असोजमा बैंकहरुको ब्याजदर बढ्यो, विकास बैंकको १३ प्रतिशत, फाइनान्सको १३.४७ प्रतिशत पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका छन् । विगत ६ महिनादेखि स्थिर रहेको बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर असोज महिनामा भने बढेको हो । अब असोज महिनामा भने बैंकहरुले १० प्रतिशत थप गरेर व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका हुन् । हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका थिए । यस्तै, विकास बैंकहरुले पनि आफ्नो ब्याजदर वृद्धि गरेका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर ब्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएका हुन् । यस्तै, फाइनान्स कम्पनीहरुले पनि ब्यक्तिगत मुद्दती निक्षेपमा १३.४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.४७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएका छन् । शुक्रबार अर्थात् भदौको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले सूचना प्रकाशन गरी ब्याजदर बढाएको जानकारी गराएका हुन् । यसअघि बिहीबार बसेको नेपाल बैंकर्स एसोशिएसनको बैठकले ६ महिनादेखि स्थिर रहेको ब्याजदर स्वतन्त्र छाड्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम राष्ट्र बैंकले तोकेको सीमा भित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर असोज १ गतेदेखि लागू हुने छ । रेमिटयान्स खातामा भने एक प्रतिशत बढी ब्याजदर तोकेका छन् ।

नबिल बैंकले शुरु गर्यो भिसा डाइरेक्ट सेवा, झन्झट बिनै रेमिटेन्स पठाउन सकिने

काठमाडौं । नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ । बैंकले भिसा इन्टरनेशनलको सहकार्यमा उक्त सेवा सुरु गरेको हो । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् । यो सेवा लागु भएसँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट-बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने भएको हो । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड/खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘यो सेवाको शुरुवातसँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।

ग्लोबल आईएमई बैंकले ल्यायो हालसमकै ठूलो क्यासब्याक अफर, असोजदेखि लागू हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् । बैंकले ल्याएको स्मार्ट च्वाइस टेक्नोलोजिज् (एससीटी) सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित “एससीटी तथा यूपीआई कार्डको दमदार दशैं धमाका थ्री-डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक पाउन सक्ने छन् । यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल (पस) टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससीटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात १ हजार रुपैयाँ (अधिकतम) सम्म क्यासब्याक पाउने छन् । यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ । असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई ५०० सय रुपैयाँ तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई १ हजार रुपैयाँ क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा ५०० सय रुपैयाँको हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ७७ जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।