जोसँग ग्यास छैन, पहिले उसैको घरमा चुल्हो बाल्छौं

ग्यास ढुवानीमा समस्या, दैनिक ४० हजार सिलिन्डर ल्याउने लक्ष्य

पृथ्वी राजमार्गको कृष्णभीरमा आएको पहिरोका कारण सडक अवरुद्ध भई काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार मच्चिएको छ । नेपाल आयल निगमले साना ट्रक र वैकल्पिक मार्ग (कान्ति लोकपथ तथा त्रिभुवन राजपथ) को प्रयोग गरी साना खेपमा ग्यास आपूर्ति जारी राखेको बताएको छ । तराईका प्लान्टहरू २४ सै घण्टा सञ्चालनमा ल्याई दैनिक ग्यास भित्र्याउने परिमाण क्रमशः बढाउँदै लैजाने र सर्वसाधारण नागरिकको भान्सालाई पहिलो प्राथमिकतामा राखेर वितरण व्यवस्थापन मिलाइँदै छ । विशेषगरी अहिले निगमले ग्यास अभाव हुन नदिने के-के पहल गरिरहेको छ ? समस्या समाधान कसरी हुन्छ ? लगायत विषयमा निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहसँग विकासन्युजका नरेन्द्र विष्टले कुराकानी गरेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार देखिएको छ । उपभोक्ताहरू निकै मारमा छन् । निगमको कार्यकारी प्रमुखको हैसियतले तपाईँ यसलाई कसरी हेरिरहनुभएको छ ? खास समस्या के हो ?

अहिलेको मुख्य समस्या भनेको बाटोको अवरोध हो । विशेषगरी पृथ्वी राजमार्गको कृष्णभीरमा आएको पहिरो र सडकको दुरावस्थाले गर्दा ग्यास ढुवानीमा ठुलो समस्या पैदा भएको छ । मेरो मुख्य जिम्मेवारी भनेको बढीभन्दा बढी ग्यास भित्र्याएर सबैको भान्सासम्म पुर्याउनु हो । म अहिले यही काममा अहोरात्र खटिरहेको छु । अहिलेको अवस्थामा ग्यास छैन भनेर हात बाँधेर बस्ने स्थिति छैन, तर भौगोलिक र प्राविधिक कठिनाइले गर्दा हामीले सोचेजस्तो सहज हुन सकेको छैन ।

बाटो बन्द छ, ढुवानी असहज छ भन्नुभयो । त्यसो भए अहिले काठमाडौं उपत्यकामा ग्यासको व्यवस्थापन कसरी मिलाइरहनुभएको छ त ?

काठमाडौंको व्यवस्थापनका लागि हामीले वैकल्पिक मार्गको प्रयोग गरिरहेका छौं । कान्ति लोकपथ र त्रिभुवन राजपथमा ठूला ट्रकहरू गुड्न सक्दैनन् । त्यसैले हामीले १० चक्के र १२ चक्केसम्मका ट्रकहरूलाई सिफारिस गरेर साना-साना खेपमा ग्यास ल्याउने व्यवस्था मिलाएका छौं । हामीले तराईका प्लान्टहरूलाई २४ सै घण्टा सञ्चालन गर्न निर्देशन दिएका छौं । बाटोले जति साथ दिन्छ, त्यति नै छिटो हामी ग्यास भित्र्याउने प्रयासमा छौं । 

बुधबार मात्रै कति परिमाणमा ग्यास काठमाडौं भित्रियो ? 

हिजो हामीले हेटौंडा-नौबिसे मार्ग हुँदै करिब १० हजार सिलिन्डर ग्यास काठमाडौं ल्याएका छौं । 

१० हजार सिलिन्डरले त काठमाडौंको माग धान्न गाह्रो होला नि ? कृष्णभीरको बाटो नखुन्जेल यही विकल्पमा रहनुहुन्छ कि अरू केही योजना छ ?

हो, १० हजार पर्याप्त होइन । तर यो सुरुवात हो । अब हामी यसलाई क्रमशः बढाउँदै लैजान्छौं । आज १५ हजार, भोलि २० हजार र पर्सि २५ हजार गर्दै आपूर्ति बढाउने हाम्रो लक्ष्य छ । जबसम्म कृष्णभीरको बाटो पूर्ण रूपमा सञ्चालनमा आउँदैन, तबसम्म हामीले यस्तै वैकल्पिक र साना मार्गहरूबाटै भए पनि आपूर्तिलाई निरन्तरता दिनुपर्ने हुन्छ ।

निगमले ठूला होटल र रेस्टुरेन्टहरूलाई ग्यास नदिने निर्णय गरेको हो ? सर्वसाधारणले ग्यास नपाएर चिउरा खाएर बस्नुपरेको अवस्था छ, यसमा प्राथमिकता कसरी तोक्नुभएको छ ?

हामीले ग्यास नै नदिने भनेका होइनौं, तर प्राथमिकता तय गरेका हौं । पछिल्लो ५/७ दिनदेखि आपूर्ति अवरुद्ध हुँदा धेरै सर्वसाधारणको घरमा चुल्लो बलेको छैन । कतिपय ४ दिनदेखि चिउरा खाएर बसिरहनुभएको छ । यस्तो अवस्थामा एउटै इन्डस्ट्री वा ठुलो होटललाई एकै पटक ७०/८० वटा सिलिन्डर दिनुभन्दा, ती सिलिन्डरहरू गाह्रो-साह्रो परेका ७०/८० वटा परिवारलाई वितरण गर्नु हाम्रो पहिलो प्राथमिकता हो । हामीले होटल व्यवसायीहरूलाई अनुरोध पनि गरेका छौं ।

तपाईँहरूसँग साधन र स्रोत छ, बाटोको अवस्था बुझेर तराईबाटै सिधै ल्याउन पनि सक्नुहुन्छ । अहिलेको माग र आपूर्तिको खाडल ठुलो छ । ३०/३५ हजार चाहिने ठाउँमा १० हजार मात्र आइरहेको छ । यस्तो बेला सबै ग्यास होटलतिर गयो भने जनताले दुःख पाउँछन् । त्यसैले होटललाई पनि ब्यालेन्स गर्ने र सर्वसाधारणलाई प्राथमिकता दिने गरी हामी अघि बढेका छौं । अवस्था सामान्य हुनासाथ हामी सबैको घरमै ग्यास पुर्याउँछौं ।

देशभरि र विशेष गरी काठमाडौं उपत्यकामा अहिले ग्यासको वास्तविक खपत कति छ ?

देशभरिको औसत खपत मासिक १ लाख १० हजार मेट्रिक टन जति हो । तर हामीले त्योभन्दा बढी नै ल्याइरहेका थियौं । कोसी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा ग्यासको कुनै गुनासो छैन । समस्या केवल बागमती प्रदेश र विशेष गरी काठमाडौं मा हो । जसको मुख्य कारण कृष्णभीरको पहिरो नै हो ।  अगस्ट महिनामा मात्रै हामीले ४२ लाख सिलिन्डर आयात गरेका थियौं, जबकि हाम्रो खपत ३२ लाख मात्र थियो । १० लाख सिलिन्डर बढी ल्याउँदा ल्याउँदै पनि बाटोका कारण मौज्दात बजारमा पुग्न सकेन ।

धादिङमा रहेका ग्यास प्लान्टहरूको अवस्था के छ ? त्यहाँबाट आपूर्ति किन हुन सकेन ?

धादिङमा २२ वटा ग्यास प्लान्टहरू छन् । तर कृष्णभीरको बाटो बन्द भएपछि ती प्लान्टहरू सञ्चालन गर्न सकिएको छैन । अहिले हामीलाई हेटौंडा र चितवनका प्लान्टहरूले सपोर्ट गरिरहेका छन् । तर त्यहाँबाट ग्यास भरेर काठमाडौं ल्याउन ९/१० घण्टाको लामो समय लाग्छ । हाम्रो टार्गेट दैनिक ४० हजार सिलिन्डर ल्याउने हो । ट्रकहरूको मुभमेन्ट कति स्मूथ हुन्छ । त्यसैमा हाम्रो कार्यक्षमता  भर पर्छ । 

यो संकट समाधानका लागि उद्योगी व्यवसायीहरूसँग निगमको समन्वय कसरी भइरहेको छ ?

हामीले आयल निगम र उद्योगी व्यवसायीहरूको संयुक्त टोलीसहितको एक टास्क फोर्स गठन गरेका छौं । तराईका प्लान्टहरू २४ सै घण्टा चलाउने, सिलिन्डर भर्ने र तुरुन्तै ट्रकमा लोड गरेर काठमाडौं पठाउने काममा हामी निरन्तर समन्वयमा छौं । 

पेट्रोलियम पदार्थ (पेट्रोल/डिजेल) को अवस्था के छ ? अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेको कुरा पनि
सुनिन्छ, निगमले कसरी काम गरिरहेको छ ?

पेट्रोलियम पदार्थमा हामीलाई ग्यासमा जस्तो ठुलो समस्या छैन । किनभने अमलेखगञ्जबाट पाइपलाइनमार्फत इन्धन आइरहेको छ । हामीसँग पर्याप्त ट्याङ्करहरू छन् । बाटोको थोरै अवरोधले अमलेखगञ्जबाट काठमाडौं ल्याउन गाह्रो भएको छैन । थानकोट डिपो र हवाई इन्धनका लागि सिनामङ्गलमा हामीले पर्याप्त मुभमेन्ट गरिरहेका छौं ।  पेट्रोल र डिजेलको आपूर्तिमा कुनै समस्या हुँदैन ।

अहिले देशमा पेट्रोलियम पदार्थको खपत कति छ र यो घट्ने सम्भावना के छ ?

पेट्रोलियम पदार्थको औसत खपत दैनिक ६/७ सय किलोलिटर (करिब ३५ देखि ४० गाडी) जति भइरहेको छ । अहिले कृष्णभीरको बाटोले गर्दा सवारी साधनको मुभमेन्ट कम छ, त्यसैले खपत केही घटेको देखिन्छ । तर हामीसँग अमलेखगञ्जसम्म ब्याकअप भएकोले पेट्रोल र डिजेलमा हामी ढुक्क छौं । 

सरकारले कृष्णभीरको बाटो कहिलेसम्म पूर्ण रूपमा खुल्छ भनेको छ ?

पूर्वाधार विकास मन्त्रालय यसमा जुटेको छ भन्ने खबर छ । प्राविधिकहरूले कम्तीमा १५ दिन (आधा महिना) लाग्ने बताएका छन् । यो १५ दिन हामी सबैका लागि चुनौतीपूर्ण छ ।

यो संकटको समयमा उपभोक्ताहरूलाई तपाईँको केही विशेष आग्रह छ ?

मेरो विनम्र अनुरोध छ, जो उपभोक्तासँग पहिले नै एक वा दुईवटा भरिएका सिलिन्डर छन् । कृपया तेस्रो सिलिन्डर लिन नआउनुहोस् । जोसँग एउटै पनि छैन, उसलाई प्राथमिकता दिऊँ । यदि सञ्चय गर्ने प्रवृत्ति रोकियो भने हिजो र आज आएको १०/२० हजार सिलिन्डरले पनि टार्गेट ग्रुपलाई राहत दिन्छ। यो समय भनेको एक/अर्कालाई मानवता देखाउने समय हो । मै खाऊँ, मै लाऊँ भन्ने सोच त्यागेर संकटको घडीमा हातेमालो गरौं । यो नैतिक शिक्षा र नागरिक जिम्मेवारीको कुरा पनि हो । 

निगम सधैं घाटामा छ भन्ने सुनिन्छ । यो घाटा कसरी हुन्छ ? यसको प्रक्रिया अलिकति बुझाइदिनुस् न ।

नेपालको आफ्नै उत्पादन छैन । हामीले साउदीको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार भारतीय आयल कर्पोरेसनसँग सम्झौता गरेका छौं । इन्डियाले कतिमा किन्यो भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा साउदीको कच्चा तेलको भाउ कति छ । जहाज भाडा कति लाग्यो, रेल्वे फ्रेट कति पर्यो भन्ने आधारमा मूल्य तय हुन्छ ।

आइओसीले १५/१५ दिनमा पठाउने मूल्यमा भन्सार शुल्क र ढुवानी खर्च जोडेर हाम्रो लागत मूल्य निस्कन्छ । यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्यो तर सरकारले जनता मारमा पर्छन्, अहिले मूल्य नबढाऊ भन्यो भने निगम घाटामा जान्छ । लागतभन्दा कममा बेच्दा घाटा हुन्छ, थोरै नाफा राखेर बेच्दा नाफा हुन्छ ।

null

हाल निगमको घाटा कति छ ?

अहिले हाम्रो घाटा करिब १ अर्ब २४ करोड रुपैयाँ छ ।

तपाईँ निगमको नेतृत्वमा आउनुभएको छ, संस्थागत सुधार र इन्धन व्यवस्थापनका लागि तपाईँका आगामी योजनाहरू के-के छन् ?

मैले नेपाल आयल निगमको सेवा र व्यवस्थापनलाई सुदृढ बनाउन मुख्य गरी चारवटा प्राथमिकतामा जोड दिएको छु । ऊर्जा सुरक्षाका लागि राज्यमा कम्तीमा एक महिनासम्म पुग्ने इन्धन भण्डारण क्षमता बढाउने, ग्यास भण्डारण गृह निर्माण गर्ने र आपूर्तिलाई थप सहज बनाउन एलपीजी पाइपलाइन विस्तार गर्ने लक्ष्य मेरो छ । 

यसका साथै, निगमको सम्पूर्ण सेवालाई डिजिटलाइज गरी डिलरहरूले घरमै बसेर अनलाइन कारोबार गर्न सक्ने सर्भिस ओरिएन्टेड प्रणाली निर्माण गर्ने सोच लिएको छ । यसैगरी, संस्थाभित्र पारदर्शी सुशासन कायम गर्दै निगमलाई नाफामा लैजाने र परम्परागत पेट्रोलियम पदार्थको विकल्पका रूपमा हाइड्रोजन, इथेनोल तथा बिटुमिनजस्ता क्षेत्रमा काम गरी व्यवसायलाई विविधीकरण र विकेन्द्रीकरण गर्ने रणनीति तय मैले गरिरहेको छु । 

अन्त्यमा, ग्यास अभावले आत्तिएका उपत्यकावासीलाई के भन्न चाहनुहुन्छ ?

म यति भन्न चाहन्छु कि राज्यको दायित्व सबैको घरमा चुल्हो बाल्नु हो र हामी त्यसमा प्रतिबद्ध छौं ।  बाटोले साथ दिएमा हामी जति पनि ग्यास ल्याउन सक्षम छौं । उपभोक्ताहरू नआत्तिनुहोस्, धेरै दिन लाग्दैन । आपूर्ति विस्तारै सहज हुँदैछ । आफूसँग ग्यास छ भने नभएकालाई पालो दिऊँ, हामी चाँडै नै यो समस्या समाधान गर्छौं । 

Share News