काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने क्षतिका लागि नयाँ बीमालेख जारी गरेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिएर कम्पनीले ‘अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख’ सञ्चालनमा ल्याएको हो । यो बीमालेख २०८३ असोज ७ गतेदेखि मंसिर ७ गतेसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तुका धान उत्पादक किसानलाई यस बीमालेखमा समेटिएको छ ।
यस बीमालेखमा प्रति कट्ठा १ हजार ५९५ रुपैयाँ बीमाङ्क रकम कायम गरिएको छ । बीमालेख जारी भएको पहिलो दिनमै करिब १ हजार ३०५ किसानको ३ हजार ३०४ कट्ठा क्षेत्रफलको धानको बीमा गरिएको कम्पनीले जनाएको छ ।
यस बीमालेखमा किसानको खेतमा भएको वास्तविक क्षति छुट्टै मूल्याङ्कन गरिने छैन । तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षाको मात्राका आधारमा क्षतिपूर्ति निर्धारण गरिनेछ ।
तोकिएको वर्षाको सूचकांक पुगेमा किसानले छुट्टै दाबी फाराम वा अन्य कागजात बुझाउनुपर्ने छैन । बीमा भुक्तानीका लागि योग्य भएमा दाबी रकम किसानको बैंक खातामा सिधै जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस व्यवस्थाले किसानलाई दाबी प्रक्रियामा लाग्ने कागजी झन्झट र अतिरिक्त समयबाट राहत दिनेछ । अत्यधिक वर्षाका कारण धान उत्पादनमा कमी हुँदा हुने आर्थिक जोखिम व्यवस्थापनमा बीमालेखले सहयोग पुग्ने कम्पनीको विश्वास छ ।