‘अनपेक्षित विपदमा यथार्थ मूल्याङ्कन र द्रूत दाबी फर्छ्याैट गर्न सर्भेयर सक्षम’
काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले नेपाली बीमा सर्भेयरहरूले अनपेक्षित विपद्का बेला जोखिमको यथार्थ मूल्याङ्कन गरी समयमै दाबी फर्छ्याैट गर्न सक्ने क्षमता प्रमाणित गरिसकेको बताएका छन्। आइतबार (आज) रिसर्च इन्स्टिच्युट अफ सर्भेयर्स इन इन्स्योरेन्स (रिसी) को प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष क्षेत्रीले नेपाली बीमा क्षेत्रको बढ्दो दायरा, प्राविधिक जनशक्तिको विकास तथा विशेषगरी विपद् व्यवस्थापनमा सर्भेयरहरूले निर्वाह गर्दै आएको भूमिकाबारे धारणा राखेका थिए । उनका अनुसार नेपालमा पर्याप्त संख्यामा अनुभवी तथा दक्ष बीमा सर्भेयरहरू छन् । ‘कोभिड–१९ महामारी तथा हालैका ठूला प्राकृतिक विपद्का समयमा नेपाली सर्भेयरहरूले निर्वाह गरेको भूमिका, छिटो दाबी फछ्र्यौटको लागि पुर्याउनु भएको योगदान प्रशंसनीय छ,’ अध्यक्ष क्षेत्रीले भने । त्यसैगरी, कार्यक्रममा अध्यक्ष क्षेत्रीले नेपालको आर्थिक क्षेत्रमा बैंकिङ प्रणालीको दबदबा रहँदै आएकोमा पछिल्लो समय बीमा क्षेत्रले पनि आफ्नो बलियो उपस्थिति जनाउँदै गएको बताए । उनले भने, ‘जीवन तथा निर्जीवन बीमाले देशको समग्र वित्तीय क्षेत्रमा ठूलो हिस्सा ओगटिसकेको छ भने योसँगै लगानीका चुनौती र यसलाई थप आधुनिक एवं उन्नत बनाउनुपर्ने दायित्व पनि थपिएको छ ।’ उनले दक्षिण एसियाली क्षेत्रमै नेपालको बीमा सेवा प्रवाहको स्थान राम्रो र प्रशंसनीय हुँदै गएको उल्लेख गरेका छन्। त्यस्तै, क्षेत्रीले केही वर्ष अघिसम्म देशमा एक जना पनि एक्चुअरी नभएको स्थिति स्मरण गर्दै अहिले त्यो अवस्थामा सुधार हुँदै गएको औंल्याए । उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयको ‘स्कुल अफ म्याथमेटिक्स’ बाट उत्पादित जनशक्तिले यो अभाव पूरा गर्दै लगेको र नेपालमै एक्चुअरीहरू तयार हुने वातावरण बनेको छ । अध्यक्ष क्षेत्रीले हवाई दुर्घटना हुँदा नेपाली सर्भेयरलाई समेत सर्भेमा सहभागी गराउनुपर्नेमा जोड दिए । विदेशी सर्भेयरलाई मात्र जिम्मेवारी दिनुभन्दा नेपाली सर्भेयरलाई संयुक्त सर्भेमा संलग्न गराउँदा उनीहरूको क्षमता र कार्यक्षेत्र विस्तार हुने उनको भनाइ छ । उनले नेपालजस्तो बाढी र भूकम्पको उच्च जोखिममा रहेको मुलुकले आफ्नै जोखिम मोडेल विकास गर्नुपर्ने आवश्यकता औंल्याए । विभिन्न देशले आफ्नो भौगोलिक जोखिमअनुसार बाढी, भूकम्प तथा ज्वालामुखीको क्षतिसम्बन्धी जोखिम मोडेल विकास गरेको उल्लेख गर्दै नेपालले भने हालसम्म आफ्नै जोखिम मोडेल बनाउन नसकेको उनको भनाइ थियो । विदेशी सेमिनार तथा सम्मेलनमा सहभागी हुँदा विभिन्न देशले आफ्नै जोखिम मोडेल प्रस्तुत गर्ने गरेको अनुभव सुनाउँदै क्षेत्रीले नेपालले पनि आफ्नै बाढी तथा भूकम्पको जोखिमसम्बन्धी मोडेल विकास गर्नुपर्नेमा जोड दिएका छन् । हाल नेपाल बाह्य एक्चुअरीले गरेको अनुमान वा निर्धारण गरेको दरमा निर्भर हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ । यसका लागि नेपाल बीमा प्राधिकरणले अनुसन्धानमूलक संस्थालाई सहयोग गरी व्यापक अध्ययन गराउनुपर्ने उनले बताए । आफ्नै देशको जोखिमलाई आधार बनाएर मोडेल विकास गर्न सके त्यसबाट बीमा क्षेत्र र नियामक दुवै लाभान्वित हुने क्षेत्रीको विश्वास छ । क्षेत्रीले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धानमा विभिन्न संस्थाबीच सहकार्य आवश्यक औंल्याए । बीमा क्षेत्रसँग आबद्ध सर्भेयर एसोसिएसन तथा बीमक संघलाई समेत सहभागी गराएर यस्तो अध्ययन र अनुसन्धानलाई अघि बढाउन सकिने उनले बताए । कार्यक्रममा क्षेत्रीले बीमा पोलिसी डिजाइनदेखि दाबी मूल्याङ्कनसम्मका विषयमा अनुसन्धान गरी आवश्यक सुझाव र सिफारिस तयार गर्नुपर्ने उल्लेख गरे । इन्जिनियरिङ बीमामा ‘फिडिक’को सिफारिस तथा इन्जिनियरिङ काउन्सिलले तयार गर्ने बीमा क्लजलाई आधार बनाउने गरिएको उल्लेख गर्दै क्षेत्रीले नेपालमा पनि बीमा क्षेत्रका प्राविधिक विषयमा अनुसन्धानको आवश्यकता रहेका औंल्याएका छन् । उनका अनुसार नेपाल बीमक संघले प्राविधिक विषयमा सुझाव दिन विभिन्न टेक्निकल ग्रुप तथा सब–कमिटी गठन गरेको छ । अन्डरराइटिङसम्बन्धी विषयमा सुझाव दिन सात सदस्यीय टेक्निकल सब–कमिटी रहेको तथा स्ट्यान्डर्ड फाइनान्स र पुनर्बिमालगायतका विषयमा पनि प्राविधिक सब–कमिटीमार्फत काम भइरहेको उनले बताए । बीमक संघको एउटा सब–कमिटीले तेस्रो पक्ष बीमाको प्रिमियम कति निर्धारण गर्ने भन्ने विषयमा अध्ययन गरी प्रतिवेदनसमेत तयार गरिसकेको क्षेत्रीले जानकारी जानकारी दिए । त्यस्तै, सरकारले गठन गरेको बीमा सुधार कार्यदललाई संघका तर्फबाटसुझावसमेत दिइएको उनले उनले बताए । विशेषगरी जलविद्युत् क्षेत्रमा भइरहेको ठूलो लगानीलाई मध्यनजर गर्दै यससम्बन्धी जोखिम र तथ्यांकको व्यवस्थित अध्ययन आवश्यक रहेको उनले बताए । नेपालमा हालसम्म करिब ४ हजार मेगावाट जलविद्युत् विकास भइसकेको उल्लेख गर्दै क्षेत्रीले हाइड्रोपावरसम्बन्धी तथ्यांक संकलन र जोखिम न्यूनीकरणका लागि ‘मेट्रो पावर’ गठनको तयारी भइरहेको जानकारी दिए । बीमा कम्पनीसँग हाल कुनै जलविद्युत् आयोजनाबाट कति बीमा शुल्क संकलन भयो र कति दाबी पर्यो भन्ने तथ्यांक भए पनि आयोजनाको क्षमता, उचाइ, नदीको बहाव तथा पानीको गति जस्ता विस्तृत जोखिमसम्बन्धी तथ्यांकको अभाव रहेको उनले बताए । ‘यी सम्पूर्ण तथ्यांक प्राप्त भएपछि मात्रै सही प्राइसिङ गर्न र विद्यमान बीमा प्रडक्टलाई स्ट्यान्डर्डाइज गर्न सकिन्छ,’ क्षेत्रीले भने । अनुसन्धानका लागि नेपाल बीमक संघ तथा समग्र बीमा उद्योग नै सहकार्य गर्न तयार रहेको उनले बताएका छन् ।
मधेशका उत्कृष्ट अभिकर्तालाई सन नेपाल लाइफको सम्मान
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी विकास व्यवस्थापक, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय व्यवस्थापक तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय व्यवस्थापक प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा मधेश प्रदेश प्रमुख चौधरीले कम्पनीको बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे । प्रमुख बजार अधिकृत चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई कम्पनीले प्राथमिकतामा राख्दै विभिन्न नीति तथा कार्यक्रम निर्माण एवं कार्यान्वयन गर्दै आएको बताए । अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि सधैं तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए । कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एजेन्सी विकास व्यवस्थापक तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति विशेष धन्यवाद तथा आभार व्यक्त गरे । उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने पनि उनले बताए । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी विकास व्यवस्थापक तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । सम्मानले अभिकर्ताहरूमा थप उत्साह र ऊर्जा प्रदान गर्दै आगामी दिनमा अझ उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् । कार्यक्रमले अभिकर्ताको उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । सन नेपाल लाइफले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै कम्पनीले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिइरहेको जनाएको छ ।
बीमा सेवा व्यवस्थित र बीमितमैत्री बनाउन प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले बीमा सेवा थप व्यवस्थित, पारदर्शी र बीमित मैत्री बनाउन जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिलाई निर्देशन दिएको छ । कोशी प्रदेश कार्यालयमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख राजेन्द्र महर्जनलाई स्वागत तथा बधाई दिँदै आगामी आर्थिक वर्षका कार्ययोजना, बीमा व्यवसायका चुनौती र सेवा सुधारका विषयमा छलफल गरिएको हो । कार्यक्रममा कोशी प्रदेशमा कार्यरत जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महर्जनले बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि अभिकर्तालाई थप जिम्मेवार, व्यावसायिक र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहेर बीमा योजना बिक्री गर्ने अभिकर्ताले बीमालेखका सर्त, जोखिम, कभरेज, दाबी प्रक्रिया, ल्याप्स तथा सरेन्डरसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने उनले बताए । मिससेलिङ (गलत वा अपूर्ण जानकारी दिएर बीमा बिक्री गर्ने प्रवृत्ति) न्यूनीकरणका लागि अभिकर्तालाई जिम्मेवार बनाउने गरी ‘डिक्लेरेसन फर्म’ विकास गरी कार्यान्वयनमा ल्याउनुपर्ने महर्जनको भनाइ थियो। बीमितलाई आवश्यक जानकारी दिएको सुनिश्चित भएपछि मात्रै बीमालेख जारी गर्ने प्रणाली विकास गर्नुपर्ने उनले बताए । मिससेलिङका कारण दाबी भुक्तानीका क्रममा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उनले अभिकर्तालाई बीमा योजनाको बिक्रीमा मात्र नभई व्यावसायिक आचरण, जोखिम पहिचान, बीमित परामर्श र बीमालेखका सर्तबारे नियमित प्रशिक्षण दिन कम्पनीलाई निर्देशन दिए । त्यस्तै, निर्जीवन बीमा व्यवसायमा बैंकमार्फत जारी हुने बीमालेखको विवरण र उपयुक्तता समेत प्रभावकारी रूपमा समीक्षा गर्न उनले आग्रह गरे । विशेषगरी सम्पत्ति तथा स्टक बीमामा कच्चा पदार्थ, अर्धतयारी तथा तयारी वस्तुको विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । बीमालेखमा उल्लेखित विवरण र वास्तविक जोखिमबीच असमानता हुँदा भविष्यमा दाबीका क्रममा विवाद हुनसक्ने भएकाले कम्पनीका प्रदेश प्रमुख तथा कर्मचारीले बीमालेख जारी गर्नुअघि आवश्यक विवरण र घोषणाको पूर्णता जाँच गर्नुपर्ने उनको भनाई थियो । बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वासयोग्य बनाउन बीमितलाई पर्याप्त सूचना दिने, अभिकर्तालाई उत्तरदायी बनाउने तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने महर्जनले बताए । साथै, प्रदेश कार्यालय, शाखा, अभिकर्ता र सम्बन्धित निकायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।