नबिल जेन प्रडक्टले घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग गर्नेछ : सीइओ ढुंगाना
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले नबिल जेन प्रडक्टले तरलता अभावको बेला घरघरमा रहेको रकम बैंकिङ प्रणालीमा भित्र्याउन सहयोग पुग्ने बताएका छन् । बुधबार काठमाडौंमा बालबालिकाको लगि एपमा आधरित ‘नबिन जेन अल्फा’ सार्वजनिक गर्दै ढुंगानाले यस्तो बताएका हुन् । उनले नेपालमै पहिलोपटक बालबालिकालाई लक्षित गरेर डिजिटल खुत्रुकेको रुपमा नबिल जेन सुरु गरेको बताए । ‘बालबालिका सामाजिक संजालमा मात्रै झुम्मिने अवस्था अन्त्य गर्न यो प्रडकले सहयोग पुग्ने छ, यस्ता प्रडक्टले बालबालिकालाई बचत गर्ने बानी बसाउने छ,’ उनले भने । १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर ल्याइएको यस एपमा अभिभावकले केही कार्य दिई बालबालिकाले त्यसलाई पुरा गरेको अवस्थामा त्यो पैसाको रुपमा एपमा लिंक गरिएको खातामा जम्मा हुन्छ । नबिल बैंकमा खाता भएकाहरुको लागि यस एपले काम गर्नेछ ।
‘नबिल जेन अल्फा एप’ : अब १८ वर्षसम्मका बालबालिकाले सिक्दै पैसा कमाउन सक्ने
काठमाडाैं । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेकाे छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ढुंगानाले संयुक्त रुपमा एप सार्वजनिक गरेका छन् । ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएकाे बैंकका अध्यक्ष उपेन्द्र पाैडेलले बताए । ‘अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ,’ उनले भने । यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए । बैंकका अनसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ । नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।
कर्पोरेट कर्जाभन्दा सानो कर्जाले अर्थतन्त्रमा सहयोग, बैंकले कुन क्षेत्रमा लगानी गर्दा बढी सुरक्षित ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि विभिन्न क्षेत्र तोकेर कर्जा लगानीका लागि सीमा निर्धारण गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् पनि राष्ट्र बैंकले विभिन्न क्षेत्रहरु तोकेर कर्जाको सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बैंकहरुले २०८२ सम्ममा कृषिमा १५ प्रतिशत, उर्जामा १० प्रतिशत, लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेको छ । १ करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्ष रुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यससँगै बैंकहरुले अन्य धेरै क्षेत्रमा पनि लगानी गर्छन् । बैंकरहरु ठूला आयोजना तथा परियोजनामा कर्जा प्रवाह गर्दा समयावधि बढी हुने भएकाले जोखिम बढी हुने बताउँछन् । साना तथा मझौला खालका उद्योगहरुमा कर्जा गर्दा सर्वसाधारणको जीवन सहज हुने र अर्थतन्त्रलाई समेत ठूलो सहयोग पुग्ने गरेको उनीहरुको बुझाइ छ । ग्लोबल आइएमई बैंकका डीसीईओ सुरेन्द्रराज रेग्मी साना तथा मझौला उद्योग (एसएमई) हरुमा कर्जा प्रवाहमा कर्जा प्रवाह सबैभन्दा सहज भएको अनुभव सुनाउँछन् । एसएमई कर्जा प्रवाह गर्दा जोखिम कम र सजिलो हुने गरेको उनले बताए । साना कर्जा प्रवाह गर्दा बैंकलाई फाइदा नभएपनि देशलाई फाइदा हुने उनको धारणा छ । ‘अधिकांश बैंकहरु एसएमई प्रकारको कर्जामा बढी जोड दिन्छन्, एसएमई रिटेल विजनेश बढी दिगो हुने भएकाले बढी जोड दिएको हो, ग्लोलब आइएमई बैंकले पनि एसएमई कर्जामा बढी जोड दिएको छ, यस्ता कर्जामा जोखिम कम हुन्छ, ठूलो कर्जा बिग्रियो भने बैंकहरुलाई पनि गाह्रो हुन्छ तर सानो कर्जा बिग्रियो भनेपनि बैंकले व्यवस्थापन गर्न सक्छ,’ उनले भने, ‘ग्लोबल आइएमई बैंकको सबैका लागि बैंक भन्ने नारा बोकेको हुँदा सबै क्षेत्रलाई समेट्नु परेको छ, एसएमई कर्जा प्रवाह गर्दा बैंकलाई फाइदा नभएपनि देशलाई बढी फाइदा हुन्छ,’ उनले भने । तर, बैंकले एउटा क्षेत्रलाई मात्रै बढी जोड नदिएर अन्य क्षेत्रमा पनि कर्जा प्रवाह गर्ने गरेको उनको भनाइ छ । बैंकको अधिकतम् पोर्टफोलियो व्यवस्थापन गर्नुपर्ने भएकाले सबै क्षेत्रमा बैंकले कर्जा प्रवाह गर्ने उनले बताए । उनले भने, ‘सबै कर्जा एसएमईमा मात्रै प्रवाह गरिदैंन, सर्टेन पोर्टफोलियो कर्पाेरेटको पनि लिनुपर्छ किनभने विजनेश ग्रोथ पनि गर्नुपर्ने हुन्छ तर अधिकतम कर्जा एसएमईमा प्रवाह गरेका छौं ।’ यस्तै, नबिल बैंकका डीसीईओ मनोज ज्ञवाली कुन क्षेत्रमा बढी कर्जा प्रवाह गर्ने भन्दा पनि ऋणीको प्रकृति हेरेर भर पर्ने बताउँछन् । राम्रो पोर्टफोलियो भएको ऋणी कर्जा माग गर्न आएमा जुनसुकै क्षेत्रको भएपनि स्वीकार गर्ने उनको धारणा छ । ‘कुन क्षेत्रभन्दा पनि ऋणी अनुसार कर्जा लगानी गर्छाै, ऋणी कुन लेभलको छ भन्ने हुन्छ, हामी हाइड्रोपवारलाई गज्जब मान्छौ तर जसले पनि हाइड्रोपावरका लागि कर्जा माग गर्योे भने कम्फर्टेबल फिल नगर्न सक्छौं, हामी रियलस्टेटमा जाँदैनौ भन्छौं तर विश्वासिलो समूह वा ग्राहकले रियलस्टेका लागि कर्जा माग गर्याे भने कम्फर्टेबल हुन सक्छौं,’ उनले भने ‘ऋणीको हिसावमा कुरा गर्ने हो भने फरक आम्दानीका स्रोत देखिन्छ, अधिकतम आम्दानीको स्रोत भएको, विश्वासिलो ऋणीले ल्याएको जुनसुकै परियोजनामा पनि बैंकले कर्जा प्रवाह गर्छ ।’ कर्जा प्रवाह गर्दा आयोजना मात्रै राम्रो भएर नहुने उनको तर्क छ । कर्जा प्रवाह गर्दा ऋणीको नियत हेर्नुपर्ने उनको भनाइ छ । कर्जाको आवश्यकता पुरा गर्नुपर्ने भएकाले आयोजना राम्रो भएर मात्रै नहुने उनले बताए । कर्जा प्रवाह गर्दा ऋणीको नियतमा भर पर्ने भएकाले रिक्वायरमेन्टको नियत राम्रो र क्षमता भएको ऋणीलाई छनौट गर्ने गरेको उनको धारणा छ । ‘लगानीयोग्य रकम अभाव, निक्षेप संकलन भएको छैन भने त्यो बेलामा उपभोगयोग्य कर्जा, उत्पादनशिल क्षेत्रमा लगानी गर्न सकियो भने अर्थतन्त्रमा सहयोग पुर्याउँछ, राष्ट्र बैंकले पनि अपेक्षा गरेको हुँदा अर्थतन्त्रमा सपोर्ट गर्ने कर्जालाई जोड दिनुपर्छ, उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने । गरिमा विकास बैंकका सीईओ गोविन्द ढकाल उत्पादनमुलक क्षेत्र, एसएमई कर्जा, हाउजिङ कर्जामा बढी सुरक्षित हुने गरेको बताउँछन् । कर्जा प्रवाह गर्दा पनि बेला–बेलामा अनुगमन गर्न सकिने क्षेत्रमा ऋण प्रवाह गर्दा सहज हुने गरेको उनको धारणा छ । उनले अनुत्पादक क्षेत्र र परियोजना नखुलाइएका क्षेत्रमा कर्जा प्रवाह गर्दा जोखिम हुने गरेको बताए । ‘उत्पादनमुलक क्षेत्र, एसएमई कर्जा, हाउजिङ कर्जामा बढी सुरक्षित देखिन्छ, ब्यापारमा लगानी गरेको कर्जालाई अनुगमन गर्न सकिन्छ, जसलाई कर्जा दिएको हो त्यसमा लगानी भयो भने त्यो कर्जा बढी सुरक्षित हुन्छ, साना–साना ऋणीलाई दिएको छ भने बढी कर्जा सुक्षित भएको देखिन्छन्,’ उनले भने, ‘रियलस्टेट कर्जा बढी जोखिम हुन्छ किनभने जुनसुकै बेला पनि ‘अप एण्ड डाउन’ हुन सक्छ, अनुत्पादनक क्षेत्रमा गरिएको कर्जा र परियोजना नखुलाएका क्षेत्रमा गरिएका कर्जा पनि बढी जोखिम हुन्छन् ।’ एनएमबि बैंकका डीसीईओ सुदेश उपाध्याय ग्राहकले बढी नगद प्रवाह गर्ने र धितोले धान्न सक्ने क्षेत्रमा कर्जाको जाखिम कम हुने गरेको बताउँछन् । ठूला कर्जामा लगानी बढी र समयावधि पनि धेरै लाग्ने भएकाले जोखिम बढी हुने गरेको उनको भनाइ छ । उनले पनि एसएमई कर्जामा बढी जोड दिने गरेको बताए । ‘ग्राहककानगद प्रवाह र धितोले धान्न सक्ने कर्जा गर्न सुरक्षित हुन्छ, लगानी छटो गर्न चाहेको हो भने रिटेल कर्जा सजिलो हुन्छ, सानो एसएमई लोन छिटाछिटो प्रयोग गरेर छिटै बन्द गर्न सकिन्छ,’ उनले भने, ठूलो कर्जाका लागि अध्ययन गर्नुपर्ने, आयोजनाको जोखिम, क्यास फ्लो लगायतका कुरा हेरेर मात्रै कर्जा प्रवाह गर्नुपर्छ, ठूलो कर्जाका लागि समय पनि बढी लिनुपर्ने हुन्छ, ठूला कर्जामा जोखिम बढी र पैसा पनि बढी लाग्छ ।’ सानिमा बैंकका डीसीईओ तेज बहादुर चन्दले गरिखाने वर्गलाई बढी कर्जा प्रवाह गर्ने गरेको बताए । विभिन्न संस्थाहरुको सहयोगमा सानो क्षेत्रमा अर्बाै रकम कर्जा प्रवाह गरेको उनको भनाइ छ । ठूला कर्पाेरेट हाउसलाई कर्जा दिएर कम सुरक्षित हुने गरेको र यस्ता कर्पाेरट हाउसको अर्थतन्त्रमा समेत खासै सहयोग नरहने उनको धारणा छ । ‘सानिमा बैंकले ४५ प्रतिशत कर्जा न्यून वर्ग, साना साना गरिखाने ऋणीलाई बढी कर्जा प्रदान गरेका छ, यूकेएड सक्षमसँगको सहकार्यमा कृषि कर्जा लगायत सानासाना क्षेत्रमा अर्बाै रुपैयाँ कर्जा लगानी गरेका छौं, सस्टेनबल, उत्पादनशिल, देशभित्रैको अर्थतन्त्रलाई एक्टिभ गर्ने क्षेत्रमा लगानी गरेका छौं,’ उनले भने, ‘ठूला कर्पाेरेट हाउसलाई कर्जा दिँदा कम सुरक्षित, मार्जिन पनि कम हुन्छ, उनीहरुको नेगोसेसन पावर पनि बढी हुने गर्छ, अर्थतन्त्रलाई पनि उनीहरुले खासै टेवा दिँदैनन्, यस्ता कम्पनीले बढीभन्दा बढी आयात गर्छ, अनि विदेशी मुद्रा बाहिर जान्छ, जसले गर्दा रिजर्भ नै सकिन्छ ।’ उनका अनुसार राज्यका नीतिलाई पनि कार्यान्वयन गर्नुपर्ने भएकाले बैंकहरुले उर्जा लगायत ठूला क्षेत्रमा पनि लगानी गर्नु परेको छ । कृषि कर्जा, एजुकेसन लोन, होम लोन, रेसिडेन्टल प्रपोटी कर्जा, विपन्न वर्गका कर्जा, महिला कर्जा, महिला उद्यमी कर्जा सबैभन्दा बढी सुरक्षित रहेको उनको धारणा छ । उनीहरुले आफूले लिएको कर्जा तोकिएको समयमा तिर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले बताए । ‘दीर्घकालका कर्जामा भोलुम बढी हुन्छ, गाडी कर्जा, ब्यापार कर्जा लगायत ठूला कर्जा खहरे खोला जस्ता हुन्, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पनि पारेको हुँदैन,ठूला कर्जाले जनजिविकालाई उजागर गर्न भूमिका खेल्दैन,’ उनले भने । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले साउन महिनासम्मा झण्डै ४२ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । तरलता अभावबाट ग्रसित भएका बैंकहरुले साउन महिनसम्ममा ४१ खर्ब ७७ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकहरुले कुल ३ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ कृषिमा कर्जा लगानी गरेका छन् भने पर्यटन क्षेत्रमा १ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ र उपभोग्य वस्तुमा ७ खर्ब ४६ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।