नबिल बैंकलाई नेश्नल एचआर एक्सेलेन्स अवार्ड
काठमाडौं । नबिल बैंकले नेश्नल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ । ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो भने ग्रोथ सेलर मानव संसाधनमा परामर्श गर्ने कम्पनी हो । बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरी व्यापक सदुपयोग गरी काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरूको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ । उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइरालालगायत मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए । नबिल बैंकको १४८ शाखा, १८८ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।
नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता
काठमाडौं । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्ससम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुनेछ र यस्तै, सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।
नेपाल प्रहरीलाई मेगा बैंकद्वारा पकेट नोट बुक सहयोग
काठमाडौं । मेगा बैंकले संस्थागत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत सहयोग गरेको बैंकले जनाएको छ ।