बैंकिङबाट बीमामा बिन्जु

बीमा कम्पनीको सञ्चालक, व्यवसायमा पनि संलग्न

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो समय बिताएकी बिन्जु दाहालले अब आफ्नो व्यावसायिक यात्रा बीमा क्षेत्रमा अघि बढाएकी छन् । उनी युनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा नियुक्त भएकी हुन् ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले दाहाललाई सर्वसाधारण सेयरधनी समूहबाट महिला सञ्चालकमा नियुक्त गरेको हो ।

दाहालले सन् २००६ मा नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्सबाट आफ्नो बैंकिङ करिअर सुरु गरेकी थिइन् । उनले तत्कालीन बैंक अफ एसिया, तत्कालीन इन्टरनेशनल डेभलपमेन्ट बैंक हुँदै मुक्तिनाथ विकास बैंकमा समेत काम गरेकी थिइन् ।

नेपाल फाइनान्समा करिब डेढ वर्ष काम गरेपछि दाहाल तत्कालीन बैंक अफ एसिया (हालको एनआईसी एसिया) बैंकमा आबद्ध भइन् । त्यसपछि उनले इन्टरनेशनल डेभलपमेन्ट बैंकमा जागिर सुरु गरिन् । त्यहाँ करिब ८ वर्ष काम गरेपछि उक्त बैंक नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर भयो । मर्जरपछि उनले एनसीसी बैंकमा करिब दुई वर्ष काम गरिन् । 

बैंकिङ क्षेत्रमा काम गर्दै जाँदा व्यवसाय विस्तार, ग्राहक सम्बन्ध र मार्केटिङतर्फ आफ्नो रुचि र अनुभव बढ्दै गएको दाहाल बताउँछिन् । त्यसपछि तीव्र रूपमा व्यवसाय विस्तार गरिरहेको बैंकमध्येको आफूले मुक्तिनाथ विकास बैंकमा जोडिने अवसर पाएको बताइन् । जहाँ उनले सात वर्ष काम गरिन् । 

बैंकिङ करिअरको लामो यात्राका क्रममा दाहालले फ्रन्ट डेस्कदेखि व्यवसाय विस्तार र ग्राहक व्यवस्थापनसम्मका विभिन्न क्षेत्रमा काम गरेकी छन् । इन्टरनेशनल डेभलपमेन्ट बैंकमा उनले डिपोजिट मार्केटिङ विभागको नेतृत्व गरेकी थिइन् । त्यहाँ उनले एचआर र प्रशासनको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

null

बिन्जु दाहाल ।

त्यसपछि आबद्ध भएका विभिन्न बैंकमा उनले शाखा व्यवस्थापनसँगै विशेषगरी कर्पोरेट बिजनेसमा केन्द्रित भएर काम गरिन् । ग्राहकसँगको सम्बन्ध विस्तार, व्यवसाय वृद्धि र संस्थागत ग्राहक व्यवस्थापनमा उनको लामो अनुभव छ । 

‘जति पनि बैंकमा म आवद्ध भएँ, त्यहाँ ब्राञ्च म्यानेजर नै भएर काम गरेँ । समग्रमा म कर्पोरेट बिजनेसमा बढी केन्द्रित भएँ,’ उनले आफ्नो अनुभव सुनाइन् । 

बीमामा नयाँ अनुभव

बैंकिङ क्षेत्रमा दुई दशक बिताएकी दाहालका लागि बीमा कम्पनीको सञ्चालकको जिम्मेवारी भने नितान्त नौलो अनुभव हो । यद्यपि बैंकिङ क्षेत्रमा रहँदा बीमा कम्पनीसँग सहकार्य गर्दै काम गरेको अनुभव भएकाले बीमा क्षेत्र उनका लागि पूर्ण रूपमा नयाँ नहुने बताइन् ।

‘इन्स्योरेन्समा मेरो पहिलो प्रत्यक्ष संलग्नता हो, तर, बैंकिङ क्षेत्रमा रहँदा पनि अप्रत्यक्ष रूपमा इन्स्योरेन्ससँग जोडिएकै थिएँ,’ उनले भनिन् । 

बैंकले इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर ग्राहकलाई विभिन्न इन्स्योरेन्स प्रोडक्ट बिक्री गर्दै आएको पनि उनी सुनाउँछिन् ।

बैंकिङ क्षेत्रमा हासिल गरेको अनुभवलाई बीमा कम्पनीको बोर्डमा कसरी प्रयोग गर्ने भन्ने दाहालको चुनौती छ । तर, उनले आफूमा राम्रो नेतृत्व गर्न सक्छु भन्ने आत्मविश्वास रहेको उल्लेख गरिन् । 

बैंकिङ क्षेत्रमा लामो हासिल गरेको कर्पोरेट बिजनेससम्बन्धी अनुभव, ग्राहक सम्बन्ध र व्यावसायिक नेटवर्कलाई बीमा क्षेत्रमा उपयोग गर्ने उनको योजना रहेको दाहाल बताउँछिन् । 

‘अहिले पोलिसी लेभलका विषयमा छुट्टै जानुपर्ने हुन्छ होला, तर कर्पोरेट सेक्टरमा लामो समयको अनुभव र बनेको सम्बन्धका आधारमा यहाँ पनि बिजनेसमा योगदान गर्न सक्छु भन्ने लागेको छ,’ उनले भनिन् । 

यो कुरामा कम्पनीलाई आफूले विश्वास दिलाएको पनि दाहालले सुनाइन् । 

बैंकिङबाट बाहिरिएलगत्तै दाहाल बीमामा जोडिएकी हुन् । युनाइटेड अजोड इन्स्योरेन्ससँग पुरानो सम्बन्ध भएका साथीहरूमार्फत सञ्चालक बन्ने प्रस्ताव आएपछि वित्तीय क्षेत्रकै अर्को क्षेत्रमा काम गर्ने अवसरका रूपमा आफूले त्यसलाई स्वीकार गरेको उनी बताउँछिन् ।

यद्यपि बैंकिङ क्षेत्रबाट बाहिरिए पनि बैंकिङसँगको सम्बन्ध भने नटुट्ने उनको भनाइ छ । ‘बैंकिङ इन्स्टिच्युट छोडे पनि बैंकिङ छोडिँदैन होला,’ उनी भन्छिन्, ‘तर तत्काल कुनै बैंकमा आबद्ध हुने मेरो सोच छैन ।’

कर्पोरेट सेक्टरमा विशेषगरी नेतृत्व तहमा महिलाको संख्या अझै कम छ । पुरुषप्रधान क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण भए पनि त्यसबाट आफू कहिल्यै नडराएको र पछि नहट्ने दाहाल दावी गर्छिन् । बैंकिङ क्षेत्रमा रहँदा ज्ञान र आत्मविश्वासका साथ नेतृत्व गरेकी उनी बीमा क्षेत्रमा पनि त्यही आत्मविश्वासका साथ अघि बढ्ने अठोटमा छिन् ।

उनी पुरुषप्रधान वातावरणलाई अभिशापका रूपमा होइन, आफ्नो क्षमता र उत्कृष्टता प्रमाणित गर्ने अवसरका रूपमा हेर्छिन् । उनको विश्वासमा नेतृत्व भनेको ठूलो आवाजमा बोल्नु होइन, आफ्नो कामको मापदण्ड उच्च बनाउनु हो । यही सोचले आफूलाई आजको अवस्थामा ल्याएको उनी बताउँछिन् । 

व्यवसायमा पनि संलग्न 

यसबाहेक दाहाल पछिल्लो समय व्यवसायमा पनि जोडिएकी छन् । उनी पाटनढोकामा रहेको ‘कासा’मा पार्टनरका रूपमा आबद्ध भएकी हुन् । 

बैंकिङ क्षेत्र औपचारिक र व्यावसायिक पेसा भएकाले पहिलेदेखि नै आफूले लगाउने पहिरन र एटायरमा उनको विशेष रुचि थियो । यही रुचिका कारण उनी फेसन तथा एटायर व्यवसायसँग पनि जोडिन पुगेकी हुन् ।

कासा आफ्नो लामो समयदेखि नम्बर वान क्लाइन्टका रूपमा रहेको र त्यहाँका सञ्चालकसँग राम्रो व्यावसायिक सम्बन्ध बनेको उनले बताइन् । बैंकिङ करिअरबाट बाहिरिएपछि कासाका सञ्चालकले सँगै व्यवसाय गर्ने प्रस्ताव राखेपछि आफू ओनर पार्टनरका रूपमा जोडिएको उनको भनाइ छ ।

Share News