नेपाल बंगलादेश बैंकको ग्राहकलाई नेपालीरिका होटलमा छुट

काठमाडौं । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटल प्रालिबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतिय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरुलाई विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यस अन्तर्गत नेपाल बंगलादेश बैंकको डेविट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रणाली लगायतका बैंकका विद्युतीय भुक्तानी च्यानलहरू प्रयोग गरी भुक्तानी हुने नेपालीरिका होटलका सेवाहरुमा आकर्षक छुट प्रदान गरिने छ । समझदारी अनुरुप त्यसरी हुने कारोबारहरूमा फुड एण्ड वेभरेज सेवामा १० प्रतिशत र रुम सेवामा १५ प्रतिशतको नगद छुट प्रदान गरिने छ । साथै होटलले विषेश छुट प्रदान गरी ९९,९९९ रुपैयाँमा मा वार्षिक सदस्यता प्रदान गर्नेछ । वार्षिक सदस्यता अन्तर्गत वर्षभरि ५ वटा डिलक्स रुम, निशुल्क स्विमिङ्ग पुल, नि:शुल्क सौना, स्टिमबाथ र जिमसेवा तथा होटलका सम्पुर्ण रेस्टुरेन्टहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सकिनेछ ।

‘सरकार बाह्य शक्तिबाट परिचालन भयो’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिक उत्सवमा सहभागी राष्ट्र बैंकका कर्मचारी संघ/संगठनका प्रमुखहरूले नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हुँदाहुँदै बाह्य हस्तक्षेप बढेको र नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । साथै, पछिल्लो समय राष्ट्र बैंकबारे देखिएको अमर्यादित गतिविधीबारे पनि उनीहरूले चासो राखेका छन् । बुधबार भएको राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवमा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशमबहादुर बल्छौडीले सरकार र राष्ट्र बैंकबीच समन्वय हुन नसक्दा समस्या भएको बताए । उनका अनुसार निक्षेपकर्ताबाट उठेको निक्षेप हुनेखानेहरूमा जाने गरेको छ भने अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने हुन्छ । सरोकारवालासँग राष्ट्र बैंकले समन्वय गर्नुपर्ने यता नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष राजिव रेग्मीले बताएका छन् । गभर्नर अधिकारीमाथि भएकाे पछिल्लो घटनाक्रमबारे स्मरण गराउँदै उनले राष्ट्र बैंकमा अस्थिरता हुन नहुने धारणा राखे । साथै साथै नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर, अदालतले न्याय दिएको उनको भनाइ छ ।

फोनपेको सीईओमा दिवस सापकोटा नियुक्त

काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणाली फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीईओको रुपमा नियुक्त गरेको हो । सापकोटा फोनपेमै एसिस्टेन्ट सिइओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम गरेका थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटि क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव छ । आइटिदेखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्‍याउने विश्वास लिइएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायत कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् ।