विद्यालयको सिकाइ वातावरण सुधार गर्न महालक्ष्मी विकास बैंक र रोटरीबीच साझेदारी

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । असोज ९ गते भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा सञ्चालन हुने विभिन्न शैक्षिक र पूर्वाधार विकास परियोजनामा आर्थिक सहयोग गर्नेछ । बैंकका अनुसार रोटरी क्लबमार्फत विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रम सञ्चालन, कम्प्युटर ल्याब स्थापना तथा विद्यालयको शैक्षिक वातावरण सुधारका परियोजनामा सहकार्य गरिनेछ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा नियमित रूपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यो सहकार्यले सामुदायिक तथा सार्वजनिक विद्यालयका विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता र डिजिटल पहुँच सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पनि आर्थिक सहयोग गरेको जनाएको छ ।

एनआईसी एशियाबाट भीआरएसमा बाहिरिँदै डीसीईओसहित ६ जना, १५ महिनाको तलब पाउने

काठमाडौं । एनआईसी एशिया बैंकबाट ६ जना कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस)मा बाहिरिने भएका छन् । बैंकले ल्याएको भीआरएसमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सन्तोषकुमार राठी, सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) अर्जुनराज खनियाँ, वरिष्ठ प्रबन्धक कैलाश गौतम, उपप्रबन्धकद्वय सुनिल मानन्धर र कानुनीतर्फका उपप्रबन्धक मनोज अधिकारी तथा सहायक प्रबन्धक देवेन्द्र भट्टले आवेदन दिएका हुन् । बैंकका अनुसार भीआरएसअन्तर्गत बाहिरिन चाहेका कर्मचारीहरूको निवेदन पनि स्वीकृत भइसकेको छ । भीआरएसअन्तर्गत बाहिरिन लागेका कर्मचारीले १५ महिनाको तलब बराबरको सुविधा पाउने बैंकले जनाएको छ ।  भीआरएस लिएर बाहिरिने कर्मचारीले प्रयोग गर्दै आएका सवारीसाधनलाई व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने व्यवस्था गरिएको छ । कर्मचारीका रूपमा पाउँदै आएको सुविधाबाहेक अन्य ग्राहकसरहका सुविधा भने उनीहरुले पाउनेछन् । उनीहरूले चाहेमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनलाई लिन चाहेमा व्यावसायिक कर्जामा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ । त्यस्तै, कर्मचारीका रूपमा लिएका कर्जालाई अब सामान्य ग्राहकका रूपमा रुपान्तरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकले यसपटक सहायक प्रबन्धक तहसम्मका कर्मचारीलाई लक्षित गरेर भीआरएस ल्याएको हो । बैंकले जुन तहका कर्मचारीबाट भीआरएसका लागि आवेदन आउने अपेक्षा गरेको थियो, सोहीअनुसार आवेदन आएको जनाएको छ । बैंकले भीआरएस कार्यक्रमलाई खर्च कटौतीका रुपमा मात्रै नलिएको जनाएको छ । संस्थालाई आवश्यकता अनुसार चुस्तदुरुस्त राख्ने उद्देश्यले भीआरएस सुविधा ल्याइएको बैंकको भनाइ छ ।

मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको असोज १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ६ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१औँ वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गरी सेयरधनीलाई लाभांश वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्त कुमार चापगाईंले जानकारी दिए ।