‘मुखले मात्रै भनेर हुँदैन, पर्यटकलाई सुरक्षा सुनिश्चित गर्नुपर्छ’

नेपालको पर्यटन क्षेत्रले हरेक वर्ष कुनै न कुनै प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा अकस्मात् आएको बाढीले पनि पर्यटन क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ । पर्यटकीय सिजन सुरु हुनै लागेका बेला आएको यस विपत्तिका कारण पर्यटन क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको छ । बाढीका कारण पर्यटकीय पूर्वाधारमा क्षति पुग्नुका साथै पर्यटकको आवागमन र बुकिङमा समेत प्रत्यक्ष असर परेको छ । यसै विषयमा केन्द्रित रहेर स्वा टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक जिस्वान तुलाधरसँग विकासन्युजकर्मी बबिता तामाङले गरेको कुराकानीको संक्षिप्त अंश । बाढीपछि पर्यटक आगमन र बुकिङमा कति असर परेको छ ? अहिले रसुवामा आएको बाढी होस् वा नेपालमा घट्ने जुनसुकै घटनाले सबैभन्दा धेरै असर गर्ने क्षेत्र भनेको पर्यटन नै हो । बाढीपहिरोलगायत विपद् आउँदा नेपालको आन्तरिक तथा बाह्य पर्यटन दुवैमा असर पर्छ । अहिलेको अवस्थामा वास्तविकता एउटा छ, तर अर्कोतिर सञ्चारमाध्यममा आएका विभिन्न समाचार हेरेर पर्यटकहरूले असुरक्षित महसुस गर्न थाल्नुभएको छ । जसले गर्दा अहिले बुकिङहरू पोस्टपोन हुने क्रममा छन् । बुकिङ गरिसकेका टिकट रद्द नै गर्नेभन्दा पनि केही समय पछाडि सार्ने पर्यटकहरू धेरै हुनुहुन्छ । नेपाल आइसक्नुभएका पर्यटकहरू भने अहिले पनि टुर गरिरहनुभएको छ । तर तुलनात्मक रूपमा यसपटक बाढीले पहिलेभन्दा ठूलो क्षति पुर्‍याएकाले पर्यटन क्षेत्रमा समस्या परेकै छ । विशेषगरी अहिले कैलाश जाने हाम्रो पिक सिजन हो । कम्तीमा तीन/चार रात बस्ने गरी कैलाश जाने ठूलो संख्यामा पर्यटकहरू हुनुहुन्थ्यो । अहिले त्यसमा शतप्रतिशत नै असर परेको छ । यो सालमात्रै होइन, आउने वर्षहरूमा पनि यसले प्रभाव पार्ने छ । किनभने ठूलो संख्यामा कैलाश जाने पर्यटकहरू हुनुहुन्थ्यो ।  नेपाल भ्रमणमा आउने कति प्रतिशत जति पर्यटक आगमन प्रभावित भएको अनुमान गर्नुभएको छ ? धामिक पर्यटकका रुपमा ठूलो स्केलमा कैलाश जाने पर्यटकहरू आउनुहुन्थ्यो । नेपाल आएर कैलाश जाने बेस्ट अप्सन नै थियो । विशेषगरी कैलाश जाने मूख्य पर्यटकहरुमा गैरआवासीय नेपाली, भारतीय पर्यटकरु र अन्तर्राष्ट्रिय पर्यटकहरू पर्दछन् । यो धार्मिक भ्रमण रद्द हुँदा नेपाल आउने लगभग ३० प्रतिशत पर्यटक आगमन प्रभावित भएको छ ।  अहिलेको मुख्य सिजनमै यस्तो घटना भयो । अब अर्को वर्षका लागि पनि पर्यटकहरूले असुरक्षित महसुस गर्ने अवस्था हुन सक्छ । अन्य नियमित टुरमा पनि असर परेको छ । ट्रेकिङ सिजन पनि भर्खर सुरु भएकाले नियमित ट्रेकिङ क्षेत्रहरू प्रभावित भएका छन् । अहिले ट्रेकिङ सिजन भएकाले अब अन्य ट्रेकिङ क्षेत्रमा पनि असर परेको छ । मैले धेरै साथीहरूसँग कुरा गर्दा ५० प्रतिशतभन्दा बढी एडभेन्चर र रिलिजियस टुरिजममा असर परेको जानकारी आएको छ । विशेषगरी मनाङ, मुस्ताङलगायत क्षेत्रमा एडभेन्चर र रिलिजियस टुरिजममा ठूलो प्रभाव परेको छ । अहिलेको यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने सकारात्मक सन्देश दिनु कति आवश्यक छ ? अहिलेको घटनाले अन्तर्राष्ट्रिय बजारमा ‘सिंगो नेपाल नै असुरक्षित’ रहेको नकारात्मक सन्देश प्रवाह भइरहेको छ । तर अहिलेको बाढीबाट मुख्य रूपमा रसुवा, नुवाकोट र धादिङ गरी सीमित क्षेत्र बढी प्रभावित भएका छन् । ती क्षेत्रबाहेक अन्य ठाउँमा नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने काम हाम्रो तर्फबाट भइरहेको छ । सरकारले पनि आफ्नो ठाउँबाट अपिल गरिरहेको छ । सकारात्मक सन्देश जाने गरी सरकारले पहल सुरु गरिसकेको छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै विमानस्थल सञ्चालनमा छन् । नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने मुख्य भूमिका सरकार र नेपाल पर्यटन बोर्डकै हो । यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । यो परिस्थितिमा पर्यटकलाई नेपाल सुरक्षित छ भन्नु मात्रै पर्याप्त छ ? अहिले हाम्रो मुख्य भूमिका के हुन्छ ? पैसा कमाउने हेतुले मात्रै होइन, देशलाई उठाउन आर्थिक रूपमा पनि हामीलाई पर्यटकको समर्थन आवश्यक छ । तर त्यसका लागि पर्यटकलाई जबरजस्ती नेपाल आउन आग्रह गर्ने कुरा आउँदैन । सरकारले यसका लागि स्पष्ट नीति ल्याउनुपर्छ । अहिले पर्यटकलाई खालि ‘आउनूस्, आउनूस्’ भनेर मात्रै हुँदैन । जोखिमको अवस्था नबुझी पर्यटकलाई बोलाएर फेरि प्रभावित गराउन सक्छौं । त्यसैले सरकारले ठोस योजना बनाउनुपर्छ । आपत्कालीन अवस्थामा ल्यान्डिङ, उद्धार, सुरक्षा तथा अन्य आवश्यक सेवाहरू उपलब्ध छन् भनेर सुनिश्चित गर्नुपर्छ । त्यसको विश्वसनीय सन्देश दिन सक्नुपर्छ । मुखले मात्रै ‘नेपाल आउनूस्’ भनेर हुँदैन जस्तो लाग्छ । पर्यटक नेपाल आएर यहाँ बसेका बेला कुनै घटना भयो र ‘यस्तो भयो’ भनेर सुन्नुपर्ने अवस्था आउनु हुँदैन । त्यो पैसा कमाउनेभन्दा पनि ठूलो कुरा हो । पर्यटनबाट आर्थिक गतिविधि र मोबिलिटी बढाउनुपर्छ, तर पर्यटकलाई सुरक्षा सुनिश्चित गरेर मात्रै ल्याउनुपर्छ । पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन कति समय लाग्ला ? अब पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन धेरै समय लाग्छ । नेपाल पर्यटन बोर्ड र सम्बन्धित संघसंस्थाले सरकारसँग समन्वय गरेर पर्यटकलाई सुरक्षाको ठोस सुनिश्चितता नदिएसम्म पर्यटक ल्याउनु पनि बेकार हुन्छ । आफ्नै इच्छाले पर्यटक आउनु फरक कुरा हो, तर अहिले पर्यटकलाई बोलाउनकै लागि मार्केटिङ गर्नु उपयुक्त हुँदैन । यो सानोतिनो विपत्ति होइन । फेरि पनि यस्ता विपत्ति आउन सक्छन् भन्ने समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गइरहेका छन् । त्यसैले आवश्यक अनुसन्धान गरेर वास्तविक र ग्राउन्ड बेस्ड डेटा तयार गर्नुपर्छ । त्यसका आधारमा मात्रै पर्यटकलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाएर मार्केटिङ गर्नुपर्छ ।

खल्तीमा ५० रुपैयाँ बोकेर शवगृहमा आमाको खोजी गर्दै सोनम

काठमाडौं । ‘आमालाई भेट्न सकूँ’ ५३ वर्षीय सोनम गुरुङको अहिलेको सबैभन्दा ठूलो चाहना यहीँ हो । त्रिवि शिक्षण अस्पतालको गेटमा उभिएर उनी बोलिरहेका थिए । मुस्ताङबाट काठमाडौं आएका सोनम अस्पतालको शवगृहमा पुगे । एकपछि अर्को गर्दै शव हेरे ।  हरेक अनुहारमा आफ्नी आमाको अनुहार खोजे । तर उनले आमा भेटेनन् भेटे त क्षतविक्षत भएका शवहरू । कतै आमा भेटिन्छिन् कि भन्ने आशाले उनका आँखा शवगृहभित्र डुलिरहे । तर आमा भेटिएकी छैनन् । सोनम तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल परिसरमा छन् । हिजोदेखि मुखमा अन्न परेको छैन । तर थकानभन्दा ठूलो बेचैनी छ । उनी भन्छन्, ‘आमा कहाँ छिन् ? आमाको लाश भेटे चित्त बुझाउँथेँ,’ सोनमको आवाजमा आशाभन्दा बढी पीडा सुनिन्थ्यो । उनकी आमा  ६० वर्षकी थिइन् । घाँटीको पछाडिपट्टि एउटा कोठी थियो । आमालाई पहिचान गर्नुपरे त्यही कोठी आफ्नो सबैभन्दा ठूलो चिनो हुने सोनम बताउँछन् । अहिले उनीसँग आमाको फोटो पनि छैन । मोबाइल हराइसकेको छ । फोन नम्बरहरू छैनन् । सम्पर्क गर्ने भरपर्दो माध्यम छैन ।  सोनम आमाको खोजीमा काठमाडौं आएका उनी आफै हराएको मान्छेजस्तै भएका छन् । सोनमको परिवार ठूलो थिएन । आमा, बहिनी र उनी । सोनमको बहिनीको विवाह टिम्मुरेमा भयो । ज्वाइँ, भान्जा र भान्जीसहितको परिवार थियो । गत बुधबार भोटेकोसीमा आएको बाढी आएपछि आमा, बहिनी, ज्वाइँ, भान्जाभान्जी हराए । बहिनीले आमालाई कैलाश घुमाउन टिमुरे ल्याएकी थिइन् । बहिनीको घरमा बसेको बेला आमालाई बाढीले बगाएको सोनम बताउँछन् ।  सोनम मुस्ताङकै एउटा गुम्बामा करिब १५ वर्षदेखि बस्दै आएका छन् ।  उनको आफ्नै घर–परिवार छैन । त्यसैले आमा नै उनको सबैभन्दा नजिकको मान्छे थिइन् । पहिले आमा कतै भेटिन्छिन् कि भन्ने आशा थियो । कसैले खबर गर्छ कि भन्ने प्रतीक्षा थियो । तर दिन बित्दै गए । आजसम्म उनले आशा मारेका छैनन् । त्रिवि शिक्षण अस्पतालको शवगृहमा पुग्दा उनको मनमा एउटा डर थियो । कतै आमाको शव यहीँ त छैन ? त्यहीँ डरले उनी शवगृहभित्र छिरे। एक–एक शव हेरे। तर आमाको अनुहार भेटिएन । सोनम आँखाभरि आँशु पारेर भन्छन्, ‘आमा बितिसकेकी छन् भने पनि आफ्नै आँखाले आमालाई हेर्न पाऊँ । अन्तिमपटक आमाको अनुहार हेर्न पाऊ । आफ्नो संस्कारअनुसार आमाको अन्तिम संस्कार गर्न पाऊँ ।’ आमाको अनुहार हेर्न पाएमा आफ्नो मनले शान्ति पाउने उनी बताउँछन् ।  आमा कहाँ हराइन् ? कसरी हराइन् ? अहिले कहाँ छिन् ? जीवित छिन् कि छैनन् ? यदि छैनन् भने कहाँ छिन् ? यी प्रश्नले सोनमलाई भित्रैदेखि सताइरहेका छन् ।  सोनम त्रिवि अस्पतालमा बसेको तीन दिन भयो । बाहिर बाहिर कतै गए पनि मन भने अस्पतालमै छ । उनी घरी शवगृह पुग्छन् त घरी कता । सोनमसँग अहिले जम्मा ५० रुपैयाँ छ । मोबाइल हराइसकेको छ । चितवनमा शवको पहिचान गर्न आमाजस्तै लागेर हामफाल्दा गोजीबाट मोबाइल झरेको थाहा नपाएको उनी बताउँछन् ।  आफन्तसँग सम्पर्क गर्ने साधन छैन । काठमाडौंजस्तो ठूलो सहरमा उनी एक्लै छन् । गुम्बामा बस्ने मान्छेका लागि काठमाडौंको भीडभाड आफैमा अनौठो संसार हो । त्यसमाथि आमा हराएको पीडा । आमाको अनुहार सम्झिँदा उनी आफूलाई सम्हाल्न सक्दैनन् । सोनमका लागि आमा हराउनु उनको लागि एउटा आफन्त हराउनु मात्र होइन, उनको संसार हराउनु हो । ‘म एक्लो भएँ, मेरो कोही छैन,’ आँसु पुछ्दै सोनम भन्छन् । आमाको खोजीमा काठमाडौं आएका सोनम आफै सहाराविहीन बनेका छन् । अहिले उनको अवस्था यस्तो बनेको छ—आमा खोज्दै आएका सोनम आफै सहाराको खोजीमा छन् ।

दशैंअघि नै ५ सचिव अवकाशमा जाँदै

काठमाडौं । यस वर्षको दशैंअघि नै सरकारका पाँच जना सचिवहरू सेवाबाट बाहिरिने भएका छन् ।  असोज दोस्रो सातादेखि तेस्रो सातासम्मको करिब पाँच दिनको अवधिमा सचिव तथा सचिवसरहका पाँच उच्च अधिकारी अनिवार्य अवकाशमा जाने भएका हुन् । निजामती किताबखानाको अवकाशसम्बन्धी विवरणअनुसार पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, जल तथा ऊर्जा आयोगका सचिव डा. सरजुकुमार वैद्य, नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थ असोजमा सेवाबाट बाहिरिने भएका हुन् । सूचीअनुसार सबैभन्दा पहिले गोपालप्रसाद सिग्देल असोज १३ गते अवकाशमा जानेछन् । सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरेपछि उनी अनिवार्य अवकाशमा जान लागेका हुन् । प्राविधिक सेवाबाट सचिव बनेका सिग्देलले पूर्वाधार तथा विकास क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । सिग्देलले अवकाश लिएको दुई दिनपछि जल तथा ऊर्जा आयोगका सचिव डा. सरजुकुमार वैद्य असोज १५ गते सेवाबाट बाहिरिनेछन् । ५८ वर्षे उमेरहद पूरा भएका कारण उनी अनिवार्य अवकाशमा जान लागेको किताबखानाको तथ्यांकले देखाएको छ ।  वैद्यले जल तथा मौसम विज्ञान विभागको महानिर्देशकदेखि विभिन्न मन्त्रालय तथा निकायको सचिवसम्मको जिम्मेवारी सम्हालिसकेका छन् । असोज १७ गते दुई जना विशिष्ट श्रेणीका अधिकारीको अवकाश हुनेछ । नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपमहालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारी सोही दिन सेवाबाट बाहिरिनेछन् ।  कितावखानाका अनुसार दुवै जना सचिवहरु ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । रेग्मी र अधिकारीले अवकाश लिएको भोलिपल्ट राष्ट्रिय योजना आयोगका सदस्यसचिव रविलाल पन्थ असोज १८ गते अवकाशमा जानेछन् । सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा भएपछि उनी सेवाबाट बाहिरिन लागेका हुन् ।  पन्थले संघीय सरकारका विभिन्न निकायमा जिम्मेवारी सम्हाल्नुका साथै गण्डकी प्रदेशको प्रमुख सचिवका रूपमा समेत काम गरिसकेका छन् । असोज १३ देखि १८ गतेसम्म पाँच दिनको अवधिमा पाँच जना विशिष्ट श्रेणीका अधिकारी सेवाबाट बाहिरिने किताबखानाको तथ्यांकले देखाएको छ ।