नेप्सेमा थपियो नेपाल लाइफको ४५ लाखभन्दा बढी बोनस सेयर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ४५,१४,३८१.६० कित्ता बोनस सेयर सूचीकरण गरिएको हो । सूचीकरण भएसँगै सम्बन्धित बोनस सेयर हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन् । उक्त बोनस सेयर कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गरेको बोनस सेयरअन्तर्गत नेप्सेमा सूचीकृत भएको हो ।
क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओको जिम्मेवारी अभिजित केसीलाई
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी अभिजित केसीलाई दिइएकाे छ । साउन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । नियामक निकाय नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रानुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नगरुञ्जेलका लागि केसीलाई निमित्त सीइओ तोकिएको हो ।
युनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा, निमित्त सीईओमा रेना रिजाल
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । कम्पनीको साउन १८ बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईको राजीनामा स्वीकृत गरेको हो । भट्टराईको राजीनामा आइतबारदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । भट्टराईको राजीनामा स्वीकृत भएसँगै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।