वीरगञ्जस्थित माइस्थान शाखा सिटी अफिसमा गाभ्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले वीरगञ्ज महानगरपालिकामा रहेका आफ्ना दुई शाखालाई समायोजन गर्ने भएको छ । बैंकले वीरगञ्जस्थित माइस्थान शाखालाई वीरगञ्ज सिटी अफिस शाखामा गाभेर एकीकृत रूपमा सञ्चालन गर्न लागेको हो ।

बैंकले पछिल्लो समय डिजिटल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको र वीरगञ्ज महानगरपालिकाभित्र वित्तीय संस्थाका शाखा उल्लेख्य मात्रामा रहेकाले शाखा समायोजन गर्न लागेको जनाएको छ ।

बैंकका अनुसार माइस्थान शाखा समायोजन भएपछि वीरगञ्ज सिटी अफिस शाखा कायम रहनेछ । उक्त शाखा वीरगञ्ज महानगरपालिका-४ मा रहेको छ । दुवै शाखाबीचको दूरी करिब एक किलोमिटर रहेको बैंकले जनाएको छ । 

शाखा समायोजनपछि कात्तिक १६ गते सोमबारदेखि एकीकृत कारोबार सुरु हुनेछ । त्यसपछि माइस्थान शाखाका सम्पूर्ण ग्राहकको खाता तथा व्यक्तिगत विवरण कायम रहने वीरगञ्ज सिटी अफिस शाखामा स्थानान्तरण हुनेछन् ।

ग्राहकले बैंकिङ सेवा लिनका लागि पुरानै शाखामा जानुपर्ने बाध्यता भने रहने छैन । बैंकले आफ्ना सम्पूर्ण शाखाबाट उपलब्ध गराउँदै आएको बैंकिङ सेवा तथा सुविधा समायोजनपछि पनि निरन्तर प्राप्त गर्न सकिने जनाएको छ । 

Share News