काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को असार महिनाको सेवा दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई ९७ करोड ७३ लाख २९ हजार ७ सय ७८ रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डको असोज ६ गतेको निर्णयअनुसार स्वीकृत बजेटबाट उक्त रकम असोज ७ गते सम्बन्धित अस्पताल तथा स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको हो । बोर्डका अनुसार देशभरका ३६८ सेवा प्रदायक स्वास्थ्य संस्थाले असार महिनाको दाबीबापतको रकम प्राप्त गरेका छन् ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८३/८४ मा अघिल्लो आर्थिक वर्षको भुक्तानी दिन बाँकी दाबी रकम १४ अर्ब ५१ करोड ५ लाख ९२ हजार १ सय ३४ रुपैयाँ अनुमान गरिएको थियो । दाबी रुजु गर्दा भने ११ अर्ब ५३ करोड १५ लाख ९२ हजार ६० रुपैयाँ ३९ पैसा मात्र भुक्तानीयोग्य रकम स्वीकृत भएको छ ।
हालसम्म कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ अर्ब ९२ करोड २ लाख ७९ हजार ६ सय रुपैयाँ निकासा भएको बोर्डले जनाएको छ । यसमध्ये यसअघि ९ अर्ब २३ करोड ८५ लाख ४२ हजार ४ सय ३७ रुपैयाँ २२ पैसा भुक्तानी भइसकेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को माघदेखि असारसम्मको ६ महिनामा ६७ लाख ९६ हजार ७ सय ४२ वटा दाबी परेको थियो । ती दाबीमा रहेको ८६ करोड ४६ लाख ८३ हजार २ सय ६१ रुपैयाँ ५९ पैसा सहभुक्तानी रकमबाहेक १० अर्ब ७० करोड ६४ लाख २४ हजार ४ सय ७४ रुपैयाँ ७७ पैसा भुक्तानीयोग्य रहेको बोर्डले जनाएको छ । रुजुका क्रममा ४५ करोड ८४ लाख ४ हजार १ सय ८३ रुपैयाँ ३८ पैसा अस्वीकृत गरी कट्टा गरिएको थियो ।
असार महिनामा सूचना प्रविधि शाखाबाट पेश भएको स्वीकृत दाबी रकम ९९ करोड ९८ लाख ५४ हजार २ सय ६३ रुपैयाँ ६७ पैसा थियो । यसमध्ये पेस्की बाँकी रहेका ११ संस्थाको ३० हजार ३ सय ९१ रुपैयाँ २० पैसा, खाता नम्बर नभएका पाँच संस्थाको २ लाख ४९ हजार ९१ रुपैयाँ ११ पैसा तथा बोर्डको निर्णयअनुसार रोक्का गरिएका दुई संस्थाको २२ लाख ९९ हजार ४ सय ९७ रुपैयाँ ७ पैसा कट्टा तथा रोक्का गरिएको थियो ।
यसपछि असार महिनाको कुल स्वीकृत रकम ९९ करोड ७२ लाख ७५ हजार २ सय ८४ रुपैयाँ २९ पैसा कायम भएको थियो । बोर्डको २०८१ चैत १९ गतेको निर्णयअनुसार स्वीकृत दाबी भुक्तानी रकमको २ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्नुपर्ने भएकाले असार महिनाको रकमबाट १ करोड ९९ लाख ४५ हजार ५ सय ५ रुपैयाँ ६८ पैसा कट्टा गरिएको थियो ।
२ प्रतिशत रकम कट्टा गरेपछि बाँकी ९७ करोड ७३ लाख २९ हजार ७ सय ७८ रुपैयाँ ६० पैसा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा पठाइएको बोर्डका उपसचिव (लेखा) पुष्पप्रसाद गुरागाईंले जानकारी दिएका छन् ।