कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ सेवा सञ्चालन
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबार सिराहा जिल्लाको लक्ष्मीपुर पतारी-४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका-४ स्थित बिना रेमिटेन्सलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । लक्ष्मीपुर पतारीका मेयर रामवलव साह, वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा आरम्भ गरेका हुन् । शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट
काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
एकैदिन नबिल बैंकको १४ नयाँ शाखा उद्घाटन
काठमाडौं । नबिल बैंकले बिहीबार १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको छ । उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले धुम्बाराही मालीगाउँ, जीतपुर बारा, दुवाकोट, गुसिंगाल, इमाडोल, थलि डाँछी, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो । बैंकले १८८ एटीएम र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ ।