तेलको मूल्य घट्यो

काठमाडौं । रुसका प्रतिबन्धित तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकाको सम्भावित कदमपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । मध्यपूर्वमा पानीजहाजमाथि आक्रमण बढिरहेको र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा पुनः आक्रमण थालेको अवस्थामा बिहीबार तेलको मूल्य करिब २ प्रतिशतले घटेको हो ।

बिहीबार प्रतिब्यारेल २.२८ डलर अर्थात् २.२ प्रतिशतले घटेर १०३.७८ डलरमा झरेको रोयटर्सले जनाएको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल १.३४ डलर अर्थात् १.४ प्रतिशतले घटेर ९३.७५ डलर कायम भएको छ । यससँगै अघिल्लो कारोबार सत्रमा भएको मूल्यवृद्धि उल्टिएको छ ।

अमेरिकी प्रशासनले रुसका केही अनियमित रूपमा सञ्चालन भइरहेका तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा विचार गरिरहेको अमेरिकी अधिकारीले बुधबार बताएका थिए । यसले तेल ढुवानीको भाडा घटाउन र डिजेल ढुवानीमा लचकता बढाउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

पीभीएम आयलका विश्लेषक जोन इभान्सका अनुसार प्रतिबन्धित जहाजमार्फत कानुनी रूपमा तेल ढुवानी गर्न अनुमति दिने सम्भावित कदमले बजारमा आपूर्तिसम्बन्धी चिन्ता कम गर्न सक्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले केही दिनअघि रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएका थिए । त्यसपछि वासिङ्टनले पहिले प्रतिबन्ध लगाइएका जहाजमार्फत कानुनी रूपमा तेल ढुवानी गर्न दिने सम्भावनाबारे थप छलफल अघि बढाएको हो ।

मध्यपूर्वको तनावले मूल्य घट्न दिएन

अमेरिकाको सम्भावित निर्णयले तेलको मूल्यमा गिरावट आए पनि मध्यपूर्वमा बढ्दो द्वन्द्व र समुद्री मार्गमा भएका आक्रमणले मूल्यमा थप गिरावट हुनबाट रोकेको छ ।

साउदी अरेबिया र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व चर्किँदै गएको छ । यसैबीच, होर्मुज जलडमरूमध्य नजिकै पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै घटनामा आक्रमणमा परेका एक कन्टेनर जहाज र एक ड्राई बल्क जहाज डुबेको समुद्री अधिकारीहरूले बताएका छन् ।

पछिल्लो १० दिनमा उक्त जलमार्ग आसपास पानीजहाजमाथि हुने आक्रमण बढेको छ । अमेरिकी पक्षले इरानी बन्दरगाहमा नाकाबन्दी कडा बनाएको र गत महिना थप प्रतिबन्ध लगाएपछि इरानले जवाफी आक्रमण तीव्र बनाएको जनाएको छ ।

विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा उत्पन्न असुरक्षाले तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यलाई उच्च स्तरमा टिकाइराख्न सहयोग गरिरहेको छ ।

एमयूएफजीका विश्लेषकहरूले साउदी अरेबिया र हुथी विद्रोहीबीच जारी द्वन्द्वले तेल बजारमा भूराजनीतिक जोखिमको अतिरिक्त मूल्य कायम राखेको बताएका छन् । यद्यपि, पछिल्ला केही दिनमा ऊर्जा पूर्वाधारमाथि आक्रमण नभएकाले तत्काल आपूर्ति अवरोधको जोखिम केही सीमित देखिएको उनीहरूको विश्लेषण छ ।

युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण ग¥यो

यसैबीच, युक्रेनले रुसको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी गुप्तचर सहयोग फिर्ता लिने कदमलाई ‘खतरनाक’ भन्दै असन्तुष्टि व्यक्त गरेपछि रुसी ऊर्जा पूर्वाधारमाथि आक्रमण पुनः सुरु भएको हो ।

रुसका तेल प्रशोधन केन्द्रमा हुने आक्रमणले इन्धन उत्पादन र आपूर्तिमा अवरोध ल्याउन सक्ने भएकाले विश्व बजारमा मूल्य घट्ने क्रमलाई सीमित पार्न सक्छ ।

यसरी एकातिर रुसका तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी सम्भावित कदमले बजारमा आपूर्ति बढ्ने अपेक्षा जगाएको छ भने अर्कोतिर मध्यपूर्वको द्वन्द्व, समुद्री मार्गमा बढ्दो असुरक्षा र रुसी ऊर्जा पूर्वाधारमाथिका आक्रमणले मूल्यमा दबाब कायम राखेका छन् । 

Share News