प्रोटोनले नेपाललाई २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग गर्ने

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग गरेको छ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले नेपाल सरकारलाई ड्रोन उपलब्ध गराएको हो । विपद्का बेला प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ । विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन तथा जोखिमपूर्ण स्थानको हवाई निरीक्षणमा ड्रोन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ड्रोन सहयोगको व्यवस्थापन तथा समन्वय मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (एनएडिएमए) ले गरेको हो । सुरुमा ड्रोन मलेसियास्थित विशेष मलेसिया विपद् सहायता तथा उद्धार टोली (एसएमएआरटी) को मुख्यालयमा एनएडिएमएलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपालमा मानवीय सहायता तथा विपद् उद्धार अभियानमा खटिएको एसएमएआरटी टोलीमार्फत ड्रोन नेपाल ल्याइएको हो । यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएको र नेपाल सरकारकै स्वामित्वमा रहने जनाइएको छ । ड्रोन हस्तान्तरण कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ, एनएडिएमएका महानिर्देशक दातो’ मियर इसमाइल बिन मियर अकीमलगायतको उपस्थिति थियो । मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधि चु ह्वाई जेङ र इन्चिक जुल इज्बान हम्जाको पनि कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्डले विपद्का बेला प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न ड्रोनले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए । उनले यो सहयोग तत्कालीन मानवीय सहायतासँगै नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत उपयोगी हुने अपेक्षा व्यक्त गरे । नेपालमा ड्रोन प्रयोग गर्नुअघि एसएमएआरटी टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिने जनाएको छ । प्रोटोन नेपालमा प्रोटोन ई.मास ब्रान्डको आधिकारिक वितरक जगदम्बा मोटर्समार्फत बिक्री हुँदै आएको छ । कम्पनीले नेपालमा आफ्नो ब्रान्डको लोकप्रियता बढ्दै गएको जनाएको छ । प्रोटोनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा नेपाली नागरिकसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि दोहोर्‍याएको छ । यसैबीच, जगदम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ नगद सहयोग गरेको छ । कम्पनीले विपद् प्रभावितका लागि अन्य जिन्सी सहयोगसमेत गर्दै आएको जनाएको छ । प्रोटोन, जगदम्बा मोटर्स र शंकर ग्रुपको सहकार्यले विपद्को समयमा नेपाललाई सहयोग पुर्‍याउने प्रतिबद्धता देखाएको छ । ड्रोन सहयोगले बाढी तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार, राहत र प्रभावित क्षेत्रको निगरानीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । नाइमाले आफ्नो पूर्वनिर्णयअनुसार उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रदान गरिएको संस्थाले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, साइमेक्स इन्क (बीवाइडी) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा डिजिपलका प्रतिनिधि उत्सव कार्की सहभागी थिए । सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष वैद्यले रकमभन्दा यसको उद्देश्य महत्वपूर्ण रहेको बताइन् । विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्न यो सहयोग गरिएको उनले भनिन् । उनले नाइमामा आबद्ध अटोमोबाइल आयातकर्ता र उत्पादक कम्पनीहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकटका बेला सरकार र प्रभावित समुदायसँग सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरिन् ।

पूर्वाञ्चल ल्युब आयलले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल लिमिटेडले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले लाभांश वितरणसहित वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । कम्पनीले असोज १६ गते मोरङको विराटचोकस्थित नेपालीरिका होटलमा बिहान ११ बजे २७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्नेछ । यस्तै, चालु आव २०८३/८४ को प्रस्तावित बजेट, सञ्चालक समितिका सदस्यको भत्ता, प्रबन्ध निर्देशकको पारिश्रमिक तथा अन्य सञ्चालकको पारिश्रमिकसम्बन्धी प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । सभाले नयाँ सञ्चालक समितिको निर्वाचन तथा चयनसमेत गर्नेछ ।