेस्टुरेन्टहरूलाई ग्यास नदिने निर्णय गरेको हो ? सर्वसाधारणले ग्यास नपाएर चिउरा खाएर बस्नुपरेको अवस्था छ, यसमा प्राथमिकता कसरी तोक्नुभएको छ ?
हामीले ग्यास नै नदिने भनेका होइनौं, तर प्राथमिकता तय गरेका हौं । पछिल्लो ५/७ दिनदेखि आपूर्ति अवरुद्ध हुँदा धेरै सर्वसाधारणको घरमा चुल्लो बलेको छैन । कतिपय ४ दिनदेखि चिउरा खाएर बसिरहनुभएको छ । यस्तो अवस्थामा एउटै इन्डस्ट्री वा ठुलो होटललाई एकै पटक ७०/८० वटा सिलिन्डर दिनुभन्दा, ती सिलिन्डरहरू गाह्रो-साह्रो परेका ७०/८० वटा परिवारलाई वितरण गर्नु हाम्रो पहिलो प्राथमिकता हो । हामीले होटल व्यवसायीहरूलाई अनुरोध पनि गरेका छौं ।
तपाईँहरूसँग साधन र स्रोत छ, बाटोको अवस्था बुझेर तराईबाटै सिधै ल्याउन पनि सक्नुहुन्छ । अहिलेको माग र आपूर्तिको खाडल ठुलो छ । ३०/३५ हजार चाहिने ठाउँमा १० हजार मात्र आइरहेको छ । यस्तो बेला सबै ग्यास होटलतिर गयो भने जनताले दुःख पाउँछन् । त्यसैले होटललाई पनि ब्यालेन्स गर्ने र सर्वसाधारणलाई प्राथमिकता दिने गरी हामी अघि बढेका छौं । अवस्था सामान्य हुनासाथ हामी सबैको घरमै ग्यास पुर्याउँछौं ।
देशभरि र विशेष गरी काठमाडौं उपत्यकामा अहिले ग्यासको वास्तविक खपत कति छ ?
देशभरिको औसत खपत मासिक १ लाख १० हजार मेट्रिक टन जति हो । तर हामीले त्योभन्दा बढी नै ल्याइरहेका थियौं । कोसी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा ग्यासको कुनै गुनासो छैन । समस्या केवल बागमती प्रदेश र विशेष गरी काठमाडौं मा हो । जसको मुख्य कारण कृष्णभीरको पहिरो नै हो । अगस्ट महिनामा मात्रै हामीले ४२ लाख सिलिन्डर आयात गरेका थियौं, जबकि हाम्रो खपत ३२ लाख मात्र थियो । १० लाख सिलिन्डर बढी ल्याउँदा ल्याउँदै पनि बाटोका कारण मौज्दात बजारमा पुग्न सकेन ।
धादिङमा रहेका ग्यास प्लान्टहरूको अवस्था के छ ? त्यहाँबाट आपूर्ति किन हुन सकेन ?
धादिङमा २२ वटा ग्यास प्लान्टहरू छन् । तर कृष्णभीरको बाटो बन्द भएपछि ती प्लान्टहरू सञ्चालन गर्न सकिएको छैन । अहिले हामीलाई हेटौंडा र चितवनका प्लान्टहरूले सपोर्ट गरिरहेका छन् । तर त्यहाँबाट ग्यास भरेर काठमाडौं ल्याउन ९/१० घण्टाको लामो समय लाग्छ । हाम्रो टार्गेट दैनिक ४० हजार सिलिन्डर ल्याउने हो । ट्रकहरूको मुभमेन्ट कति स्मूथ हुन्छ । त्यसैमा हाम्रो कार्यक्षमता भर पर्छ ।
यो संकट समाधानका लागि उद्योगी व्यवसायीहरूसँग निगमको समन्वय कसरी भइरहेको छ ?
हामीले आयल निगम र उद्योगी व्यवसायीहरूको संयुक्त टोलीसहितको एक टास्क फोर्स गठन गरेका छौं । तराईका प्लान्टहरू २४ सै घण्टा चलाउने, सिलिन्डर भर्ने र तुरुन्तै ट्रकमा लोड गरेर काठमाडौं पठाउने काममा हामी निरन्तर समन्वयमा छौं ।
पेट्रोलियम पदार्थ (पेट्रोल/डिजेल) को अवस्था के छ ? अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको कुरा पनि
सुनिन्छ, निगमले कसरी काम गरिरहेको छ ?
पेट्रोलियम पदार्थमा हामीलाई ग्यासमा जस्तो ठुलो समस्या छैन । किनभने अमलेखगञ्जबाट पाइपलाइनमार्फत इन्धन आइरहेको छ । हामीसँग पर्याप्त ट्याङ्करहरू छन् । बाटोको थोरै अवरोधले अमलेखगञ्जबाट काठमाडौं ल्याउन गाह्रो भएको छैन । थानकोट डिपो र हवाई इन्धनका लागि सिनामङ्गलमा हामीले पर्याप्त मुभमेन्ट गरिरहेका छौं । पेट्रोल र डिजेलको आपूर्तिमा कुनै समस्या हुँदैन ।
अहिले देशमा पेट्रोलियम पदार्थको खपत कति छ र यो घट्ने सम्भावना के छ ?
पेट्रोलियम पदार्थको औसत खपत दैनिक ६/७ सय किलोलिटर (करिब ३५ देखि ४० गाडी) जति भइरहेको छ । अहिले कृष्णभीरको बाटोले गर्दा सवारी साधनको मुभमेन्ट कम छ, त्यसैले खपत केही घटेको देखिन्छ । तर हामीसँग अमलेखगञ्जसम्म ब्याकअप भएकोले पेट्रोल र डिजेलमा हामी ढुक्क छौं ।
सरकारले कृष्णभीरको बाटो कहिलेसम्म पूर्ण रूपमा खुल्छ भनेको छ ?
पूर्वाधार विकास मन्त्रालय यसमा जुटेको छ भन्ने खबर छ । प्राविधिकहरूले कम्तीमा १५ दिन (आधा महिना) लाग्ने बताएका छन् । यो १५ दिन हामी सबैका लागि चुनौतीपूर्ण छ ।
यो संकटको समयमा उपभोक्ताहरूलाई तपाईँको केही विशेष आग्रह छ ?
मेरो विनम्र अनुरोध छ, जो उपभोक्तासँग पहिले नै एक वा दुईवटा भरिएका सिलिन्डर छन् । कृपया तेस्रो सिलिन्डर लिन नआउनुहोस् । जोसँग एउटै पनि छैन, उसलाई प्राथमिकता दिऊँ । यदि सञ्चय गर्ने प्रवृत्ति रोकियो भने हिजो र आज आएको १०/२० हजार सिलिन्डरले पनि टार्गेट ग्रुपलाई राहत दिन्छ। यो समय भनेको एक/अर्कालाई मानवता देखाउने समय हो । मै खाऊँ, मै लाऊँ भन्ने सोच त्यागेर संकटको घडीमा हातेमालो गरौं । यो नैतिक शिक्षा र नागरिक जिम्मेवारीको कुरा पनि हो ।
निगम सधैं घाटामा छ भन्ने सुनिन्छ । यो घाटा कसरी हुन्छ ? यसको प्रक्रिया अलिकति बुझाइदिनुस् न ।
नेपालको आफ्नै उत्पादन छैन । हामीले साउदीको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार भारतीय आयल कर्पोरेसनसँग सम्झौता गरेका छौं । इन्डियाले कतिमा किन्यो भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा साउदीको कच्चा तेलको भाउ कति छ । जहाज भाडा कति लाग्यो, रेल्वे फ्रेट कति पर्यो भन्ने आधारमा मूल्य तय हुन्छ ।
आइओसीले १५/१५ दिनमा पठाउने मूल्यमा भन्सार शुल्क र ढुवानी खर्च जोडेर हाम्रो लागत मूल्य निस्कन्छ । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो तर सरकारले जनता मारमा पर्छन्, अहिले मूल्य नबढाऊ भन्यो भने निगम घाटामा जान्छ । लागतभन्दा कममा बेच्दा घाटा हुन्छ, थोरै नाफा राखेर बेच्दा नाफा हुन्छ ।

हाल निगमको घाटा कति छ ?
अहिले हाम्रो घाटा करिब १ अर्ब २४ करोड रुपैयाँ छ ।
तपाईँ निगमको नेतृत्वमा आउनुभएको छ, संस्थागत सुधार र इन्धन व्यवस्थापनका लागि तपाईँका आगामी योजनाहरू के-के छन् ?
मैले नेपाल आयल निगमको सेवा र व्यवस्थापनलाई सुदृढ बनाउन मुख्य गरी चारवटा प्राथमिकतामा जोड दिएको छु । ऊर्जा सुरक्षाका लागि राज्यमा कम्तीमा एक महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता बढाउने, ग्यास भण्डारण गृह निर्माण गर्ने र आपूर्तिलाई थप सहज बनाउन एलपीजी पाइपलाइन विस्तार गर्ने लक्ष्य मेरो छ ।
यसका साथै, निगमको सम्पूर्ण सेवालाई डिजिटलाइज गरी डिलरहरूले घरमै बसेर अनलाइन कारोबार गर्न सक्ने सर्भिस ओरिएन्टेड प्रणाली निर्माण गर्ने सोच लिएको छ । यसैगरी, संस्थाभित्र पारदर्शी सुशासन कायम गर्दै निगमलाई नाफामा लैजाने र परम्परागत पेट्रोलियम पदार्थको विकल्पका रूपमा हाइड्रोजन, इथेनोल तथा बिटुमिनजस्ता क्षेत्रमा काम गरी व्यवसायलाई विविधीकरण र विकेन्द्रीकरण गर्ने रणनीति तय मैले गरिरहेको छु ।
अन्त्यमा, ग्यास अभावले आत्तिएका उपत्यकावासीलाई के भन्न चाहनुहुन्छ ?
म यति भन्न चाहन्छु कि राज्यको दायित्व सबैको घरमा चुल्हो बाल्नु हो र हामी त्यसमा प्रतिबद्ध छौं । बाटोले साथ दिएमा हामी जति पनि ग्यास ल्याउन सक्षम छौं । उपभोक्ताहरू नआत्तिनुहोस्, धेरै दिन लाग्दैन । आपूर्ति विस्तारै सहज हुँदैछ । आफूसँग ग्यास छ भने नभएकालाई पालो दिऊँ, हामी चाँडै नै यो समस्या समाधान गर्छौं ।