गुडिरहेको विद्युतीय बसमा आगलागी
काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय (ईभी) मिनि बसमा आइतबार बिहान आगलागी भएको छ । बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बसमा आगलागी भएको जानकारी दिए । घटनामा चालक र सहचालक सकुशल रहेका छन् भने गाडीमा रहेको नगद र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ६:५० बजे कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बर को भाडाको ईभी गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको थियो । गाडी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगी रहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा गाडीमा चालक र सहचालक मात्रै सवार भएकाले कुनै मानवीय क्षति भएको छैन । आगलागीबाट गाडीमा रहेका आवश्यक कागजात तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ । घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने काम गरिएको र बिहान ८ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका कारण महेन्द्र राजमार्गमा यातायात सञ्चालन भने अवरुद्ध भएको छैन ।
दशैं–तिहार अफरमा सीएफमोटो २५० डुअल ईएफआईमा २० हजार छुट
काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले दशैं र तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘दशैं भाइब, तिहार लाइट्स र सीएफमोटो राइड्स’ नामक अभियानअन्तर्गत सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकलमा नगद छुटदेखि फाइनान्स र वारेन्टीसम्मका सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार नगदमा सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन् । साथै, ४० प्रतिशत डाउन पेमेन्ट बाटै मोटरसाइकल खरिद गर्न सकिने फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ । यस अफरअन्तर्गत जुनसुकै ब्रान्डको पुरानो दुईपांग्रे सवारी साट्ने ग्राहकलाई अतिरिक्त मूल्याङ्कन (एक्स्ट्रा भ्यालुएसन) को सुविधा पनि दिइने कम्पनीले जनाएको छ । मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रिमियम ह्यान्डगार्ड र प्रमाणित फुल–फेस हेल्मेट निःशुल्क उपलब्ध गराइनेछ । कम्पनीले सीएफमोटो २५० डुअल ईएफआईमा ५ वर्षको इन्जिन वारेन्टी समेत दिने घोषणा गरेको छ । साथै, देशभर रहेका आधिकारिक सेवा केन्द्रमा सक्कली स्पेयर पार्ट्स र प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ । ऋषि ट्रेड सेन्टरका अनुसार यो चाडपर्व अफर नेपालभर रहेका सबै आधिकारिक सीएफमोटो शोरुम र डिलर नेटवर्कमा सीमित अवधिका लागि लागू हुनेछ ।
पोखरामा जीडब्ल्यूएमको नयाँ शोरुम, ओरा ५ र जोलियन म्याक्स ईभी सार्वजनिक
काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालको आधिकारिक डिलर रेज मोटर्स प्रालिले पोखराको उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम उद्घाटनसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स ईभी पनि पोखरा बजारमा सार्वजनिक गरेको छ । नयाँ शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, स्थानीय प्रतिनिधि, अटोमोबाइल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो । कम्पनीका अनुसार ओरा ५ मा ५८.३ किलोवाट-घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार एक पटकको चार्जमा ४३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ । गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित विभिन्न सुरक्षा र स्मार्ट प्रविधिका सुविधा पनि उपलब्ध छन् । त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट-घण्टाको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, एडीएएस र भीटूएल सुविधा पनि छन् । उत्तमचोकस्थित नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ‘थ्री–एस’ सेवा एकै स्थानबाट पाउने कम्पनीले जनाएको छ । शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनमा राखिने र ईभीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइनेछ । रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने बताए । भीजी इम्पेक्सका महाप्रबन्धक (बिक्री तथा सञ्चालन) अधिरकुमार श्रेष्ठले पोखरालाई जीडब्ल्यूएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए । उनका अनुसार नयाँ शोरुममार्फत पोखरा र आसपासका जिल्लाका ग्राहकले जीडब्ल्यूएमका गाडी र सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् । कम्पनीले नयाँ शोरुम सञ्चालनसँगै ओरा ५ र हाभल जोलियन म्याक्स ईभीको बुकिङ र टेस्ट ड्राइभ पनि खुला गरेको जनाएको छ ।