बैंकहरुले घरजग्गामा उच्च कर्जा दिँदा तरलतामा समस्या आयो : डा. गौचन

काठमाडौं । अर्थशास्त्री डा. विश्वास गौचनले बैंकहरुले ट्रेड तथा घरजग्गामा उच्च रुपमा कर्जा प्रवहन गर्दा तरलतामा समस्या देखिएको बताएका छन् । बुधबार नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘बैंकहरुको उच्च कर्जा ट्रेड र घरजग्गामा कर्जा गएको देखिएको छ, जुन हिसाबले कर्जा बढेको छ त्यही हिसावमा जग्गाको मूल्य बढेको हो, तरलताको समस्या आउनुमा पनि यसको केही भूमिका छ,’ उनले भने । यस्तै उनले ३० वर्षको अवधिमा निजि क्षेत्रको कर्जा वृद्धि २०.३ प्रतिशत भएपनि आर्थिक वृद्धि ४.३६ प्रतिशत, मुद्रास्फिति ७.७ प्रतिशत र आयात १५.७ प्रतिशत रहेको बताए । उनले आयातको वृद्धिले वाह्य क्षेत्रमा दवाव पारेको र अनौपचारिक क्षेत्रमा कर्जाको धेरै माग रहेको बताए । बैंकिङ क्षेत्रको आकार अर्थतन्त्र (जीडीपी) को आकार बराबर भइसकेको र यो प्रवृत्ति कायम रहे अबको केही वर्षमा कर्जा विस्तार दोब्बर हुने उनको भनाइ छ । यस्तै उनले राष्ट्र बैंकले पनि यसको गम्भिरता महसुस गरेकाले कर्जा विस्तारको दर १९ प्रतिशतमा हुने अनुमान गरेपनि धेरै भएको बताए । विद्युतिय सवारी साधन आयात गरेर वाह्य क्षेत्रको समस्या समाधान नहुने उनको भनाइ छ । निजी प्रयोजनका लागि हल्का सवारी साधन आयातमा दिइएको भन्सार छुट तथा अन्य सुविधाले प्रचार गरिएजस्तो जलवायु परिवर्तन कम गर्न योगदान हुने, प्रदूषणमा उल्लेख्य कमी आउने, भुक्तानी सन्तुलनमा योगदान हुने, स्वदेशमै उत्पादित बिजुलीको खपतमा उल्लेख्य वृद्धि हुने नदेखिएको उनले बताए ।

एनएमबि बैंकका भिसा कार्डवाहक ग्राहकलाई योयो जिपलाईनमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले योयो जिपलाईनसँग ग्राहकलाई छुट प्रदान गर्न सम्झौता गरेको छ । बैंकले आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा बैंकका ग्राहकलाई छुट प्रदान हुने गरी योयो जिपलाईनसँग सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिसा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र योयोका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

ट्राफिक प्रहरीको जरिवाना कुमारी बैंकको क्युआर कोडबाटै तिर्न सकिने

काठमाडौं । अब कुमारी बैंकको क्युआरबाट ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना तिर्न सकिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बैंकसँगको सहकार्यमा उक्त सेवा शुरु गरेको हो । काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त सेवा सञ्चालन गरेका थिए । कार्यक्रममा बोल्दै उनले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए । यो सेवाको शुरुवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने उनको विश्वास छ । यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंकका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालकिो शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए । यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्ना साथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सिधै भुक्तानी गर्न सकिने उनले जनाए । कार्यक्रममा उपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैकमा रहेको खाताबाट क्युआरस्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए । हाल कुमारी बैंकले १९७ शाखा सञ्जाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ । र, आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने बैंकको प्रतिबद्धता छ ।