काठमाडौं । नेपाल बैंकले शाखा समायोजनसम्बन्धी प्राविधिक कामका लागि आफ्ना सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने भएको छ । बैंकले तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म सेवा बन्द गर्न लागेको हो ।
बैंकले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६ः३० बजेसम्म बैंकबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहनेछन् ।
यस अवधिमा ग्राहकले बैंकका नियमित सेवाहरू उपयोग गर्न नपाउने भएकाले आवश्यक बैंकिङ कारोबार समयमै सम्पन्न गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ ।
शाखा समायोजनसम्बन्धी कामलाई व्यवस्थित बनाउन तथ्याङ्क स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ । प्राविधिक काम सम्पन्न भएपछि बैंकका सेवाहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
सेवा बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।