काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करण सम्पन्न भएको छ । आइतबार धन्वन्तरी फुटसलमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कुमारी बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका छन् ।
बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोली सहभागी भएका थिए ।
प्रतियोगिताको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री संगीता सुनुवारलाई बल हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज), नेपाल खेलकुद पत्रकार मञ्च र नेपाल विज्ञापन संघबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धामा नाफिज विजयी भएको थियो ।
मुख्य प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको हो ।
त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै उपाधि रक्षा गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको छ ।
यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आगामी कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।