असोजदेखि निक्षेपको व्याजदर बढ्ने, सर्वसाधारणले १२.१३ प्रतिशत व्याज पाउने

काठमाडौं । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर खुला छाड्ने निर्णय गरेको छ । बिहीबार बसेको संघको बैठकले लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेको हो । संघका उपाध्यक्ष सुनिल केसीले अहिले तरलताको अभाव कायमै रहेको अवस्थामा नेपाल राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदरमा खुला नीति अवलम्बन गरेको बताए । ‘हामीले लामो समायदेखि ब्याजदर बढाएका थिएनौं, यसले ग्राहकलाई एक किसिमको सहज पनि भएको थियो, अब दशैं तिहार नजिकिँदै छ, मानिसले सो समयमा खर्च पनि बढी गर्छन्, खर्च कम गर्नका लागि भएपनि उनीहरुसँग भएको पैसा बैंकिङ प्रणालीमा ल्याउनु पर्ने बाध्यता छ, त्यसैले पनि अब बैंकहरुले राष्ट्र बैंकको नीतिभित्र रहेर ब्याजदर तोक्न सक्छन्,’ उनले विकासन्युजसँग भने । योसँगै अब बैंकहरुलाई असोजमा ब्याजदर बढाउने बाटो खुला भएको छ । अब बैंकहरुले यसअघि प्रकाशन गरेको ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरि ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ । हाल बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.१३ तथा संस्थागत तर्फ ९.१३ प्रतिशत दिइरहेका छन् । अब यसमा १० प्रतिशत बढाउँदा व्यक्तिगतको १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर हुन सक्छ । नेपाल राष्ट्र बैंकले पनि चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने नीति अगाडि सारेको थियो ।  राष्ट्र बैंकले ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई १.५ प्रतिशतले वृद्धि गरी ७ प्रतिशत रहेको बैंकदरलाई साढे ८ प्रतिशत, साढे ५ प्रतिशत रहेको नीतिगत दरलाई ७ प्रतिशत र ४ प्रतिशत रहेको निक्षेप संकलन दरलाई साढे ५ प्रतिशत पुर्‍याएको थियो ।

बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग, बैंकले नमान्दा फस्टायो मिटरब्याज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भइरहेको बेला बैंकबाट ऋण पाउन सकसको अवस्था छ । यो अवस्थामा ग्राहकहरुले बैंकबाट ऋण लिनका लागि बिचौलियाको नै प्रयोग गर्नु परेको देखिएको छ । मिटरब्याज अपराध नियन्त्रण सिफारिसस कार्यदलले बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता रहेको देखाएको हो । गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल संयोजक रहेको कार्यदलले बैंकले ऋण चुकाउन आधार नगर्दासम्म ऋण नदिने र ऋण नदिएपछि बैंकमा आउाँ बिचौलिया लिएर आउने अभ्यास देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सो प्रतिवेदनमा ऋणको केही अंश तिनै बिचौलियाहरुले नै लैजाने गरेको पनि उल्लेख गरेको छ । यस्तै, कार्यदलको प्रतिवेदनले सहकारीभित्र पनि ठूलो बदमाशी भइरहेको देखाएको छ । ‘बैंक वित्तीय संस्थामा लागानी गर्ने पैसा छैन, थप्रै सहकारी दर्ता नै नभइ काम गरेका छन् जसको नियमन र कारवाही हुन सकेको छैन, बैंकमा बिचौलिया लिएर ऋण लिनु पर्ने अवस्था छ, ऋणको आधा अंश बिचौलियाले नै लैजान्छन्,’ प्रतिवेदनमा उल्लेख छ । अध्ययनबाट मिटरब्याजलाई विद्यमान कानुननले मुलुकी देवानी संहिता–२०७४ अनुसार ब्याख्या गरेको देखिएको हुनाले सो कानुनबाट पीडितले न्याय नपाउने पनि ठहर गरेको छ । कार्यदलले वैदेशिक रोजगारीमा जानको लागि लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुँदा उपचार गर्न, छोराछोरीको विवाह, ब्रतबन्ध, किरिया खर्च, चाडवाड खर्च लगायत सामाजिक संस्कारको कार्य गर्न, छोरा छोरीहरूको पढाईको खर्च तिर्न, दैनिक घर खर्च चलाउन, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न, खेतीको लागि आवश्यक मल बिऊ किन्न र बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको सावाँ ब्याज भुक्तानी गर्न, लगायत काम गर्न मिटबरब्याजमा ऋण लिने गरेको देखाएको छ । यस्तै, मानिसहरुले व्यवसाय गर्न, घर बनाउन, प्रशासनिक खर्चका लागि पनि मिटरब्याजमा ऋण लिने गरेका छन् । [pdf id=352066]

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियामा शाखा संचालन गर्ने भएको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइसकेको र दक्षिण कोरिया सरकारको स्वीकृतिका लागि पर्खिरहेको बताएको छ । बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न नेपालीहरुलाई आग्रह समेत गरेको छ । ग्लोबल आइएमई बैंक र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा गरेको अन्तक्रिया कार्यक्रममा यस्तो जानकारी  दिएको हो । कार्यक्रममा बोल्दै मन्त्री शर्माले अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष बैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठूलो महत्व रहेको बताएका छन् । कोरियामा रहेका गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न अर्थमन्त्री शर्माले आग्रह गरेका हुन् । ‘मुलुकमा अहिले विदेशी मुद्राको सञ्चिति घटेको छ, बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव छ, अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिट्यान्स भित्र्याउन तपाईहरुले सहजीकरण गर्नुपर्यो,’ उनले भने । द्रूत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठूलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको उनको भनाइ छ । मन्त्री शर्माले कोरियामा शाखा स्थापनाको प्रक्रिया अघि बढाएकोमा खुशी व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर–आवासीय नेपालीहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गरे । ‘यहाँका गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपाली संघलाई पनि अनुरोध गर्छु, तपाई हामी हातेमालो गरेर अगाडि बढाँै, मुलुकको सम्मृद्धि सम्भव छ, नेपालमा प्रविधि र लगानी भित्र्याउन सहयोग गर्नुहोस्,’ उनले भने । ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको र दक्षिण कोरियाको नियामक निकायबाट शाखा सञ्चालनको लागि स्वीकृतिका लागि पर्खिरहेको उनले बताए । नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक शैद्धान्तिक स्विकृति लिइसकेको उनको भनाइ छ ।