८ दिनका लागि बैंकिङ प्रणालीबाट १ खर्ब ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज कात्तिक १२ गते ८ दिनको अवधिका लागि १ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो ।

यस बोलकबोल प्रक्रियामा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आफ्नो आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ भने इच्छुक संस्थाहरूले बहु ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन् । यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २८ गते गरिनेछ ।

बोलकबोलमा सहभागी हुँदा घटीमा १० करोड र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ । समान ब्याजदर प्रस्ताव गर्नेहरूको रकम कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड हुनेछ ।

निक्षेप संकलन उपकरणमा लगानी गरेको रकमलाई सम्बन्धित बैंकले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न सक्नेछन् ।

Share News