एउटा स्टल बनाउन ८० लाख खर्च
काठमाडौं । नाडा अटो शोमा नयाँ गाडीका मोडलसँगै आकर्षक स्टलले पनि दर्शकको ध्यान तान्ने गरेका छन् । ब्रान्डको पहिचान र नयाँ उत्पादनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न अटोमोबाइल कम्पनीहरूले स्टल निर्माणमै ठूलो रकम खर्च गर्ने गरेका हुन् । अटो व्यवसायीहरूका अनुसार नेपालमा आयोजना हुने नाडा अटो शो तथा ठूला मोबिलिटी एक्स्पोमा एउटा अटोमोबाइल स्टल निर्माण गर्न २० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । स्टलको क्षेत्रफल, डिजाइनको जटिलता, प्रविधिको प्रयोग तथा सम्बन्धित ब्रान्डको आवश्यकताअनुसार खर्च फरक पर्ने गरेको उनीहरूको भनाइ छ । साना तथा सामान्य प्रकृतिका स्टल निर्माणमा तुलनात्मक रूपमा कम खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् । विशेषगरी दुईपांग्रे, अटो पार्ट्स वा अन्य साना ब्रान्डका स्टलमा १० लाख रुपैयाँसम्म खर्च हुने गरेको उनीहरूले जानकारी दिए । मध्यम स्तरका अटोमोबाइल स्टल निर्माणमा भने २० देखि ३० लाख रुपैयाँसम्म खर्च हुने गरेको ओमोडा एन्ड जेकोका एक प्रतिनिधिले बताए । उनका अनुसार स्टलको आकार बढ्दै जाँदा डिजाइन, प्रविधि र सजावटमा थप लगानी गर्नुपर्ने भएकाले खर्च पनि बढ्दै जान्छ । ठूला तथा प्रिमियम चारपांग्रे ब्रान्डका स्टलमा खर्च अझै बढी हुने गरेको छ । यस्ता स्टल निर्माणमा ३० लाखदेखि ८० लाख रुपैयाँसम्म खर्च हुने गरेको व्यवसायीहरू बताउँछन् । यसपटकको अटो शोमा केही स्थापित गाडी ब्रान्डले स्टलको निर्माण तथा सजावटमा मात्रै ७० लाख रुपैयाँसम्म खर्च गरेको उनीहरूको दावी छ । स्टलमै किन हुन्छ यति ठूलो खर्च ? अटो शोमा स्टल भनेको केवल गाडी राख्ने ठाउँ मात्रै नभई ब्रान्डको ‘प्रिजेन्टेसन’ गर्ने मुख्य माध्यमसमेत हो । त्यसैले कम्पनीहरूले स्टललाई आकर्षक, प्रविधिमैत्री र फरक देखाउन ठूलो रकम खर्च गर्ने गरेका हुन् । स्टल निर्माणको खर्चमा सबैभन्दा ठूलो हिस्सा स्ट्रक्चर तथा फेब्रिकेसनमा जाने गरेको छ । मेटल फ्रेम, काठको काम, प्लाइउड, फिनिसिङ तथा गाडी राख्न आवश्यक बलियो स्टेज निर्माणमा उल्लेख्य रकम खर्च हुन्छ । त्यस्तै, फ्लोरिङमा पनि कम्पनीहरूले विशेष ध्यान दिने गरेका छन् । गाडी अड्याउन मिल्ने बलियो संरचनासँगै कार्पेट वा प्रिमियम लेमिनेटेड फ्लोरिङ प्रयोग गर्दा लागत बढ्ने गर्छ । पछिल्लो समय स्टलको आकर्षण बढाउन लाइटिङ र डिजिटल डिस्प्लेमा पनि ठूलो लगानी हुन थालेको छ । आकर्षक लाइट, डिजिटल स्क्रिन तथा ब्याकग्राउन्डमा राखिने ठूला एलईडी भिडियो वाल स्टलको प्रमुख आकर्षण बन्ने गरेका छन् । एलईडी भिडियो वालको भाडा, ढुवानी, जडान तथा सञ्चालन खर्चसमेत महँगो पर्ने व्यवसायीहरू बताउँछन् । त्यसैगरी ब्रान्डिङ तथा थ्रीडी लोगो, फ्लेक्स, विनाइल स्टिकर, ब्यानरलगायतका सामग्री निर्माणमा पनि खर्च हुने गरेको छ । कम्पनीले आफ्नो ब्रान्डको पहिचान र नयाँ मोडललाई प्रमुखताका साथ देखाउन खोज्दा डिजाइन तथा ब्रान्डिङको लागत बढ्ने गर्छ । स्टल निर्माणसँगै लजिस्टिक र जनशक्तिको खर्च पनि जोडिन्छ । भृकुटीमण्डपजस्ता प्रदर्शनीस्थलमा निर्माण सामग्री तथा उपकरण ओसारपसार गर्ने, प्राविधिक जनशक्ति परिचालन गर्ने, रातिसम्म काम गर्ने कामदार तथा प्राविधिकको पारिश्रमिक र डेलिभरी खर्चले पनि कुल लागत बढाउने गरेको व्यवसायीहरूको भनाइ छ । अर्थात्, अटो शोमा देखिने एउटा आकर्षक स्टल पछाडि लाखौँ रुपैयाँको लगानी मात्र होइन, डिजाइनदेखि फेब्रिकेसन, प्रविधि, ब्रान्डिङ र जनशक्तिसम्मको ठूलो तयारी जोडिएको हुन्छ । यही कारण अटोमोबाइल कम्पनीहरूबीच गाडीका मोडलसँगै ‘कसको स्टल आकर्षक ?’ भन्ने प्रतिस्पर्धासमेत बढ्दै गएको छ ।
बाजेको सेकुवाको आम्दानी साढे ४५ करोड, विदेशसहित २६ शाखा विस्तार
काठमाडौं । बाजेको सेकुवा लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४.६० प्रतिशत अर्थात् ५ करोड ८० लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । आफ्नै स्वामित्वमा सञ्चालित शाखाबाट भएको कारोबार, साझेदारीमा आधारित शाखा सञ्जालको विस्तार तथा साझेदार शाखाबाट प्राप्त शुल्क आम्दानीमा भएको वृद्धिले कम्पनीको समग्र आम्दानी बढेको जनाएको छ । स्थापित ब्रान्ड पहिचान, भौगोलिक क्षेत्रमा बढ्दो पहुँच तथा नेपालमा व्यवस्थित भोजनालयप्रतिको बढ्दो आकर्षणले पनि आम्दानी वृद्धिमा सहयोग गरेको कम्पनीको भनाइ छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३३ करोड ७० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । पछिल्ला वर्षमा कम्पनीको आम्दानी निरन्तर बढ्दै गएको देखिन्छ । सन् २००९ नोभेम्बरमा स्थापना भएको बाजेको सेकुवाले विभिन्न स्वाद र रुचिलाई लक्षित गर्दै दुई सयभन्दा बढी परिकार उपलब्ध गराउँदै आएको छ । परम्परागत नेपाली सेकुवा परिकार बिक्री गर्ने एउटा भोजनालयबाट सुरु भएको कम्पनी संस्थापक परिवारको मार्गदर्शनमा विस्तार हुँदै देशकै परिचित रेस्टुरेन्ट शृंखलामध्ये एक बनेको छ । बाजेको सेकुवा सञ्चालक समितिको अध्यक्षमा चेतनाथ भण्डारी रहेका छन् । उनले बाजेको सेकुवाको नेतृत्वसँगै सवारीसाधन, खुद्रा व्यापार, सूचना प्रविधि तथा घरजग्गालगायत विभिन्न क्षेत्रमा रहेका व्यवसायको समेत अध्यक्षता गर्दै आएका छन् । कम्पनीकी प्रबन्ध निर्देशक नितिमा भण्डारी रहेकी छिन् । उनी बैष्णो इन्टरप्राइजेज प्रालि, अमेरिकास्थित बाजेको सेकुवा एलएलसी तथा चेनी क्यापिटल प्रालिलगायत विभिन्न व्यावसायिक संस्थाकी संस्थापक तथा सञ्चालकसमेत हुन् । हाल बाजेको सेकुवाका कुल २६ वटा शाखा सञ्चालनमा रहेका छन् । तीमध्ये २० वटा शाखा साझेदारीमा आधारित सञ्चालन प्रणालीअन्तर्गत छन् भने ६ वटा शाखा कम्पनीको आफ्नै स्वामित्वमा सञ्चालन भइरहेका छन् । यसअनुसार कुल शाखामध्ये करिब ७७ प्रतिशत साझेदारीमा र २३ प्रतिशत कम्पनीको प्रत्यक्ष स्वामित्वमा रहेका छन् । विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा शाखा साझेदारी प्रणालीमार्फत सञ्चालन भइरहेका छन् । कम पुँजीमा तीव्र रूपमा नयाँ बजारमा विस्तार गर्न साझेदारी प्रणालीलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ । साथै, रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा आफ्नै स्वामित्वका शाखा सञ्चालन गरी बजारमा बलियो उपस्थिति कायम गर्ने नीति कम्पनीले लिएको छ । खाद्य व्यवसायको प्रकृतिका कारण कम्पनीले ताजा मासु, मसला तथा छिट्टै बिग्रन सक्ने अन्य खाद्य सामग्रीको पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ । खानाको गुणस्तर र परिकारको स्वादमा एकरूपता कायम गर्न कम्पनीले सामान्यतः एकदेखि दुई महिनासम्मको खाद्य सामग्री मौज्दात राख्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको मौज्दात राख्ने अवधि ४० दिन रहेको थियो भने अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ३६ दिन थियो । कम्पनीले अधिकांश कच्चा पदार्थ विभिन्न आपूर्तिकर्ता तथा वितरकमार्फत खरिद गर्दै आएको छ । त्यस्ता आपूर्तिकर्ताबाट सामान्यतः एकदेखि दुई महिनासम्मको उधारो सुविधा प्राप्त गर्ने गरेको छ । कम्पनीको खुद सञ्चालन चक्र गत आर्थिक वर्षमा १७ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो चक्र २ दिन मात्र रहेको थियो । शाखा सञ्जाल विस्तार हुँदै जाँदा आपूर्ति व्यवस्थापन, केन्द्रीकृत खाद्य प्रशोधन तथा वितरण सुविधामा थप लगानी आवश्यक पर्ने भएकाले आगामी दिनमा चालु पुँजीको आवश्यकता बढ्न सक्ने देखिएको छ । बढ्दो प्रतिस्पर्धा चुनौती बाजेको सेकुवा नेपालमा अत्यधिक प्रतिस्पर्धात्मक तथा धेरै साना व्यवसाय रहेको रेस्टुरेन्ट क्षेत्रमा सञ्चालन हुँदै आएको छ । पछिल्ला वर्षमा बहुराष्ट्रिय छिटो सेवा दिने रेस्टुरेन्ट तथा स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारसँगै प्रतिस्पर्धा थप तीव्र बनेको छ । केएफसी, पिज्जा हट तथा डोमिनोजजस्ता बहुराष्ट्रिय रेस्टुरेन्टका साथै बर्गर हाउस, चिकेन स्टेसनलगायत स्थानीय रेस्टुरेन्ट शृंखलाको विस्तारले बजारमा प्रतिस्पर्धात्मक दबाब बढाएको छ । यस्ता व्यवसायसँग पर्याप्त वित्तीय स्रोत, व्यवस्थित आपूर्ति प्रणाली तथा प्रभावकारी प्रचारप्रसारको क्षमता रहेकाले उनीहरूले छोटो समयमा बजार हिस्सा विस्तार गर्न सक्ने अवस्था रहेको जनाएको छ । त्यस्तै, साना भोजनालय, स्थानीय खाजा पसल तथा सडकमा खाना बिक्री गर्ने व्यवसायले समेत कम मूल्यमा परिकार उपलब्ध गराउँदै आएका छन् । यसले मूल्यप्रति संवेदनशील ग्राहकलाई आकर्षित गर्ने भएकाले बाजेको सेकुवामाथि थप प्रतिस्पर्धात्मक दबाब परेको छ । बहुराष्ट्रिय तथा संगठित रेस्टुरेन्ट शृंखलासँगै साना तथा असंगठित भोजन व्यवसायबाट समेत प्रतिस्पर्धा बढेकाले कम्पनीको मूल्य निर्धारण क्षमतामा केही सीमा देखिएको छ । विशेषगरी कच्चा पदार्थ तथा अन्य सञ्चालन सामग्रीको मूल्य बढ्दा त्यसको सम्पूर्ण भार तत्काल ग्राहकमा सार्न नसक्दा कम्पनीको नाफामा दबाब पर्न सक्ने जोखिम रहेको छ । कच्चा पदार्थको मूल्यमा हुने उतारचढावसँगै ब्याजदरमा हुने परिवर्तन पनि कम्पनीका लागि चुनौतीका रूपमा रहेको छ । कम्पनीको ऋणको ब्याजदर परिवर्तनशील प्रकृतिको रहेकाले बैंक तथा वित्तीय संस्थाको आधार ब्याजदर बढ्दा कम्पनीको ब्याज खर्चसमेत बढ्न सक्छ । यसले आगामी दिनमा कम्पनीको नाफा तथा तरलतामा दबाब सिर्जना गर्न सक्ने देखिन्छ ।
बैंकहरूको 'अटो लोन' होड: ४.६६ प्रतिशतमै गाडी कर्जा, कुन बैंकको अफर कस्तो ?
काठमाडौं । १८औं नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् । ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन् । नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक-फरक छन् । अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ । ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ । बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ । सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ । नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ । योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ । एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ । अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो । बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ । ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ । ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ । ७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ । त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ । अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो । कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ । लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । ७ वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा हुनेछ । बैंकले सेवा शुल्क ०.५० प्रतिशत लिने जनाएको छ । त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन् । यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन्। सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ। नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा दिएका छन् ।