फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न अनुकूल वातावरण बनाउँदैछौँ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनलाई प्रोत्साहन गर्न आवश्यक नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था सुदृढ गर्दै अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन् ।

सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर पौडेलले वित्तीय क्षेत्रमा जिम्मेवार नवप्रवर्तनका लागि नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए ।

उनका अनुसार वित्तीय प्रविधिको तीव्र विकासले विश्वभर वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गरिरहेको छ । कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा विश्लेषणजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा महत्वपूर्ण परिवर्तन ल्याउने सम्भावना छ ।

यस्ता नवप्रवर्तनले वित्तीय समावेशिता बढाउनुका साथै वित्तीय सेवाको विस्तार, वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता र समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे ।

गभर्नर पौडेलले नेपालमा डिजिटल वित्तीय सेवाको विकासमा राष्ट्र बैंकले लामो समयदेखि काम गर्दै आएको बताए । विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको नेपालको डिजिटल वित्तीय सेवाको यात्रा अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको उनको भनाइ छ ।

पछिल्लो समय राष्ट्र बैंकले भुक्तानी प्रविधिमा मात्र सीमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुर्याउने फिनटेक नवप्रवर्तनलाई समेत प्राथमिकता दिएको उनले बताए ।

यसका लागि राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, नियामकीय स्यान्डबक्सको कार्यान्वयन तथा ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ टु २०३०/३१’ तर्जुमा र कार्यान्वयन अघि बढाएको छ ।

यी पहलले बैंकिङ तथा वित्तीय क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, नवीन वित्तीय सेवा तथा व्यावसायिक मोडेलको विकास र वित्तीय सेवा प्रदायक तथा प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्य थप सुदृढ हुने उनको विश्वास छ ।

फिनटेक नवप्रवर्तनको विकास र प्रवर्द्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भूमिका पनि महत्वपूर्ण हुने गभर्नर पौडेलले बताए । यसका लागि राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ छ ।

त्यस्तै, राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गरिरहेको उनले जानकारी दिए । आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको साझेदारीलाई थप विस्तार गर्ने सम्भावना रहेको पनि उनले बताए । 

Share News